कपिलवस्तु । गत आर्थिक वर्षको साउनदेखि असारसम्म कपिलवस्तु जिल्लामा १२८ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। यससँगै जिल्लाभर कुल कुष्ठरोगीको संख्या १३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ कुष्ठरोग निरीक्षक मोहम्मद इरफानका अनुसार जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा २१ जना नयाँ रोगी फेला परेका छन्। त्यसपछि विजयनगर गाउँपालिकामा २०, शिवराज र बुद्धभूमि नगरपालिकामा १५–१५ जना, महाराजगंजमा १३, कपिलवस्तु नगरपालिकामा ११, बाणगंगामा ६, शुद्धोधनमा १३, यशोधरामा ११ र मायादेवी गाउँपालिकामा ३ जना नयाँ रोगी भेटिएका छन्।
वरिष्ठ निरीक्षक इरफानका अनुसार मायादेवी गाउँपालिकामा जनचेतना अभावका कारण खोजी कार्य गर्न कठिनाइ भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले कुष्ठरोगीको संख्या अझै पनि उच्च रहेको बताए। उनका अनुसार “घरघरमा पुगेर खोजी कार्य र शिविर सञ्चालन गर्दा लुकेका केसहरू बाहिर आएका छन्।”
ढकालले समाजमा कुष्ठरोगप्रति रहेको गलत बुझाइ, रोगीमाथि हुने भेदभाव र लान्छनाका कारण उपचारमा ढिलाइ हुने समस्या रहेको उल्लेख गरे। उनले कुष्ठरोगको औषधि निःशुल्क हुने र उपचार पूर्ण रूपमा सम्भव भए पनि धेरैजसो बिरामी लुकाएर बस्ने गरेको बताए।
नेपाल सरकारले सन् २०३० भित्र कुष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ। उपचारका लागि आउने बिरामीलाई सरकारले यातायात खर्चका रूपमा एक हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था पनि गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।






