अर्थ मन्त्रालयले काट्यो वैकल्पिक राजमार्गको २५ करोडको बजेट

काठमाडौं । ३ करोड रुपैयाँमुनिका टुक्रे योजना कटौती गरेर सरकारको कोष बलियो बनाउने दाबी गरिरहेको अर्थ मन्त्रालयले वैकल्पिक राजमार्गका बजेटसमेत कटौती गरेको पाइएको छ ।

प्रमुख राजमार्गमा सवारी चाप बढेका कारण निर्माण प्राथमिकतामा राखिएका वैकल्पिक राजमार्गको बजेट कटौती भएपछि प्रभावित क्षेत्रका स्थानीय आक्रोशित भएका छन् ।

३ करोडमुनिका टुक्रे आयोजना देखाएर धमाधम ठूला योजनाको बजेट कटौती

जेनजी आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माण, मर्मत सम्भार तथा आगामी २१ फागुनका लागि प्रस्तावित निर्वाचन कार्यक्रमका लागि कोष निर्माण गर्न विभिन्न आयोजनाका बजेट कटौती गरेको थियो ।

अर्थ मन्त्रालयले काठमाडौं उपत्यकाबाट तराई जोड्ने वैकल्पिक राजमार्गका रूपमा प्रस्ताव गरिएको लेले–भारदेउ–चन्दनपुर–ठूलादुर्लुङ वैकल्पिक राजमार्गको नाममा प्रस्तावित २५ करोड रुपैयाँ बजेट कटौती गरेको छ ।

उपत्यकाबाट पूर्वी तराई जोड्ने छोटो तथा भौगोलिक एवं भौगर्भिक हिसाबले समेत उपयुक्त मानेर आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमार्फत प्राथमिकताको कार्यक्रमका रूपमा राखिएको यो आयोजनामा प्रस्तावित २५ करोडमध्ये २४ करोड ७३ लाख रुपैयाँ मन्त्रालयले रोक्का गरेको छ ।

अर्थ मन्त्रालयले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका लागि प्रस्तावित बजेटबाट पनि ६ करोड रुपैयाँ कटौती गरेको पाइएको छ । ८ करोड रुपैयाँ विनियोजन भएको सो कार्यक्रमबाट ६ करोड कटाइ २ करोड रुपैयाँ मात्रै राखिएको पाइएको छ ।

मन्त्रालयको बजेट अख्तियारीमा संशोधन गरी यसरी रकम कटौतीमा पर्दा प्राथमिकता पहिचान गरिएका दूरगामी आयोजनामा असर पर्ने भन्दै कर्मचारीको राय हुँदा पनि अर्थमन्त्रीको दबाबमा रकम कटौती गरेको स्रोतको दाबी छ ।

सामान्यतया ३ करोडभन्दा माथिका आयोजना कटौती नभएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए । बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन गर्ने योजना र समपूरक आयोजनाहरू कटौती नहुनुपर्ने प्रवक्ता पाण्डेले बताए ।

मन्त्रालयको बजेट अख्तियारी प्रणालीले बजेट कटौती गरेपछि सडक विभागले ठेक्का प्रक्रिया सुरु गर्ने विषयमा अलमल गरिरहेको प्रभावित क्षेत्रका सरोकारवाला बताउँछन् । मन्त्रालय स्रोतका अनुसार राजनीतिक पहुँचको योजनाका नाममा यो सडकको बजेट कटौती भएको हो ।

उपत्यकाबाट तराई जोड्ने वैकल्पिक सडकका रूपमा प्रस्तावित आयोजनाको बजेट कटौतीले उपत्यका आवागमन सहज बनाउने प्रयासमाथि घोर अन्याय भएको वैकल्पिक राजमार्गको अभियानमा सक्रिय कोन्जोसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा बताउँछन् ।

उपत्यकाबाट तराई आवतजावत गर्ने सहज मार्गका लागि धेरै वर्ष अघिदेखि भएका प्रयासका बाबजुद विनियोजन गरिएको बजेट कटौती हुँदा ललितपुरको दक्षिणी भेग, मकवानपुरको उत्तरी भेग, काभ्रेको दक्षिणी भेग तथा सिन्धुली हुँदै रौतहट र पूर्वी तराईसँगको सहज सम्बन्ध हुने पूर्वाधार विज्ञहरू बताउँछन् ।

२०१३ सालदेखि निर्माण सुरु भएर पनि सहजै निर्माण सम्पन्न तथा सुचारु हुन नसकेको कान्ति लोकपथ तथा अन्य राजमार्गको अवस्था सहज नभएकाले उपत्यका–तराई आवतजावतको भरपर्दो राजमार्ग नभएपछि वैकल्पिक राजमार्गका रूपमा लेले चन्दनपुर–ठूलादुर्लुङ–फापरबारी हुँदै तराई कनेक्सन प्रस्तावित गरिएको कोन्जोसोमका अध्यक्ष लामा बताउँछन् ।

बजेट कार्यान्वयनका लागि ठेक्का बन्दोबस्त गर्न विभागलाई ध्यानाकर्षण गराउँदा बजेट कटौती भएको सुनेपछि ललितपुरतर्फको प्रभावित क्षेत्रका कोन्जोसोम र महाँकाल गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

जेनजी आन्दोलनपछि निर्माण भएको सरकारले ५ असोजको मन्त्रिपरिषद् बैठकबाट ३ करोडमुनिका टुक्रे आयोजना तथा राजनीतिक पहुँचका योजना कटौती गर्ने नाममा मनलाग्दी योजना कटौती गरेको भन्दै आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 554 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल