प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौँ । प्रहरी चौकीमा ढुंगामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका-७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष दासको नेतृत्वमा रहेको समूहले गोडैता प्रहरी चौकीमा ढुंगामुढा तथा बाँसको फराठा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

गत असोज १७ गते भएको घटनाको उजुरी परेपछि वडाध्यक्ष दासलाई प्रहरीले आज नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार गत शुक्रबार साँझको समयमा दुर्गा पूजाको चन्दाको विषयमा गोडैता नगरपालिका–७, सडकमा स्थानीय कारिल यादवलाई गोडैता नगरपालिका-५ बस्ने अनिलराय यादवलगायतले कुटपिट गरेका थिए ।

उक्त घटनामा संलग्न अनिल रायलाई गोडैता प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि कारिल यादव पक्षका वडाध्यक्ष दाससहितका केही व्यक्तिले प्रहरी चौकीमाथि ढुंगामुडा तथा बाँसको फराठा प्रहार गरेका हुन् । घटनामा चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको मुखमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

ढुंगाले लागेर उनको अगाडिको दुई वटा दाँत भाँच्चिनुका साथै चौकीमा कार्यरत अन्य पाँच जना प्रहरीसमेत घाइते भएका छन् । घाइते प्रहरी नायब निरीक्षक यादवको प्रतिवेदनका आधारमा वडाध्यक्ष दासलाई कुटपिट अंगभंग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव शीर्षकमा जाहेरी दर्ता भएको उपरीक्षक राईले बताए ।

सोही मुद्दामा सर्लाही जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा वडाध्यक्ष दासलाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनको भनाइ छ । पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । यता वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेको विरोधमा स्थानीय व्यापारीले आज दिउँसोदेखि गोडैता बजार बन्द गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

तत्काल नेतृत्व छाड्दिनँ: केपी ओली