भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ८ खोक्सिकमा ‘कृषि बजार’ निर्माण थालिएको छ । स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको बजारीकरण गर्ने लक्ष्यले यहाँ कृषि बजार निर्माण थालिएको हो ।
यहाँका लेक तथा बेँसी क्षेत्रमा उत्पादन भएका बस्तुलाई संकलन गरेर बेचविखन गर्ने लक्ष्यले वडाले कृषि बजार निर्माण गरिरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए । दीर्घकालिन लक्ष्यका साथ वडाको थौरे बजेटबाट भएपनि यो आर्थिक वर्षबाट संरचना निर्माण थालिएको उनको भनाइ छ । वडाले तीन लाख बजेट विनियोजन गरेर बजार व्यवस्थापनको काम थालेको उनले बताए ।
‘वडाको थोरै बजेटबाट भएपनि कृषि बजार निर्माणको अवधारणा अनुसार काम थालनी गरेका छौँ’ वडाध्यक्ष राईले भने,‘खास गरेर स्थानीयस्तरमा उत्पादन भएका बस्तुको बजारीकरणमा सहयोग पु¥याउने हाम्रो लक्ष्य छ । वर्षेनी यहाँ संरचना थप्ने योजना छ ।’
यो स्थानमा महिनामा दुई पटक बजार लाग्ने भएकाले किसानले ल्याएका कृषि उत्पादनलाई सहज रुपमा बेचविखन गर्ने वातावरण बनाउन कृषि बजार निर्माण भइरहेको उनको भनाइ छ । कृषि बजार निर्माण पश्चात यहाँको कृषि उपजको बजारीकरणमा टेवा पुग्ने बताए ।
वडाले स्थानीय किसानहरुले उत्पादन गरेका कृषि उपजको सहज बेचविखनसँगै बजारीकरणको लागि कृषि बजार निर्माणले उत्साह थपेको स्थानीयबासी दलबहादुर राईले बताए । कृषि बजार निर्माण पश्चात यहाँ उत्पादन भएका कृषि उपजको विनिमयमा सहजता हुने उनको भनाइ छ ।
खोक्सिक क्षेत्रलाई कृषि उत्पादनको हिसाव निकै उर्वरभूमि मानिन्छ । यहाँ किसानले तरकारीलगायत नगदेबालीको व्यावसायिक खेती गर्दै आएका छन् ।






