अर्याल गृहमन्त्री बनेको भोलिपल्टै प्रहरीमा ४८ करोड बढी घोटाला !

काठमाडौं । ओमप्रकाश अर्याल गृहमन्त्री बनेको भोलिपल्टै नेपाल प्रहरीको पोसाक खरिदमा ४८ करोड रुपैयाँभन्दा बढीको संस्थागत घोटाला गरिएको रहस्य खुलेको छ ।

जेनजी आन्दोलनको रापले सरकार परिवर्तन भएको तथा नयाँ गृहमन्त्रीले पदभार सम्हालेकै दिन नेपाल प्रहरीका विभिन्न २५ आइटम पोसाक खरिदमा बजार मूल्य र गत वर्ष खरिद भएको मूल्यभन्दा दोब्बर मूल्य कवोल गर्ने व्यापारीलाई खरिदको जिम्मा लगाइएको रहस्य खुलेको छ ।

पोसाक खरिदका लागि सीमित प्रतिस्पर्धीलाई मात्र खरिदको टेन्डर प्रक्रियामा सहभागी हुनपाउने सर्त राखेर प्रहरीले गत वर्षमा प्रहरीका लागि पोसाक खरिद गर्दै आएका कम्पनी र व्यापारीलाई खरिदको जिम्मा दिएको हो ।

पोसाक खरिदका लागि बोलपत्रमा सहभागी भएकाहरूमध्ये सीमित फर्महरूलाई मात्र प्राविधिक परीक्षणमा छनोट गरेर प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले गत ३० भदौ र १ असोजमा ठेकेदार ज्ञानेन्द्र बस्नेत समूहका कम्पनीलाई मात्र ठूला ठेक्का पारेको छ ।

प्रहरी प्रधान कार्यालयका प्रशासन विभाग प्रमुख प्रहरी नायब महानिरीक्षक सुशीलसिंह राठौरका अनुसार पोसाक खरिदका लागि प्राविधिक परीक्षणमा सफल भएकाहरूको ३० भदौ र १ असोजमा आर्थिक प्रस्ताव खोलेर कम दर कोबोल गर्नेलाई खरिदको जिम्मा लगाउने तयारी अघि बढेको हो ।

बजार मूल्यभन्दा दोब्बरको खरिद प्रस्ताव स्वीकृति, गृहमन्त्रीदेखि आईजीपीसम्म मौन

उनका अनुसार आर्थिक प्रस्ताव खुलिसकेकाले अब यसको मूल्यांकनलगायतका प्रक्रिया सकेपछि आशयपत्र दिने प्रहरीको योजना छ । गत वर्षको खरिद मूल्यभन्दा दोब्बर र प्रचलित बजार मूल्यभन्दा झन्डै तेब्बरसम्ममा उपलब्ध गराउने आर्थिक प्रस्तावलाई प्रहरीले स्वीकृत गर्दासमेत गृहमन्त्री ओमप्रकाश अर्यालदेखि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसम्म मौन छन् ।

प्रहरीले प्राविधिक प्रस्ताव पास भएका फर्महरूलाई २४ भदौमा आर्थिक प्रस्ताव खोल्न प्रहरी प्रधान कार्यालय बोलाएको थियो । तर, जेनजी आन्दोलनका कारण असम्भव भएपछि ३० भदौ र १ असोजमा गरी दुई चरणमा आर्थिक प्रस्ताव खोलेको हो ।

प्रस्ताव खोलेकै दिन गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेका थिए । स्रोतका अनुसार प्रहरीले पोसाक खरिद प्रक्रियाको टेन्डर प्रक्रिया’bout नयाँ गृहमन्त्रीलाई समेत जानकारी गराएको थियो । तर, उनले यस विषयमा पछि कुरा गर्ने भन्दै पन्छिएका थिए । प्रहरीले गत वर्षहरूमा टेन्डर पारेकाहरूलाई नै निरन्तरता हुनेगरी आर्थिक प्रस्ताव खोलेको हो ।

नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलले पनि पोसाक खरिदका लागि प्रक्रिया अघि बढाएको छ । तर, सशस्त्रले भने आर्थिक प्रस्ताव खोले नखोलेको विषयमा आफूलाई जानकारी नभएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

गत वर्ष र चालू वर्षको तुलनात्मक मूल्य

प्रहरीले ज्ञानेन्द्र बस्नेत र उनी संलग्न रहेका कम्पनीहरूलाई खरिदको जिम्मा लगाउँदा बजार मूल्यभन्दा दोब्बरभन्दा बढी मूल्यमा खरिद गरेको देखिएको छ । यसरी खरिद गर्दा राजधानीलाई प्राप्त २१ वटा पोसाक आइटममा मात्र ४८ करोड ५४ लाख ५९ हजार ६५ रुपैयाँ प्रचलित बजार मूल्यभन्दा बढीमा खरिद गर्न स्वीकृति दिएको देखिन्छ ।

प्रहरीले जय सिलना इन्टरप्राइजेज, कार्निवल बिजिनेस ट्रेडर्स, न्यु उशा इन्टरनेसनल, सबृद्धि ट्रेड इन्टरनेसनल, जेएमबीडी इन्टरनेसनल, तेजसम ट्रेड इन्टरप्राइजेज, एभरेस्ट साल्टी उद्योग, श्लोक इन्टरप्राइजेज, अभिङ ट्रेड इन्टरनेसनल, जेभी प्रालि, एसके ट्रेडर्स र थर्ड गार्मेन्टका आर्थिक प्रस्ताव स्वीकृत गरेको छ ।

उनीहरूले हालेको प्रस्तावमा प्रहरीले गत वर्ष खरिद गरेको भन्दा दोब्बर र प्रचलित बजार मूल्यभन्दा तेब्बरसम्म मूल्य प्रस्ताव गरिएको छ । ती मूल्यसहितको आर्थिक प्रस्ताव स्वीकृत भई मूल्यांकन प्रक्रियामा रहेको प्रहरी नायब महानिरीक्षक सुशीलसिंह राठोरले बताए ।

प्रहरीले गत वर्ष २ सय ५१ रुपैयाँमा कटनको सर्ट खरिद गरेकामा यस वर्ष सोही कटन सर्ट जेएमबीडी इन्टरनेसनलले ४ सय २६ रुपैयाँमा उपलब्ध गराउन गरेको प्रस्तावलाई स्वीकृत गरेको छ । १ लाख ५० हजार थान सर्ट खरिदमा मात्र प्रहरीले गत वर्षभन्दा १ करोड ८३ लाख ७५ हजार रुपैयाँ बढी लगानी गर्दै छ ।

सबृद्धि इन्टरनेसनलबाट प्रहरीले ५० हजार थान उलनको सर्ट गत वर्षभन्दा ५ सय १ रुपैयाँ महँगोमा खरिद गरेर २ करोड ५० लाख ५० हजार रुपैयाँ बढी खर्च गर्दै छ ।

त्यसैगरी, १५ हजार थान अन्डर ट्राउजर भेस्ट सेट खरिद गर्न गत वर्षभन्दा ५ सय ६४ रुपैयाँ प्रतिपिस बढी मूल्य कबोल गरेको कार्निवल विजिनेस इन्टरनेसनलको प्रस्ताव स्वीकार गरिएको छ । यो प्रस्तावबाट मात्र गत वर्षभन्दा ८४ लाख रुपैयाँभन्दा बढी रकम घोटाला भएको छ ।

श्लोक इन्टरनेसनलले हालेको कटन पेन्ट खरिदको प्रस्ताव स्वीकार गरेको प्रहरीले यसमा गत वर्षभन्दा प्रतिपिस २ सय ७४ रुपैयाँ बढी मूल्य तिर्दै छ । ८६ हजार थान पेन्ट खरिद गर्दा प्रहरीले गत वर्षभन्दा २ करोड ५ सय ३५ लाख रुपैयाँभन्दा बढीको प्रस्ताव स्वीकार गरेको छ ।

प्रहरीले कालो छालाको जुत्ता खरिदका लागि प्रचलित बजार मूल्यभन्दा प्रतिजोर १ हजार ५ सय ९५ रुपैयाँ बढी प्रस्ताव गरेको जय शलिना इन्टरप्राइजेजको आर्थिक प्रस्तावलाई स्वीकृत गरेको छ । जय शलिनाले ४ हजार जोर जुत्ता प्रतिजोर ३ हजार ९५ रुपैयाँमा उपलब्ध गराउनेगरी प्रस्ताव गरेको थियो ।

चुस्ता खरिदमा बजार मूल्यभन्दा १ हजार ७ सय, कम्मरमा बाँध्ने पेटीमा प्रतिपेटी ३ सय ३२ रुपैयाँ, हिउँमा लगाउने ज्याकेटमा प्रतिज्याकेट ६ हजार ७ सय ४१ रुपैयाँ, स्पोर्ट्स जुत्तामा प्रतिजोर १ हजार ४९ रुपैयाँ बढी मूल्य प्रस्ताव गरेका फर्मको आर्थिक प्रस्तावलाई स्वीकृत गरिएको छ । प्रहरीका लत्ता कपडाका २५ वटा आइटममै गत वर्ष खरिद गरिएको भन्दा दोब्बर र प्रचलित बजार मूल्यभन्दा झन्डै तेब्बर मूल्यमा खरिद गर्नेगरी प्रहरीले आर्थिक प्रस्ताव स्वीकार गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 11,686 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढी उपमहानरको फूल बिक्री केन्द्रमा थोक मूल्यमै आमउपभोक्ताले फूल पाउने