दुई दिनमा ‘जेरी अन टप’को व्यापार १ करोड ५८ लाख

काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘जेरी अन टप’ले रिलिज भएको दुई दिन शुक्रवार र शनिवार गरेर नेपालमा १ करोड ५८ लाख ९७ हजार ६१८ रुपैयाँ ग्रस व्यापार गरेको छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस प्रणालीले ‘जेरी अन टप’को दुई दिनको व्यापार परिणाम आइतबार सार्वजनिक गरेको हो । यो चलचित्रले रिलिज भएको पहिलो दिन शुक्रवार बक्स अफिसमा ७२ लाख ५९ हजार ४०८ रुपैयाँको ग्रस व्यापार गरेको थियो । पहिलो दिनको व्यापार राम्रो भएपछि दोस्रो दिन शनिवार देशका चलचित्र घरहरूमा सो संख्या पनि ह्वात्तै बढ्यो । यो चलचित्रले शनिवार ८६ लाख ३८ हजार २१० रुपैयाँको ग्रस व्यापार गर्दै दुई दिनमा १ करोड ५८ लाख ९७ हजार ६१८ रुपैयाँ संकलन गरेको हो ।

यसपालिको दसैंको तुलनामा तिहारमा रिलिज भएको ‘जेरी अन टप’को व्यापार सुखद छ । दसैँमा एकसाथ तीन नेपाली चलचित्र रिलिज हुँदै तीन वटै चलचित्रको व्यापार सोचे भन्दा कम थियो । यसरी जुध्दा सबैभन्दा ठुलो असर चलचित्र ‘बलिदान’लाई प¥यो भने ‘बलिदान’ बक्स अफिसमा फ्लप साबित भयो । बाँकी दुई चलचित्र ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ पहिलो पनि चलचित्र घरमा प्रदर्शन भइरहेको छ ।

चलचित्र ‘जेरी अन टप’ले शुक्रवार २६० सोज पाएको थियो भने शनिवार २५ सोज बढेर २८५ सोज पुगेको थियो । चलचित्रको व्यापार आइतबार पनि राम्रो भएको यसका निर्माता सरोज न्यौपानेले राजधानीलाई जानकारी गराउँदै भने,‘आज पनि धेरै चलचित्र घरमा ८० प्रतिसतसम्म दर्शक छन् । भोली सोमबारबाट तिहारको बिदा हुने हुँदा अहिलेको भन्दा निकै राम्रो व्यापार हाम्रो चलचित्रले गर्ने विश्वास लिएका छौँ ।’

यो चलचित्र सुयोग गुरुङले निर्देशन गरेको हुन् । सगरमाथा आरोहणको संघर्षमा निर्मित त्रिकोणात्मक प्रेम सम्बन्धको कथा यसमा रहेको छ । यो चलचित्रमा अनमोल केसी, भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार प्रसाद घिमिरे (माग्ने बुढा), उषा खड्गीलगायतको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी