चक्कू प्रहार गरी युवकको हत्या

स्व. अनिल पराजुली

पोखरा । पोखरामा चक्कू प्रहार गरी एक जना युवकको हत्या भएको छ । सामान्य विवादमा पोखरा–५, मालेपाटन निवासी ४५ वर्षीय अनिल पराजुलीको गएराति हत्या भएको हो ।

सो घटनामा संलग्न रहेको अभियोगमा मालेपाटन निवासी २४ वर्षीय किशोर तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

घटना विवरण अनुसार, शुक्रबार राति दुबै जना पोखरा ५, पस्र्याङको एक रेष्टुरेन्टमा मादक पदार्थ सेवन गर्नुका साथै तास खेलेका थिए । राति करिब १ बजेतिर उनीहरुबीच जग्गाको विषयमा विवाद उत्पन्न भएको थियो । त्यत्तिकैमा पराजुलीले तिमिल्सिनामाथि दुई थप्पड हानेका थिए । केहीबेरपछि विवाद साम्य भएपछि पराजुली होटलबाट घर जान भनी निस्के ।

राति ३ बजेर ५ मिनेटमा पस्र्याङस्थित आफ्नो घर नजिकै पुग्न लाग्दा त्यत्तिकैमा पछाडिबाट उनीमाथि तिमिल्सनाले चक्कू प्रहार गरेको प्रारम्भिक बयानमा खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । तिमिल्सिनाले रेष्टुरेन्टमा तरकारी काट्ने चक्कू उठाएर पराजुलीको गर्धन नजिक प्रहार गरेका हुन् । घाइते पराजुलीलाई उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइकोमा राति ३ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार चक्कू प्रहार गरी फरार भएका तिमिल्सिनालाई प्रहरीले शनिबार बिहानै नियन्त्रणमा लिन सफल भएको थियो । खोजीका लागि प्रहरी पस्र्याङमा तिमिल्सिनाको दाइको पसल पुगेको थियो । दाइको मोबाइलबाट किशोरलाई बोलाइएपछि लेकसाइडमा लुकेर बसेका किशोर पस्र्याङ पुगेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा तिमिल्सिनाले चक्कू हानिसकेपछि इनड्राइभ बोलाएर लेकसाइड गएर लुकेका थिए । प्रारम्भिक बयानमा जग्गासम्बन्धी विवादमा सो घटना हुन पुुगेको थियो ।

दुबैजना जग्गा कारोबार गर्दै आएको भए पनि उनीहरुबीच सो दोस्रो भेट भएको स्थानीय बताउँछन् । पहिलो भेटमा समेत उनीहरुबीच सामान्य विवाद भएको थियो । जसमा तिमिल्सिनाले रिसइबी साँधेको हुन सक्ने अनुमान छ ।

स्वर्गीय पराजुलीको श्रीमती र एक छोरी छन् । उनको पोखरा ५, पस्र्याङस्थित शिवालय मन्दिर अगाडिबाट शवयात्रासहित शनिबार नै सेती नदीमा अन्त्येष्टि भयो । स्व. पराजुली नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा–५ का उपसभापति भोलानाथ पराजुलीका सुपुत्र हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई कारबाही नगर्नु दुर्भाग्यपूर्ण : प्रभु साह