काठमाडौं । चलचित्र कबड्डीको हरेक शृंखलामा अभिनेता दयाहाङ राईको प्रतिस्पर्धीको रूपमा एक न एक जना अभिनेतालाई उतार्ने गरिन्छ । यसै क्रममा सोमबारबाट छायांकन सुरु भएको चलचित्र ‘कबड्डी ५: आफ्टर फाइनल म्याच’को यो शृंखलामा अभिनेता विपिन कार्कीलाई दयाहाङको प्रतिस्पर्धीको रूपमा उतारिएको छ । विपिन पहिलो पटक यो शृंखलामा जोडिएका हुन् ।
यसै क्रममा चलचित्र कबड्डीको पहिलो शृंखलामा दयाहाङको प्रतिस्पर्धीको रूपमा अभिनेता निश्चल बस्नेत थिए भने दोस्रो र चौथो शृंखलामा दयाहाङको प्रतिस्पर्धीको रूपमा सौगात मल्ललाई उतारिएको थियो । कबड्डीको तेस्रो शृंखलामा कार्म शाक्य थिए भने पाचौँ शृंखलामा दयाहाङको प्रतिस्पर्धीको रूपमा अभिनेता विपिन कार्की प्रस्तुत हुँदैछन् ।
चलचित्रमा विपिनसँगै मिस युके नेपाल–२०१७ सिर्जना गुरुङ पनि प्रस्तुत हुँदै छिन् । सिर्जनाले यही चलचित्रबाट नेपाली चलचित्र उधोगमा नायिकाको रूपमा डेब्यु गर्न लागेको पनि कार्यकारी निर्माता मणिरामले बताए । बाँकी कलाकारमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ कमलमणि नेपाल, अरुणा कार्कीलगायत रहेका छन् ।
विगत झैँ यस पटक पनि यो चलचित्रको छायांकन मुस्ताङबाट सुरु गरिएको छ । चलचित्रको सम्पूर्ण छायांकन मुस्ताङमै सम्पन्न गरिने निर्माण पक्षले जनाएको छ । छायांकनको सेड्युल ३५ दिन रहेको कार्यकारी निर्माता मणिराम पोखरेलले राजधानीलाई जानकारी दिए ।
यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । उनी यो चलचित्रको निर्माताको पनि हुन् । चलचित्र कबड्डीलाई पचौँ शृंखलामा टुंँग्याउने निर्माण पक्षको योजना रहेको छ । सोही कारण यो चलचित्रको नाम नै ‘कबड्डी ५ ः आफ्टर फाइनल म्याच’ राखिएको निर्माण पक्षले जनाएको छ ।
चलचित्र ‘कबड्डी’का यसअघिका हरेक शृंखलाले बक्स अफिसमा ब्लक बस्टर रूपमा व्यापार गरेको देखिन्छ । एउटै लोकेसनमा निरन्तर छायांकन गरेर सोही भेगको कथा प्रस्तुत गरेर पनि चार शृंखलासम्म उत्कृष्ट व्यापार गर्नु यो चलचित्रको विशेषता बनेको निर्माण पक्षले जनाएको छ । चलचित्रको रिलिज कहिले गर्ने भन्ने कुरा छायांकन सम्पन्न गरेपछि मात्र तय गरिने यसको निर्माण पक्षले बताएको छ ।






