पोखरा । पोखरा घुम्न आएका विदेशी पर्यटकले पनि भाइटीका लगाएका छन् । पर्यटन प्रवद्र्धनसहित संस्कृति संरक्षण गर्ने उद्देश्यले होटल संघ पोखरा नेपालले हरेक वर्ष भाइटीका महोत्सव गर्दै आएको छ ।
हिजो बिहीबार लेकसाइडमा आयोजित १८ औं संस्करणको भाइटीका महोत्सवमा एकसय भन्दा बढी पर्यटकले सहभागिता जनाएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । १५ वटाभन्दा बढी मुलुकको प्रतिनिधित्व हुने गरी सहभागी पर्यटक यसखालको महोत्सवमा सहभागी हुँदा नौलो अनुभूति गरे । महोत्सवमा अमेरिका, बेलायत, चीन, भारत, जर्मनी, इजरायल, स्वीडेन, अष्ट्रेलिया, स्पेन, न्यूजिल्याण्ड, नेदरल्याण्डलगायतका देशका पर्यटकको सहभागिता थियो ।

होटल पौवामा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका छात्राहरुले पर्यटकलाई भाइटीका लगाइदिएका हुन् । पर्यटकलाई ढाकाटोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो । पर्यटकहरुले सेलरोटी लगायत नेपाली परिकार चाखे र महोत्सवका अवसरमा आयोजित देउसीभैलोमा रमाए ।
सप्तरंगी टीका लगाएका पर्यटकहरु नौलो अनुभव लिन पाएको भन्दै दंग थिए । अष्ट्रेलियाबाट आएकी एक पर्यटक एनिले आफू धेरै पटक नेपाल आएको र यो पटक नेपाल आएर टीका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन् ।
पछिल्लोपटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्रसमेत प्रभावित हुन पुगेकोमा यो महोत्सवले सकारात्मक प्रभाव पारेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
महोत्सव संयोजक संघका द्वितीय उपाध्यक्ष गणेशराज पहारीले उपस्थित सबैलाई धन्यवाद दिए । महोत्सवमा तिहारको महत्व, दीपावली तथा तिहारका पाँचै दिन’bout पर्यटकलाई जानकारी गराइएको थियो ।

सम्बन्धित समाचार
स्याङ्जामा सुर्तिजन्य पदार्थ विक्री वितरणमा रोक
मर्स्याङ्दीका आधा पसल दर्ता र नवीकरण बिना सञ्चालनमा
विद्यालयलाई प्रथामिक स्वास्थ्य उपचार बाकस
यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक
स्याङ्जा प्रशासनले भन्यो— ‘कैदीबन्दी लुकाउने कसुरदार ठहरिन्छ’
विदेशीलाई अभद्र व्यवहार गर्ने पक्राउ
विद्यालय घेराबाराँगै संरक्षण गरिएपछि पठनपाठनमा सहज






