काठमाडौं । जेनजी आन्दोलनका क्रममा विध्वंसात्मक तथा आतंककारी काम भएको भन्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले र अध्यक्ष केपी शर्मा ओलीको झोंकमा देश खरानी बनेको भन्दै रोष प्रकट गरेका छन् । संसद् विघटनविरुद्ध आठ दलको मोर्चा बनाएर वक्तव्य जारी गरेको ४८ घण्टा पुग्दानपुग्दै पार्टी महासचिव पोखरेलले संसद् विघटन स्विकारेर निर्वाचनमा जाने संकेत गरेका छन् ।
प्रदर्शनकारीले आगजनी गरी क्षतिग्रस्त बनाएको पार्टी कार्यालयको निरीक्षण गरी पोखरेलले सोमबार खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचनको तयारीमा जाने बताएका छन् ।
महासचिव पोखरेलले २४ भदौको प्रदर्शन उग्र बन्दै नेकपा (एमाले)को पार्टी कार्यालय ध्वस्त गराएका प्रदर्शनकारीहरूले एमाले र राजनीतिक परिवर्तनमार्फत संस्थागत भएका निकायहरूलाई ‘टार्गेट’ बनाएको आरोप लगाए । पोखरेलले प्रदर्शनकारीले खरानी बनाएको संरचनामाथि नै उभिएर एमालेले संविधान दिवस मनाउँदै संविधान जोगाउन जस्तोसुकै संकटबाट एमाले पछि नहट्ने बताए ।
महासचिव पोखरेलले भने, ‘यसपटक हामी हाम्रो क्षतिग्रस्त संरचनाको खरानीमा उभिएर संविधानसभाले संविधान बनाउँदाको परिकल्पना साकार पार्ने संकल्प गर्न चाहन्छौं, ७७ जिल्लाका साथीहरूलाई निर्देशन जारी गरिसकेका छौं, काठमाडौं उपत्यकाका साथीहरूले पार्टी कार्यालयमा संविधान दिवसको आयोजना गर्नेछौं ।’
महासचिव पोखरेलले तोकिएको मितिमै निर्वाचन गराउन अन्तरिम सरकारसमक्ष आग्रह गरेका हुन् । पोखरेलले भने, ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य निर्वाचन गराउने हो, शान्ति सुरक्षाको वातावरण तयार गरीकन समयमा निर्वाचन गराउने कुरामा यस सरकारको ध्यान जानेछ, नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश गर्नुपर्छ ।’
सडक जनमत प्राप्त गर्ने माध्यम सधैं नहुने बताउँदै महासचिव पोखरेलले एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई जोगाएनौं भने मुलुक कहिल्यै पनि समृद्धि र विकासको यात्रामा अघि बढ्न नसक्ने बताए ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन गर्ने बताएको छ ।
सम्बन्धित समाचार







