लमजुङ । लमजुङको उत्तरी क्षेत्रमा रहेको मर्स्याङ्दी गाउँपालिकामा सञ्चालनमा रहेका उपभोक्ता पसलहरूको अनुगमन गरिएको छ । २५ पसलमा अनुगमन गरिएकामध्ये आधा पसल दर्ता र नवीकरण बिना सञ्चालनमा रहेको पाइएको छ ।
मर्स्याङ्दी गाउँपालिकाको मुख्य बजार क्षेत्र रहेको वडा नं–३ को खुदी बजार क्षेत्रमा सञ्चालनमा रहेका फेन्सी, किराना, खाजा पसल, ग्यारेजलगायतका २५ पसलको गाउँपालिकाद्वारा अनुगमन गरिएको हो । अनुगमन कार्यको नेतृत्व गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ आफैले गरेका थिए ।
उनका अनुसार ५-६ छ वटा पसल दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । उनले भने, ‘त्योभन्दा अलिक बढी संख्यामा नवीकरण नभएको पाइयो ।’

ती दुवैथरी पसलका सञ्चालकलाई यथाशीघ्र प्रक्रिया पूरा गर्न आग्रह गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताए । उनका अनुसार विशेष गरी खाजा पसल र ग्यारेज क्षेत्रमा सरसफाइमा ध्यान दिनु पर्ने देखिएको छ । अनुगमन टोलीले व्यवसायीहरूलाई कमी कमजोरी सुधार्न सुझाव दिएको छ ।
अनुगमन टोलीले खुदी क्षेत्रका व्यवसायीहरूलाई आवश्यक मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न र असल व्यवसायीको पहिचान कायम गर्न आग्रह गरेको प्रशासन शाखा प्रमुख अर्जुन चपाईंले जानकारी दिए । उनका अनुसार पालिकाको कार्य क्षेत्र रहेका व्यवसायीलाई अनिवार्यरूपमा पालिकामा सूचीकृत हुन अनुरोध गरिएको छ ।
पालिकाका अन्य वडामा रहेका बजार क्षेत्रमा पनि नियमित अनुगमन गरिने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, ‘एउटा खुसीको कुरा के छ भने यो वर्ष पहिलो पटक अनुगमनमा किराना तथा खाद्यान्न पसलमा म्याद गुज्रेका समान भेटिएन ।’
यसरी सुधारात्मक कदम चाल्नका लागि र मर्यादित व्यापार तथा व्यवसाय सञ्चालन गर्नका लागि अनुरोध गरिएको असल व्यापारी तथा व्यवसायका पक्षमा सधैँ पालिका रहेको अध्यक्ष गुरुङको भनाइ छ ।






