काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीयलले भदौ २३ को जेनजी आन्दोलनमा आफूहरू अप्रत्यक्ष रूपमा सहभागी भएको खुलासा गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर वाइसीएलका अध्यक्ष पुष्प ओलीले खुलासा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘असली जेनजीहरूको मागप्रति हाम्रो समर्थन छ ।’
उनले भने, ‘२३ गते विद्यार्थीहरूमाथि ताकिताकी गोली हालिएको छ। सरकारबाट दमन भएको छ। त्यसको निष्पक्ष छानबिन गर्नुपर्छ। २४ गते १२ बजेदेखि जेनजी आन्दोलन हाइज्याक भएको छ। तिनीहरूमाथि पनि अनुसन्धान गरेर कारबाही गर्नुपर्छ।’
आन्दोलनपछि आफूहरू स्वमसेविको भूमिकामा सहयोग गर्ने उद्देश्यले आफूहरू संलग्न हुँदा पनि घुसपैठले आक्रमण गर्ने र प्रहरी प्रशासनको दुरुपयोग गरेर दमनको प्रयास भइरहेको बताए।
उनले भने, ‘हामविरुद्ध कुनै गोप्य कुना कन्दरामा षड्यन्त्र रचिन्छन् भने हामी त्यसको भण्डाफोर र प्रतिवाद गर्न तयार छौँ। हामी उपत्यकामा दश हजार भन्दा ठुलो फोर्स तयार गरेका छौँ। हामीमाथि आक्रमणको दिवासपना देख्नेहरूलाई युवा विद्यार्थी मिलेर प्रतिवाद गर्नेछौँ।’










