इलाम । मेची राजमार्ग स्थित इलामको राज दुवाली खण्डको पहिरोका कारण इलाम सहित पाँचथर र ताप्लेजुङ जाने सवारीसाधन समस्यामा परेका छन् । वर्षैदेखि दबिएर दुख दिइरहेको उक्त सडक गत १८ गतेको वर्षाले लथालिङ्ग बनाएपछि चार जिल्लाको आवत जावतमा समस्या भएको हो ।
वैकल्पिक मार्ग अघि बढाउन निर्देशन
एक हप्तासम्म पनि सडक सञ्चालन हुन सकेको छैन । साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने राजमार्गको उक्त सडक खण्ड सधैँ बिग्रने गरेको हुँदा झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्रामा उक्त खण्ड बाधक बन्ने गरेको हो ।
सडक सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामाग्री र बिरामीहरू ठुलो समस्यामा छन् । अहिले राज दुवाली खण्डको वारी र पारी बाट यातायात सञ्चालन भए पनि पहिरो भएको खण्डमा पैदलबाट वार पार भइरहेको छ ।
उक्त खण्डमा बिरामी र अशक्तहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सहयोग गरिरहेको छ भने इलाम नगरपालिकाले स्वास्थ्य डेस्क राखेको छ । त्यस्तै यात्रुका लागि नेपाल रेडक्रस इलामले पानी वितरण गरिरहेको छ ।
वैकल्पिक मार्ग अघि बढाउन निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले मेची राजमार्गको राज दुवाली खण्डको वैकल्पिक सडकलाई अघि बढाउन निर्देशन दिएका छन् । शनिवार राज दुवाली खण्डको पहिरो अवलोकन पश्चात् शर्माले यसको नजिकै बाट वैकल्पिक सडकको प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन ।
लामो समय देखि दुख दिइरहेको भन्दै यसलाई मर्मत गरेर सञ्चालन गरे पनि वैकल्पिक सडक निर्माण बनाउनै पर्ने र यसका लागि प्रक्रिया अघि बढाउनु पर्ने बताएका हुन । राज दुवाली क्षेत्रमा क्षति धेरै भएकाले त्यहाँ विकल्प मार्ग खोज्ने र माई खोलामा नयाँ पक्की पुल निर्माण गर्ने योजना बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान मन्त्री घिसिङले बताएका छन् ।
सडक सहज बनाउन सकस
दिन दिनै सडक भासिने गरेको र सडक डिभिजनले यात्रा सहज बनाउन सधैँ पुर्ने गरेको भए पनि आकाशको पानी पर्ने बित्तिकै सडक बन्द हुने गर्दछ । भासिएको सडक पुरेको ठाउँ भिजेपछि मालावाहक गाडी फस्ने गरेको कारण घण्टौँ सम्म यात्रुले दुख पाउने गरेका छन् । लगातार पानी परेसँगै सडक हिलो भएको र गाडी फसेको कारण घण्टौँ सम्म यातायात आवत जावत हुन सक्दैनन् ।
सडक डिभिजन कार्यालयले आवत जावत सहज बनाउन मर्मतको काम सधैँ गरिरहन्छ । सडक बिग्रिएर समस्या भएको गुनासो आइरहँदा विकल्पको चर्चा आए पनि वैकल्पिक मार्ग पनि बन्न सकेका छैनन् । सडक डिभिजन कार्यालयले यसको विकल्प नहुन्जेल यसलाई नै मर्मत गर्नु बाहेकको कुनै विकल्प नरहेको बताउँदै आएको छ ।
डिभिजन प्रमुख पवन भट्टराईले अहिले अवरुद्ध सडक निर्माण गर्दे गर्दा दबिइरहेको विषयमा पहिरो माथिबाटै सडक निकालिएको र भित्रबाट पानी बगिरहेको कारण सडक दबेको बताए । उनले यसै विषयका विज्ञ डा. मधुसूदन आचार्य पनि हामी सँगै रहेर हेरिरहनु भएको छ अब यहाँको पानी कटाएर सडक निर्माणलाई अघि बढाउने र सञ्चालन गर्ने बताए । शनिवार बेलुका सम्म लगातार काम गर्ने र आइतबारबाट समय समयमा यातायात सञ्चालन गर्ने र सडक पनि बनाउँदै जाने उनको भनाई छ ।
फेल भयो एङ्करिङ विधि
डिभिजन सडक कार्यालयले आर्थिक वर्ष २०७१।७२ सालमा नै भासिएको सडक मर्मतका लागि ६ करोडमा ठेक्का लगाएको थियो । निर्माण व्यवसायी स्वच्छन्द सफल जे भीले पाँच वर्ष लगाएर नयाँ प्रविधिमा आधारित रक एन्करिङ विधिबाट सडक मर्मत गरे पनि सडक जस्ताको त्यस्तै छ । त्यस यता मर्मतका नाममा बर्सेनि लाखौँ खर्च भइरहेको छ तर सडक भने उस्तै छ । बारम्बार सडक भासिएपछि राज दुवाली एङ्करिङ अर्थात् रड र सिमेन्टको घोला प्वालबाट पठाएर जमिन मुनी पक्की बनाउने काम गरिएको थियो ।

बाटोको तलमाथि भित्ता काट्ने, सतहमा माटो तथा ग्राभेल भर्ने, तार जालीमा ढुङ्गाको ग्याबियन पर्खाल लगाउने, एङ्करिङ गर्ने र कालोपत्रे गर्ने कामको ठेक्का लिएको स्वच्छन्द जोशी सफल जेभी निर्माण कम्पनीले काम सम्पन्न त तर अवस्था उस्तै बन्यो । पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलो पटक मेची राजमार्गको राज दुवाली खण्डमा एङ्करिङ गरिए पनि सफल हुन सकेन । यसले माटो भासिएर वा अन्य कारणले ठेलिएर तल सर्न वा पहिरो जानबाट राक्ने भनिएको थियो । तर एक वर्ष पनि टिक्न सकेन ।
एङ्करिङ गर्दा पहिले फलामको पाइपले २५ मिटर भित्रसम्म प्वाल पारि त्यसका लागि मेशिनले हावाको दबाब पनि दिएर प्वाल क्लियर भएपछि ३२ एमएमको फलामको चार चार मिटरको रडलाई सकेटको माध्यमबाट जोड्दै भित्रसम्म पु¥याइएको थियो ।
त्यसपछि हावाकै दबाबमा सिमेन्टको घोला र केमिकल फलामको पाइपमार्फत नै पठाए पनि एक वर्षमै सबै दब्यो । भित्र हावा पुग्ने स्थानसम्म र बाहिर ग्याबियन पर्खालसम्म केमिकलसहितको घोला भरिएर त्यसलाई बाहिरको प्वालसम्म जमाएर जम्मा एक सय ८२ वटा प्वालबाट एङ्करिङ विधिबाट काम गरिएको थियो ।
विकल्प छन् तर बन्दैनन्
एक वर्ष अघि असोज मानै पहिरो जाँदा राज दुवाली खण्डको करिब दुई सय मिटर मेची राजमार्ग क्षतविक्षत बन्यो । दुई साता जति अवरुद्ध भए पनि मर्मत गरेर तत्काल यातायात सञ्चालन गरियो । हिउँदमा सडक डिभिजन कार्यालय इलामले पहिरो कटान गरेर सडक चौडा ग¥यो र ग्राभेल गरेर सडक सञ्चालन गयो । सडक अवरुद्ध बनेपछि विकल्पको कुरा सधैँ आउने गर्छ । यसको विकल्पमा कुनै पनि भरपर्दो सडक नहुँदा आउँदो बर्खामा इलाम बजार यातायात सम्पर्कविहीन बन्ने गरेको हो ।
इलामबाट छोटो दुरीमा तराई जोड्नका लागि द्रुत मार्गको अवधारण अन्तर्गत भन्ज्याङ, बेलासे, दानावारि सडकको निर्माण थालिएको भए पनि भन्ज्याङ, बेलासे सडक निर्माणको काम सुस्त गतिमा छ । एक वर्ष अघि राजमार्ग अवरुद्ध हुँदा द्रुत मार्ग चाँडो बनाउने भने पनि निर्माण व्यवसायीले काम गरेनन् । अहिले यो सडक झन् समस्यामा छ । यस सडक अन्तर्गत पर्ने दुई वटा खोलोको पुल गत १८ गतेको बाढीले बगाएपछि झन् समस्या थपिएको छ । तर पनि वैकल्पिक मार्गको लागि यही सडक नै महत्त्वपूर्ण र छोटो पनि छ । गत वर्ष पुवा खोलामा बनाएको बेलिवृज र माई खोलाको बेलि ब्रिज बगेपछि तत्काल यहाँबाट सडक सञ्चालनमा समस्या आएको हो ।
यता मेची राजमार्गकै सिमल गोलाईबाट जोगमाई खोला हुँदै इलाम बजार पनि आउन सक्ने विकल्प त । गत वर्ष यस सडकको मर्मत समेत भयो र हिउँदमा जोगमाई खोलामा बेलि ब्रिज लगाए पनि गत १८ गतेको बाढीले बगाएपछि वैकल्पिक सडक समेत ठप्प छन् ।
द्रुत मार्ग चाँडो सम्पन्न हुने हो भने राज दुवाली खण्डमा समस्या आउँदा द्रुत मार्ग प्रयोग हुन सक्ने थियो । राज दुवाली सडक खण्ड भासिने गरेको कारण लामो समय देखि मर्मतका नाममा करोडौँ खर्च सकिए पनि अहिले सम्म सडक बन्न सकेको छैन ।
सम्बन्धित समाचार






