गुल्मी । पहाडी भेगमा निर्माण सम्पन्न भएका अस्पतालमा बिरामी संख्या र सेवा सुविधाको कारणले डाक्टर बस्न नमान्ने समस्या छ । त्यसै, समस्यालाई मध्यनजर गर्दै गुल्मीको रेसुंगा नगरपालिकाले अस्पतालमा डाक्टर टिकाउन प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको छ । नगरप्रमुखमा खिलध्वज पन्थी निर्वाचित भएलगत्तै उनले ‘गुल्मी अस्पताल, मेरो अस्पताल’ अभियान सुरु गरेका थिए । सोहीअनुसार अस्पतालका सेवा–सुविधा पनि थप भएका छन् ।
गुल्मी अस्पतालमा डेढ वर्षअगाडि हाडजोर्नीको विशेषज्ञ सेवा सुरु भएको थियो । डा. प्रदीप सिवाकोटीलाई नगरपालिकाले प्रोत्साहन भत्ता दिएर अस्पतालबाट सेवा सुरु गरिएको थियो ।
अहिले ६ जना डाक्टरलाई नगरपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । चालू आर्थिक वर्षका लागि अस्पताल प्रमुख तथा आन्तरिक चिकित्सा विशेषज्ञ डा. विभव बस्याल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीप सिवाकोटी, सामान्य तथा आकस्मिक चिकित्सक विशेषज्ञ डा. अर्जुन केसी, आन्तरिक चिकित्सा विशेषज्ञ डाक्टर सुरेन्द्र केसी, बालरोग विशेषज्ञ डा. प्रज्ञा शाक्य र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सोफिया थापासँग नगरपालिले सोमबार सम्झौता गरेको छ । डाक्टरहरूलाई नेपाल सरकारले दिनेबराबरको तलब रेसुंगा नगरपालिकाले प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराउनेछ ।
प्रोत्साहन भत्ताका लागि नगरपालिकाले चालू आबका लागि ४० लाख छुट्याएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए । कुनै पनि डाक्टर लगातार १० दिन वा महिनामा १५ दिनभन्दा बढी बिदामा बसेको खण्डमा नगरले प्रोत्साहन भत्ता उपलब्ध नगराउने पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
गुल्मी अस्पतालमा हाल ६ जना विशेषज्ञ बाहेक १२ जना मेडिकल अधिकृत रहेका छन् । पछिल्लो समय गुल्मी अस्पतालमा सेवा सुविधा पनि थपिएका छन् । अस्पतालमा डायलासिसलगायतका सेवा थपिएका छन् ।
‘हामी डाक्टर टिकाउन र नागरिकलाई सेवा दिन जस्तोसुकै जोखिम मोल्न पनि तयार छौं,’ नगरप्रमुख पन्थीले भने, ‘नागरिक सेवालाई शिरमा राखेर काम गरेका छौं ।’
उनले गुल्मी अस्पताललाई देशकै नमुना अस्पताल बनाउने आफ्नो योजना रहेकोले डाक्टरलाई लामो समय राख्नका लागि प्रोत्साहन भत्ता दिएको बताए ।
गुल्मी अस्पतालमा गत आर्थिक वर्ष २०८१–८२ मा ७८ हजार २ सय ५४ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । गुल्मी अस्पतालमा गुल्मीका साथसाथै अर्घाखाँचीबाट समेत नागरिकहरू सेवा लिन आउने गर्छन् ।
सम्बन्धित समाचार







