राजविराज । मितव्ययिताका लागि व्याचको सट्टा पानको पात अतिथिहरुलाई लगाउँदै आफ्नो प्रथम बार्षिक साधारणसभा मनाएर एक सामाजिक संस्थाले उदाहरणीय कार्यको थालनी गरेको छ ।
छिन्नमस्ता गाउँपालिका ३ स्थित जनहित नागरिक समाज नेपाल नामक संस्थाले शुक्रबार अयोजना गरेको प्रथम बार्षिक साधारणसभामा यस्तो परम्पराको सुरुवात गरिएको हो ।
राती अवेर सम्म चलेको कार्यक्रममा आमणन्त्रित प्रमुख अतिथि सहित २१० जना अतिथि समेतलाई रिवन र कपडाको व्याच लगाउँदा झण्डै १० हजार रुपैयाँ खर्च लाग्ने भएपछि सोको बचत गर्दै मितव्ययिता प्रति आकर्षण बढाउन गाउँघरमा सस्तैमा पाउने पानको पात लगाएर उनीहरुलाई स्वागत गरिएको संस्थाका अध्यक्ष बुच्चिलाल बढइले जानकारी दिए ।

पानकै पातमा प्रमुख अतिथि र अतिथि लेखेर व्याचको रुप दिएर प्रयोग गरिएपछि कार्यक्रका वक्ताहरुले संस्थाले मितव्ययिताको नमूना पेश गरेको भन्दै प्रसंसा गरेका थिए ।
कार्यक्रमको अर्को विशेषता पनि देखियो–बृक्षारोपणद्वारा उद्घाट्न । मन्दिर परिसरमै बृक्षारोपण गरी उक्त साधारणसभाको नेकपा माओवादी केन्द्रका नेता एवं पुर्व सिंचाईमन्त्री उमेशकुमार यादवले उद्घाट्न गरेका थिए ।
तत्पश्चात उनी सहित जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादव, जसपाका जिल्ला अध्यक्ष सत्यनारायण यादव, नेकपा एकिकृत समाजवादीका गाउँ कमिटी अध्यक्ष जयप्रकाश यादव, जनमत पार्टीका विनोद यादव छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष राजुदेवी यादव, निर्वतमान उपाध्यक्ष उषाकुमारी मंडल, वडाध्यक्ष अच्छेलाल यादव, ललन कुमार यादवले शुभकाना दिएका थिए ।
“शसक्त नागरिक सबल अवाज” नाराका साथ सुरु भएको साधारणसभामा संस्थाका सचिव महेश शर्माले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष सुभाषचन्द्र यादवले गरेका थिए ।
२०८१ कार्तिक २१ गते स्थापना भएको उक्त संस्थाले सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य र सुशासनको पक्षमा विभिन्न गर्दे आएको छ ।






