पर्साका एक निजी अस्पताल बन्यो कोरोना बिशेष अस्पताल

वीरगन्ज । पर्सामा रहेको नारायणी अस्पतालमा बिरामी नअटाएर विद्यालयमा पठाउन थालेको समयमा बल्ल स्थानीय एक नीजि अस्पताल कोरोना संक्रमित अस्पतालका रुपमा दरिएको छ । नेपालमा सबैभन्दा बढि संक्रमित पुष्टि भएको पर्सामा गण्डकमा रहेको गण्डक अस्पताल कोरोना संक्रमित अस्पतालका रुपमा दरिएको हो ।

यो अस्पतालले गएको वैशाख ६ गते कोरोना संक्रमितलाई उपचार गर्न मन्जुर रही वीरगन्ज महानगरपालिकासँग लिखित सम्भौता गरेको थियो । अहिलेसम्म पर्सामा कोरोना संक्रमितलाई उपचार गर्न मन्जुरी दिएर व्यवहारिक रुपमा अगाडी आउने यो अस्पताल नै पहिलो नीजि अस्पताल बनेको छ ।

यो अस्पतालले मन्जुरी केही अगाडी नै दिएपनि प्राविधिक कारणले व्यवहारमा उतार्न बिलम्ब भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले बताए । अब भने व्यवहारिक रुपमा पनि गण्डक अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने बाटो खुलेको छ उनले भने । नगर प्रमुख सरावगीले शनिबार कोरोना संक्रमितको उपचार गर्न बिरामी पठाउनु भनी नारायणी अस्पताललाई जिम्मेवारी दिएको छ ।

अहिलेसम्म पर्सामा नारायणी अस्पतालले मात्र संक्रमितलाई उपचार गर्दै आएको थियो । संक्रमित आशंकामा अन्य नीजि अस्पतालले जस्तो गण्डक अस्पतालले पनि महानगरपालिकासँग लिखित सहमति हुनुपूर्व बिरामीलाई अन्यत्र पठाएको उदाहरण थियो । तर यताका दिनमा भने गण्डक अस्पताल व्यवहारिक रुपमा नै पर्साका नीजि अस्पतालहरु मध्ये खुलेको आएको अस्पताल बनेको वीरगन्ज महानगरले जनाएको छ ।

गण्डक अस्पताल पनि अस्थायी रुपमा नारायणीकै नामले संचालन
गण्डक अस्पताल पनि नारायणी अस्पतालकै नामले अस्थायी रुपमा संचालन हुने भएको छ । शनिबार नै नारायणी अस्पतालले जिम्मेवारी पाएपछि गण्डक अस्पतालको गेटमा नारायणी अस्पतालको बोर्ड लागिसकेको छ । केन्द्र सरकारको स्वीकृति र प्राविधिक कुरा मिलाउन समय लागेकोले सम्झौता हुने साथ सेवा संचालन गर्न नसकिएको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सरावगीको दाबी छ ।

अब आज भोलीबाट नै त्यहाँ सेवा संचालन गर्न सक्ने गरी वेडहरु पनि मिलाई सकिएको उनले बताए । नगर प्रमुख सरावगीले शनिबार नै नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायलाई अस्पतालको जिम्मेवारी हस्तान्तरण पनि गरेका छन् ।
गण्डक अस्पतालमा ७० जनासम्म बिरामीलाई उपचार गर्न सकिने भएको छ । लामो समयको प्रतिक्षापछि बल्ल प्राविधिक कुराहरु मिलेर स्थानीय नीजि अस्पतालहरु मध्येको गण्डक अस्पताल तयारी अवस्थामा कोभिड अस्पताल भएको नारायणी अस्पतालका मेसु डा मदन कुमार उपाध्यायले बताए । ‘अब त्यहाँ पनि संक्रमितको उपचार गर्ने बाटो खुलेको छ’, उनले भने ।

वीरगन्ज क्षेत्रको एकमात्र स्तरीय जनरल अस्पतालका रुपमा रहेको नारायणी अस्पताल कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनेपछि सर्वसाधारण बिरामीहरु मर्कामा पर्दै आएका थिए । यहाँ नअटेर सिद्धार्थ स्कूलमा बिरामी पठाउन थालेको समयमा गण्डक अस्पताल संक्रमितको उपचार गर्न मिल्ने गरी स्थानीय सरकारले हस्तान्तरण गरेको नारायणी अस्पतालले जनाएको छ ।

खर्चको सम्पूर्ण व्यवस्थापन वीरगन्ज महानगरपालिका र कोरोना अस्पताल संचालनको जिम्मा भने नारायणी अस्पतालको हुने छ । विभिन्न प्रयास पछि कोरोना अस्पतालको रुपमा गण्डक अस्पताल अस्थायी रुपमा संचालन गर्न पाइने भयो । विद्यालयमा बिरामी राख्नु पर्ने बाध्ययतामा यसले थोरै टेवा पुगे पनि कोरोना संक्रमित बढ्ने क्रममा रहेको पर्सामा यतिले मात्र व्यवस्थापनमा पूर्णता नहुने नगरप्रमुख सरावगीले तर्क गरे । संक्रमितको उपचारको लागि अरु अस्पतालहरुको पनि साथ चाहिएको नगरप्रमुख सरावगीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

सहकारीका शेयर सदस्यलाई स्वास्थ्यमा छुट