छिमली र पट्टा नाचमा झुमे दर्शक

गुल्मी, । दसैंपछि एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्छ । सराय नाच कहिलेबाट र कसरी सुरु भयो भन्ने इतिहास नभएपनि युद्धमा प्रयोग हुने हतियार यस नाचमा प्रयोग हुन्छन् ।

गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकि यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाचहरू देखाइएको छ, जुन ऐतिहासिक तथा मौलिक छन् ।

पूर्णिमाको दिन धुर्कोट कोतमा विशेषगरी छिमली नाच, तुरी नाच, हुँ हुँ नाच, पट्टा नाच र सराय नाच प्रदर्शन गरिन्छ । मन्दिरमा भक्तजनहरू विशेषगरी छिमली र पट्टा नाचमा झुमेका थिए । सरायबाहेकका चार प्रकारका नाचहरू सराय नाचसँगै सम्बन्धित रहे पनि प्रदर्शन कला भने फरक छ । सराय नाचको सुरुमा गन्धर्वलाई अगाडि लगाई बाजागाजाको धुनसँगै हतियार लिएर बिस्तारै हुँदै छिटोछिटो गतिमा मौला वरिपरि नाचिने गरिन्छ ।

कम्तीमा तीनपटक नाचिने यस नाचमा शक्तिको प्रदर्शन, युद्धको कला र एकताको प्रतीक प्रदर्शन गरिने नाचसम्बन्धी जानकार स्थानीय एवं हिमालय माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

कोतमा चौथो नाचका रूपमा पट्टा नाच नाचिन्छ । यस नाचमा दुई जना प्रतिद्वन्द्वीहरू ढाल र तरबार लिई बाजाको तालमा नाच्ने गर्छन् । अनि झुक्क्याए जस्तोगरी एकले अर्कोलाई प्रहार गर्छन् । तर, अर्को व्यक्ति भने जोगिन्छ । यस्तो प्रहार दुवैले कम्तीमा तीनतीनपटक गर्छन् । यो देख्दा निकै डरलाग्दो देखिन्छ । यस नाचले मिल्ने साथीसाथीबीच पनि द्वन्द्व, ईष्र्या र प्रतिशोध हुने भएकाले सबैसँग सतर्क हुनुपर्ने सन्देश दिने भण्डारीले बताए ।

दुवै नाच हेर्नका लागि कोतमा हजारौं भक्तजनको भीड रहेको थियो । स्थानीय गीता पन्थीले आफूले पहिलोपटक पट्टा नाच हेरेको बताइन् । ‘धेरै सुनेको थिएँ, तर हेरेको थिइनँ,’ उनले भनिन्, ‘अहिले हेर्ने मौका मिल्यो, निकै आकर्षक हुँदो रहेछ ।’ आफू कामको सिलसिलामा बाहिर भएकाले हेर्न नपाएको उनले बताइन् ।

मालिका गाउँपालिकाबाट आएकी बसुन्धरा घिमिरेले पनि छिमली नाच हेरेर मनोरञ्जन लिएको बताइन् । विगतमा एकपटक मात्र हेरेको र अहिले धेरै वर्षपछि छिमली नाच हेरेको उनले बताइन् । ‘वर्षमा एकपटक मात्रै देखाइन्छ, धेरै आकर्षक हुन्छ,’ उनले भनिन् ।

उल्लिखित नाचका साथै कोतमा भव्यताका साथ सराय पनि नाचिएको छ । धुर्कोट दरबारअगाडिको पटागिंनीमा गोलो लाइन बनाएर दुई–दुई जनाको जोडीमा सयौं व्यक्तिहरू बाजा–गाजाको साथमा हातमा तरबार, खुकुरी, ढाल, खुँडा, लठ्ठीलगायतका युद्धमा प्रयोग हुने हतियार लिएर सराय नाचिएको थियो ।

किंवदन्तीअनुसार १४६५ सालमा खड्गराज मल्ल धुर्कोटको राजा बनेपछि खुसियालीमा दसैंको पूर्णिमाका दिन विजय उत्सव मनाइएको सम्झनामा सराय नाच नाच्ने गरिएको स्थानीय कृष्णप्रसाद भण्डारीले बताए ।

धुर्कोट कोतमा हुने छिमली, पट्टा एवं सराय नाचलाई व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्न धुर्कोट गाउँपालिकाले पनि पहल गरेको छ । पालिकाले पछिल्लो समय झन्डै ५ करोड रुपैयाँभन्दा बढी खर्चेर विभिन्न संरचना निर्माण गरेको छ ।

धुर्कोट दरबार परिसरमा तारबार एवं लाइटिङ, सिँढी निर्माण, संग्रहालय, मन्दिरको पुनर्निर्माणलगायतका क्षेत्रमा काम गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । ‘संघ, प्रदेश र पालिकाको गरी ५ करोड रुपैयाँभन्दा बढीको काम गरेका छौं,’ अध्यक्ष पोखरेलले भने, ‘यस वर्ष सबैभन्दा बढी भक्तजन आउनुभएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई