काठमाडौं। ललितपुरमा चलिरहेको एमाले केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सेनाले अध्यक्ष केपी शर्मा ओलीलाई जेनजी आन्दोलनमा भएको क्षतिको नैतिक जिम्मेवार कसले लिन्छ भनेर प्रश्न गरेकी छन् । उनले नेकपा एमालेविरुद्ध लागेका विदेशी शक्ति को हुन् भनेरसमेत प्रश्न गरेकी छिन् ।
अध्यक्ष ओलीको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रममा उनले एमालेविरुद्ध लागेका कुन–कुन विदेशी शक्तिहरू हुन् ? भनेर प्रश्न गरेकी छन् ।
जेनजी आन्दोलनमा घुसपैठ भएको र विदेशी शक्तिसमेत लागेर प्रतिक्रान्तिको षड्यन्त्र गरेको भन्ने अध्यक्ष ओलीको अभिव्यक्तिप्रति इंगित गर्दै तिम्सेनाले प्रश्न गरिन्, ‘कुन–कुन वैदेशिक निकायहरू हुन् नेकपा एमालेविरुद्ध लागेको ? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै दूतावासका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ ?’
‘अस्ति भर्खर स–साना नानीहरूको कत्लेआम भयो । खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो । ती सबैको नैतिक जिम्मा कसले लिने हो ?’ उनले भनिन्, ‘गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी आइजिपीलाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड ?’
२०७९ को निर्वाचन पछाडि ‘सक्किने की सच्चिने ?’ भन्ने बहस भएको स्मरण गर्दै उनले जेनजी आन्दोलनपछि देश सक्किने सीमा कहाँसम्म हो ? भनेर पनि सोधिन् ।
‘आज, अस्तिको भदौ २३ र २४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ,’ उनले भनिन्, ‘यो जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेऊ भन्ने नै हो । त्यसलाई अनदेखा गर्न अब सकिन्न ।’










