काठमाडौं । गायिका नितु पौडेलले काठमाडौं अनामनगरस्थित ‘यम तिलक रेकर्डिङ स्टुडियो’भित्र आफूलाई आगो लगाएर आत्मदाह प्रयास गरेकी छन् । सो स्टुडियो ‘बाबुल गिरी’ उर्फ गायक तथा संगीतकार धनबहादुर गिरीले सञ्चालन गर्दै आएका छन् ।
बाबुल गिरी र नितु पौडेल केही समयदेखि निकट सम्बन्धमा रहेको बताइएको छ । आगलागीपछि गायिका पौडेल जलेर गम्भीर घाइते भएकी छन् । यस्तै संगीतकार बाबुल पनि घाइते भएका छन् ।
आगलागीका क्रममा स्थानीय र प्रहरीले उनीहरू दुवैलाई उद्धार गरेका थिए । प्रहरीले नै संगीतकार गिरी र गायिका पौडेललाई सँगै अस्पताल लगेको हो । दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेकी गायिका पौडेलको अनुहार जलेको प्रत्यक्षदर्शी स्थानीयले जनाएका छन् । स्थानीयका अनुसार शनिबार दिउँसो नितु र बाबुलबीच भनाभन भएको थियो । त्यसपछि नितुले पेट्रोल छर्केर आफूमाथि आगो लगाएको स्टुडियो भवनका छिमेकीले बताएका छन् ।
आगलागीबाट बाबुल गिरीको यम तिलक स्टुडियोमा पनि क्षति पुगेको छ । घटनापछि प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको जनाइएको छ ।
घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । नितु केही दिनदेखि मानसिक तनावमा भएको उनले सामाजिक सञ्जाल (फेसबुक)मा पोस्ट गरेको स्टाटले पनि जनाउँछ ।
बाबुल र नितुले ‘सत्य राम कसम’, ‘सिट्ठी मारेर’, ‘उसको नजरमा के’लगायत गीत सँगै गाएका छन् । गायनसँगै नितुले अनामनगरमै साधारण कफी पसलसमेत सञ्चालन गर्दै
आएकी थिइन् ।






