काठमाडौं । जेनजी आन्दोलनका कारण सामाजिक सञ्जाल तथा न्यु मिडियामा प्रवाह भएको फोटो भिडियो तथा आवाजका कारण मानिसमा मानसिक स्वास्थ्य समस्या बढेको पाइएको छ ।
अनलाइन प्लेटफर्म टिकटकबाट ‘नेपो बेबी’ अभियान चलाएर २३ भदौमा प्रदर्शन गरेपछि प्रदर्शनकारीको मृत्यु तथा सार्वजनिक सम्पत्तिको तोडफोड र आगजनी बढेपछि सामाजिक सञ्जालमार्फत भीड झन् उत्तेजित भएको थियो ।
अनलाइन प्लेटफर्मबाटै आन्दोलनकारी उत्तेजित बनाएर प्रदर्शन हिंसात्मक भएको थियो भने प्रदर्शनमा सहभागी नहुनेहरूले पनि आन्दोलन, आगजनी, गोली प्रहार तथा कुटपिट र हत्याका बीभत्स दृश्यहरू भाइरल भएका थिए ।
चिकित्सक भन्छन्ः ‘नर्मल साइक्याट्रिक’ बिरामीमा ‘एक्युट साइकोसिस’ देखियो
टिकटक, फेसबुकलगायत अनलाइन प्लेटफर्मबाट आन्दोलन उत्तेजित बनाउने टिकटकर, ब्लगर तथा युट्युबरहरूले पोस्ट गरेका सामग्रीका कारण आन्दोलन उत्तेजित भएपछि मानसिक स्वास्थ्य समस्या बढाएको मानसिक स्वास्थ्य विज्ञहरूले बताएका छन् ।
केही दिनअघि अस्पतालमा भर्ना भएका एक बालकले एक जना नेताको नाम दिएर च्वाट्टै चार टुक्रा पार है साथी भन्दै बर्बराइरहेको भिडियो टिकटकमा भाइरल भइरहेको थियो ।
सामाजिक सञ्जालमा पोस्ट भएका यस्ता रियल वा फेक भिडियो तथा कन्टेन्टहरूले ‘नर्मल साइक्याट्रिक’ बिरामीहरूमा ‘एक्टिभ साइकोसिस’ हुने मानसिक अस्पताल लगनखेलका साइक्याट्रिक डाक्टर अनन्त अधिकारी बताउँछन् ।
उनका अनुसार यस्ता दृश्य र भिडियोले दीर्घकालीन असरका रूपमा स्ट्रेस रियाक्सन, पोस्ट ट्रमाटिक डिस अर्डरको समस्याको सम्भावना हुन्छ भने डिप्रेसन र एन्जाइटीका उपचार गराइरहेकाहरूमा पुनः यो समस्या बल्झने खतरा बढ्ने उनको भनाइ छ ।

आन्दोलनले धेरै ध्वंश र सुधार कसरी हुन्छ ? भन्ने अन्योलका कारण तनाव, एक्लोपना, चिडचिडाहट बढेर दीर्घकालीन मानसिक असर पर्नसक्ने सम्भावना छ ।
डा. अनन्त अधिकारी, साइक्याट्रिक
डा. अधिकारी भन्छन्, ‘भूकम्प, कोरोना संक्रमणपछि यो अर्को घटना भयो जसले धेरै मानिसमा मानसिक समस्या बढेको छ ।’ तनाव लिने व्यक्तिहरूमा तनाव बढेको विश्लेषण गर्दै डा. अधिकारीले भने, ‘विशेषगरी जेनजी पुस्तामा आफूले गरेको आन्दोलनले धेरै ध्वंश भएको र सुधार कसरी हुन्छ भन्ने अन्योलका कारण तनाव, एक्लोपना, चिडचिडाहट बढेर दीर्घकालीन मानसिक असर पर्नसक्ने सम्भावना छ ।’
आन्दोलनमा सहभागी भएका जेनजी युवाहरूलाई समाजमा ‘जेनजी’ भनेर बोलाउने गरेको, घरपरिवार र समाजमा जेनजी नाममा छेडखानी हुने गरेकाले सिंगै पुस्तामा नकारात्मक दिशातर्फ बढ्नेमा सबै सजग हुनुपर्ने विज्ञहरू बताउँछन् ।
आन्दोलनपछिका तस्बिर तथा भिडियो र स्वरले नै मानिसहरूमा एन्जाइटी र डिप्रेसन बढ्ने गरेको अवस्थामा सामाजिक सञ्जालमा पोस्ट भएका त्यस्ता फोटा तथा भिडियो रोक्नुपर्नेमा त्यसो हुन नसकिरहेकामा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
बीभत्स र ध्वंसात्मक क्रियाकलापका फोटो भिडियोहरू प्रकाशन प्रसारण रोक्न माग गर्दै बालमनोविज्ञान तथा मानसिक स्वास्थ्य सरोकारवालाहरूको एक समूहले प्रेस काउन्सिल नेपालमा ध्यानाकर्षण बुझाएको छ । रजिस्टर्ड मिडियाहरूले नै पनि प्रकाशन प्रसारण गरेको र धेरै युट्युबको कन्टेन्ट नै यस्तै भिडियोहरू भएको अवस्थामा आफूहरूले मात्रै नियमन गर्नसक्ने अवस्था नभएको प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल बताउँछन् । भुसाल भन्छन्, ‘मिडियाहरूमा त हामीले नियमन प्रयास गरौंला युट्युबमा धेरै कन्टेन्ट छन्, युट्युब नियमन कठिन छ ।’
ध्वंसात्मक तस्बिर तथा भिडियोहरू प्रसारण भएर परेको असर फिर्ता नभए पनि बन्दै छ भन्ने सन्देश दिन रङरोगन गरिएका कार्यालय भवनहरू र विस्थापित कार्यालयहरूको पुनस्र्थापनाका सन्देश मिडियाबाट सम्प्रेषण गर्न प्रोत्साहित गरिने काउन्सिलका मुख्य अधिकृत भुसाल बताउँछन् ।
पत्रकार आचारसंहिताले नै बन्देज गरेका विषयहरूलाई समेत कतिपय मिडिया र सञ्चारकर्मीले ध्यान नदिँदा सञ्चारमाध्यमबाट पनि त्यस्ता सामग्री प्रकाशित भएकामा सम्भव भए अझै त्यस्ता तस्बिर तथा भिडियो हटाउन सञ्चारमाध्यमलाई आग्रह गर्ने पनि भुसालले बताए ।






