प्रशिक्षकको खातामा पुरस्कार

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकहरूले सरकारले घोषणा गरेको नगद पुरस्कार प्राप्त गर्न थालेका छन् । युवा तथा खेलकुद मन्त्रालयले सागका विभिन्न खेल स्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित व्यक्तिको खातामा राखिदिएको बताएको छ ।

मन्त्रालयका प्रवक्ता मानबहादुर विकले सोमबार जारी गरेको विज्ञप्तिमा पदक विजेता ६८ जना मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकलाई १ करोड ८६ लाख रुपैयाँ सम्बन्धितको खातामा राखिएको उल्लेख छ । पुरस्कार प्राप्त गर्न बाँकी रहेका प्रशिक्षक तथा सहायक प्रशिक्षकले भने कुनै पेस्की वा सरकारी बाँकी नरहेको बेहोराको पत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट आएपछि रकम भुक्तानी गरिने मन्त्रालयले जनाएको छ । सरकारले घोषणा गरेअनुसार सागमा विभिन्न खेलका १ सय १२ जना मुख्य र सहायक प्रशिक्षकले नगद पुरस्कार पाउनेछन् ।

यसअघि मन्त्रालयले परिषद्बाट पेस्की बाँकी नरहेको पत्र प्राप्त नगरेको भन्दै प्रशिक्षक र सहायक प्रशिक्षकको पुरस्कार रकम रोकेर राखेको थियो । सागमा स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले ५ लाख, रजतले ३ लाख र कांस्यले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, स्वर्ण जित्ने सहायक प्रशिक्षकले ३ लाख, रजतले २ लाख र कांस्यले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि मन्त्रालयले वैशाख पहिलो साता सागका पदकधारी ४ सय ३५ खेलाडीलाई आआफ्नो बैंक खातामा पाउनुपर्ने पुरस्कार रकम जम्मा गरिदिएको थियो । खेलाडीका लागि मात्रै १९ करोड ५३ लाख रुपैयाँ बैंक खातामा राखिदिएको छ ।

नेपालले सागमा सबै २९ खेलमा सहभागिता जनाएको थियो । जसमा २६ खेलले पदक जित्न सफल भएको थियो । सरकारले संघलाई प्रोत्साहन गर्नका लागि प्रोत्साहन पुरस्कारस्वरूप स्वर्णलाई ९ लाख, रजतलाई ६ लाख र कांस्यलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ । मन्त्रालयले सागमा पदक जित्न सफल खेलाडी, र खेलसँग सम्बन्धित प्रशिक्षक र सहायक प्रशिक्षककलाई नगद पुरस्कार र सम्मानपत्र एकसाथ एक विशेष कार्यक्रमकाबीच गर्ने योजना बनाए पनि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण कार्यक्रम आयोजना गर्ने वातावरण नभएकाले मन्त्रालयले सम्बधित खेलाडीको खातामा रकम जम्मा गरिदिएको हो । गत वर्ष मंसिर १५ देखि २४ मंसिरसम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण पदक, ६० रजत पदक र ९६ कांस्य पदक गरी कुल २ सय ७ पदक जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई