भोजपुर । भोजपुरको दक्षिणी क्षेत्र रामप्रसादराई गाउँपालिकामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल ‘गोल्मे राजा, गोल्मे रानी’ भिर आझेलमा परेको छ । प्रचारप्रसारको अभावमा यो ऐतिहासिक धार्मिक क्षेत्र ओझेलमा परेको हो ।
गोल्मे राजा,गोल्मे रानीको किमदन्ती जोडिएको यो ऐतिहासिक क्षेत्रले चर्चा पाउन नसकेको स्थानीयबासी पाण्डव राईले बताए । परापूर्व कालमा यो क्षेत्रमा गोल्मे राजा र गोल्मे रानीको विहेको क्रममा बेहुला बेहुलीसहित जन्तीहरु अलप भएकोले यस स्थानको नाम ‘गोल्मे राजा गोल्मे रानी भिर’ रहन गएको धार्मिक कथन रहेको उनको भनाइ छ ।
अहिले पनि यहाँ जन्ती जस्तै आकारका लहरै ढुङ्गा, राजारानीको आकृति, विहेमा प्रयोग भएका बाचागाजा, ढोला झ्याम्टा, राजारानी सवार घोडाको आकृति स्पष्ट रुपमा देख्न सकिने उनले बताए।
‘गोल्मे राजा, गोल्मे रानी एक ऐतिहासिक धार्मिक क्षेत्र हो’उनले भने,‘धेरै मानिसहरुले यो स्थानको नाम सुनेको हुनुपर्छ । तर यो स्थानको धार्मिक महत्वसँगै ऐतिहासिक किमदन्तीको विषयमा हामीले प्रचारप्रसार गर्न नसक्दा गुमनाम छ ।’
उदयपुरको चौडण्डीगढीबाट गोल्मे राजा, गोल्मे रानीले विहेको जन्ती लिएर धनकुटाको राजारानी पु¥याउने क्रममा यो स्थानमा आइपुग्दा कलियुग शुरु हुँदा राजारानीसहित जन्तीहरु अलप भएको किमदन्ती रहेको स्थानीबासी राजेन्द्र राईले बताए । यहाँ रहेका ढुङ्गाका आकृतिहरुले किमदन्तीमा भनिएका कुरालाई पुष्टी गर्न मद्धत गर्ने उनको भनाइ छ ।
‘यो स्थानमा राजारानीले जन्ती लिएर आउने क्रममा कलियुग शुरु भएर सवै जना अलप भएको किमदन्ती छ’उनले भने,‘अहिले गएर त्यहाँ देर्हा पनि किमदन्तीमा भनिएका कुराहरुलाई पुष्टी गर्ने खालका आकृतिहरु देख्छ सकिन्छ । बास्तवमा यो स्थान हेर्दा जो कोहिलाई पनि आश्चर्य नै लाग्छ । तर पनि यो ठाउँले चर्चा पाउन सकेको छैन ।’
यहाँ पापद्धार, धर्मद्धार, बन्दुकको आकृति देखिने बन्दुके गहिरा, खड्कुले, गुन्टे ढुङ्गा, मालिगाइको आकृतिलगायत देख्न सकिने उनको भनाइ छ ।
यहाँ गोल्मे राजा र गोल्मे रानीका आकृतिका दुई ठूलो ढुङगा रहेको रामप्रसादराई ६ का वडाध्यक्ष एकराज आचर्यले बताए । यो ऐतिहासिक धार्मिक क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको उनको भनाइ छ । यो क्षेत्रको विकाससँगै प्रचारप्रचारमा स्थानीय सरकारले जोड दिएको अध्यक्ष आचर्यले बताए ।
‘गोल्मे राजा, गोल्मे रानी क्षेत्र ओझेलमा परेको छ’वडाध्यक्ष आचर्यले भने,‘यो स्थानको देश विदेशमा जति चर्चा हुनुु पर्ने त्यो हुन नसकेको अवस्था छ । स्थानीय सरकारले यो क्षेत्रको संरक्षणसँगै यहाँको ऐतिहासिक तथ्य तथा धार्मिक महत्वको विषयमा खोजी गरिरहेको छ।’
देशले नै चिन्नु पर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय यो स्थल भौगोलिक विकटताका कारण पनि यो क्षेत्र ओझेलमा परेको उनले बताए । गोल्मे राजा गोल्मे रानी भिरको काखमा रहेका सवै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धामिलो नहुने तथा मुहानहरु दक्षिणबाट उत्तर तर्फ बगेकाले यसको छुटै महत्व रहेको वडाध्यक्ष आचर्यले जानकारी दिए ।
गाउँपालिका भित्रका सम्पूर्ण पर्यटकीय क्षेत्रलाई समेटेर आन्तरिक पर्यटक सर्किट बनाउने लक्ष्यका साथ काम भईरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । यहाँका पयर्टकीय क्षेत्रको एकिकृत विकासका लागि सरकारको माथिल्लो निकायसँग पहल कदमी गरिरहेको उहाँले जानकारी दिनुभयो ।






