काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती तथा कम्युनिस्ट सिद्धान्तमा विश्वास गर्नेहरूमध्ये अधिकांशका गुरु मोहन वैद्यले सक्रिया राजनीतिबाट संन्यास लिएका छन् ।
पछिल्ला दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव वैद्यले स्वास्थ्यका कारण पदबाट राजीनामा दिएका छन् । वैद्यले राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रूपमा अनुुमोदन पनि गरिसकेको उनले बताए । पदबाट मोहन वैद्य किरणले स्वेच्छिक राजीनामा दिएका हुन् ।
‘स्वास्थ्यका कारणले राजीनामा दिनुभएको हो, पार्टी छाडेको होइन,’ गजुरेलले भने, ‘उहाँ सल्लाहकारमा बस्नुहुन्छ, अनि महासचिवको नेतृत्वमा बन्ने विशेष समितिमा पनि रहनुहुन्छ ।’
दम, निमोनियालगायतबाट वैद्य लामो समयदेखि पीडित छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उनको धेरैपटक उपचार भइसकेको छ । २००३ सालमा जन्मिएका वैद्य ४ असार २०६९ मा एकीकृत नेकपा माओवादी विभाजन गरेर आफ्नै नेतृत्वमा पार्टी गठन गरेदेखि निरन्तर कार्यकारी नेतृत्वमा थिए ।
२०४५ सालअघि पनि उनी पार्टी नेतृत्वमा थिए । नेकपा मसालका महामन्त्री रहेका उनले चर्चित सेक्टर काण्डपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व सुम्पिएका थिए । तर, प्रचण्डले समेत उनलाई राजनीतिक गुरु मान्दै आएका छन् ।
विभिन्न घटकसँग एकता भएर नेकपा माओवादी बन्यो । जसले १ फागुन २०५२ देखि दीर्घकालीन जनयुद्ध थाल्यो । त्यसबेला पनि उनले प्रचण्डलाई राम्रो साथ दिएका थिए । शान्तिपूर्ण राजनीतिमा आएर २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले ऐतिहासिक विजयी हासिल ग¥यो ।
वैद्य पनि संविधानसभा सदस्य बने । तर, कार्यकाल बाँकी छँदै उनले राजीनामा दिए । त्यसपछि उनको प्रचण्डसँग दूरी बढ्दै गएको थियो । २०६९ सालमा पम्फा भुसाल, रामबहादुर थापा, सीपी गजुरेल, नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका प्रभावशाली नेतालाई लिएर छुट्टै दल गठन गरे पनि उनले यी नेताको साथ पछि पाएनन् । १ जेठ २०७३ मा रामबहादुर थापा, पम्फा भुसाललगायत नेताले फेरि वैद्यलाई छोडेर प्रचण्डकै पार्टीमा फर्किए । त्यसपछि विप्लवलगायतका नेताहरूले समेत उनको साथ छोडेर छुट्टै दल गठन गरे ।
राजनीतिमा किरण र साहित्यमा चैतन्य उपनामले चर्चित मोहन वैद्य २०२५ सालमा पहिलोपटक जेल परेका थिए । उनका दर्शन र साहित्यका १० वटा कृति प्रकाशित छन् ।
लेखक नरेन्द्रराज प्रसाईंका अनुसार मोहन वैद्य बाल्यकालमा पूर्ण धार्मिक रीतिरिवाजमा बाँधिएका थिए । आफ्ना बाबुआमाको अनुयायी भएर उनले राजा त्रिभुवनको स्वर्गारोहण हुँदा कपाल पनि खौरिएका थिए ।
प्रसाईंले २०७८ सालमा वैद्यनिकट मानिने मिर्मिरे अनलाइनमा उल्लेख गरेअनुसार किशोरकालको प्रवेशले उनीभित्र ती संस्कृति र परम्परा भनेका अन्धविश्वास हुन् भन्ने भावनाको जागृति भयो । त्यसैबेलादेखि उनले दलितले पकाएको खाना खानेदेखि कुखुराको मासुसमेत खान थाले । त्यति मात्र होइन बाहुनले हलो जोत्नु हुँदैन भन्ने परम्परासँग पनि उनले युद्ध गर्ने हेतु गोरु नारी खेत जोतेर हलोको अनौ पनि समातेका थिए ।
प्रसाईंका अनुसार मोहन वैद्य आफू सानो छँदै कांग्रेस र कम्युनिस्टलाई घृणा गर्थे । अनि, युवा अवस्थामा प्रवेश भएपछि उनले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवेशमाथि चिन्तन गर्न थाले । सोहीअनुरूप १८ वर्षको उमेरदेखि उनी कम्युनिस्ट पार्टीमा सक्रिय भए । उनी पुष्पलालबाट प्रेरित भए पनि निर्मल लामा र मोहनविक्रम सिंहलाई गुरु मान्छन् ।






