चलचित्र निर्माता संघद्धारा क्षतिपूर्तिको माग

काठमाडौं । नेपाली चलचित्र निर्माताहरूको संस्था नेपाल चलचित्र निर्माता संघले मुलुक भरका चलचित्र घरमा गरिएको क्षति प्रति दुःख व्यक्त गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो । संघले ‘जेनजी’ पुस्ताको आन्दोलनमा सहिद भएकाहरू प्रति श्रद्धाञ्जली समेत अर्पण गरेको छ । आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

निर्माता संघका अध्यक्ष नवल खडकाले एक विज्ञप्ति मार्फत मुलुक भर आन्दोलनका क्रममा क्षति पुगेका चलचित्र घरहरूलाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेका छन् । उनले निर्माता संघ मार्फत चलचित्र घर व्यवसायीलाई आवश्यक क्षतिपूर्ति प्रदान गरी पुनस्र्थापित गर्न सरकारलाई आग्रह गरेका हुन् ।

यस अघि आइतबार नेपाल चलचित्र संघले ‘जेनजी’ पुस्ताको आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडमा एउटा चलचित्र घर पूर्ण रूपमा क्षति भएको र चार चलचित्र घरको टिकट काउन्टर जल्दा यो क्षेत्रमा १७ करोड रुपैयाँ बराबरको क्षति पुगेको जनाएको थियो ।

त्यसपछि निर्माता संघले यो विज्ञप्ति जारी गरेको हो । विज्ञप्तिमा अध्यक्ष नवलले बिस्तारै उठ्दै गरेको चलचित्र उद्योगलाई यो आन्दोलनले फेरी संकटमा पारेको जिकिर गरेका छन् । त्यसैले चलचित्र उद्योगलाई संरक्षण गर्न उनले आग्रह गरेका छन् । निर्माता संघले चलचित्र घर मनोरञ्जनको केन्द्र मात्र नभई राष्ट्रिय संस्कृतिको संरक्षण, संवर्धन र चलचित्र बजारको विस्तार गर्ने महत्त्वपूर्ण आधारशिला रहेको जनाएको छ ।

सो विज्ञप्तिमा चलचित्र प्रदर्शकलाई संक्रमणकालिन अवस्थामा आत्मबल बलियो बनाएर पुन निर्माणमा लाग्नको लागि पनि संघबाट आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता सांस्कृतिक संरचनामाथि गरिएको आगजनी र तोडफोड लोकतान्त्रिक मूल्य मान्यताको ठाडो उल्लंघन हो ।’

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी