काठमाडौं । निर्वाचनको वातावरण बन्दै गएकाले तयारीमा लाग्न निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आग्रह गरेका छन् ।
निर्वाचनको वातावरण बन्दै छ, दलहरू तयारीमा लाग्नूस्: आयोग
निर्वाचन आयोगले बिहीबार आयोजना गरेको छलफलमा सहभागी राजनीतिक दलका नेताहरूले निर्वाचनका लागि भयरहित, स्वतन्त्र र निष्पक्ष वातावरण नबनेको तर्फ ध्यानाकर्षण गराएपछि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले ढुक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरेका हुन् ।
कसैलाई पनि निर्वाचनमा निषेध गर्ने व्यवहार कसैले पनि देखाउन नहुने बताउँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले नागरिकले भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने अवस्था सुनिश्चित गराउन आयोग लाग्ने बताए ।
निर्वाचन आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरू, प्रदेशसभा तथा स्थानीय तहमा समेत कम्तीमा २ सदस्य जितेका दलहरूलाई बोलाएर छलफल गरेको हो ।
२९ राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा शान्ति सुरक्षा, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउनुपर्नेमा राजनीतिक दलले जोड दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगका प्रवक्ता भट्टराईले कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सबै दललाई निर्वाचनको वातावरण बन्नेमा विश्वस्त हुँदै निर्वाचनको तयारीमा लाग्न आग्रह गरेको बताएका छन् । शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा अंगसँग समन्वय भएकाले आयोगलाई विश्वास गरी तयारीमा लाग्न कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आग्रह गरेका हुन् ।
राजनीतिक दलका प्रतिनिधिहरूले भने सरकारले अहिलेसम्म निर्वाचनका लागि ढुक्क हुनेगरी सुरक्षा र राजनीतिक वातावरण निर्माण गर्न नसकेको बताएका छन् ।
उनीहरूले सुरक्षा र राजनीतिक वातावरण बनाउन विलम्ब गरे निर्वाचन हुन नसक्ने भन्दै सरकारको यस विषयमा ध्यानाकर्षण गराउन आयोगलाई भनेका छन् ।
एमालेका तर्फबाट प्रतिनिधित्व गरेका नेताले भने संसद् पुनःस्थापनाको एजेन्डा पार्टीले बोक्ने भएकाले तत्काल सहभागी हुन नहुने विषयमा निर्णय भइनसकेकाले निर्वाचनका विषयमा ठोस सुझाव दिन नसकिने बताएको थियो । माओवादी केन्द्र, कांग्रेसलगायतका दलका प्रतिनिधिले पनि सुरक्षा र राजनीतिक वातावरणका विषयमा संशय राखेका थिए ।
ढुक्क भएर प्रतिस्पर्धा गरौंः जेनजी प्रतिनिधि
बिहीबार जेनजी युवाहरूले सम्पूर्ण राजनीतिक दललाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । ७० जना जेनजी युवाहरूले संयुक्त वक्तव्य जारी गर्दै संवैधानिक तथा राजनीतिक संकटबाट जोगाउन सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।
‘जेनजी आन्दोलनले उठाएको रूपान्तरणको मर्मलाई आत्मसात् गर्दै, वैचारिक र संगठनात्मक सुधारसहित आगामी निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दललाई हामी आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘देशलाई संवैधानिक र राजनीतिक संकटबाट जोगाउने एक मात्र बाटो निष्पक्ष र समयबद्ध निर्वाचन नै हो ।’
यस्तै, उनीहरूले हिंसात्मक व्यवहारलाई नस्वीकार्ने र असहिष्णु राजनीतिक प्रशिक्षण र आक्रामक संस्कारलाई अन्त्य गर्न चाहेको पनि बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘हामी कुनै पनि हिंसात्मक व्यवहार स्विकार्दैनौं र हालका राजनीतिक दलहरूद्वारा वर्षौंदेखि सञ्चालित असहिष्णु राजनीतिक प्रशिक्षण र आक्रामक संस्कारलाई अन्त्य गर्न चाहन्छौं ।’
अबको राजनीति क्रोध वा प्रतिशोधको नभइ तर्क, विचार र संवादको हुनुपर्नेमा जोड दिँदै जेनजी पुस्ता यही नयाँ, शान्तिपूर्ण र तर्कपूर्ण राजनीतिक संस्कृतितर्फ देशलाई डो¥याउन प्रतिबद्ध रहेको उनीहरूले बताएका छन् ।
जेनजी युवाले २३ भदौमा सरकारका तर्फबाट भएको दमन र हत्याको निष्पक्ष छानबिन गरी दोषीहरूलाई पहिचान गरी कानुनको दायरामा ल्याउन माग गरेका छन् । त्यस्तै, २४ भदौमा भएको आगजनी, लुटपाट, तोडफोड तथा हातहतियार कब्जाजस्ता आपराधिक घटनाको पनि छानबिन गर्न पनि उनीहरूले विज्ञप्तिमार्फत माग गरेका छन् ।






