काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ छोटो समय प्रहरी संगठनको नेतृत्व गरी अवकाशमा जानैलाग्दा नयाँ प्रहरी प्रमुख (३३औं)का लागि रस्साकस्सी सुरु भएको छ ।
२७ कात्तिकदेखि प्रहरीमा नयाँ नेतृत्व
खापुङ २ महिना ७ दिन प्रहरी संगठनको नेतृत्व गरी २६ कात्तिकको मध्यरातपछि अवकाशमा जाँदै छन् । ३० बर्से सेवा अवधि पूरा गरी प्रहरी संगठनको नेतृत्वबाट उनी अलग हुनैलाग्दा नयाँ नेतृत्वका लागि दुईवटा ब्याचबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यो हो– १८ चैत २०५४ मा प्रहरी सेवामा प्रवेश गरेको १११औं टोली र ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरी २०५८ सालमा प्रहरीमा स्थानान्तरण भएको टोली । २५ पुस २०५८ मा मन्त्रिपरिषद्को निर्णयअनुसार राअविका ४६ जनालाई गुप्तचरबाट स्थानान्तरण गरेर नेपाल प्रहरीमा ल्याइएको थियो ।
र, यौ दौडमा छन् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोजकुमार केसी र सिद्धीविक्रम शाह । कार्की, अधिकारी र डा. केसी १११औं टोलीका हुन् भने शाह राअविबाट प्रहरीमा स्थानान्तरण भएका हुन् । अर्काे कुरा, १११औं टोलीका तीन जना र राअविबाट स्थानान्तरण भएका शाहको टोलीबीच को सिनियर भन्ने विवाद पनि छ ।
राअविबाट प्रहरीमा स्थानान्तरण भएका शाहको टोली प्रहरी वरिष्ठ उपरीक्षक (एसएएसपी)सम्म १११औं टोलीभन्दा वरीयतामा अघि थियो । तर, प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा १११औं टोलीका कार्की, अधिकारी र केसीले उनीहरूलाई उछिने । एआईजी बढुवामा पनि यही स्थिति कायम रह्यो । अर्थात् कार्की, अधिकारी र केसीभन्दा शाह एक महिनापछि एआईजी बने ।
प्रहरी महानिरीक्षक खापुङको छोटो कार्यकाल जेनजी प्रदर्शनका कारण जति अप्रिय र दुःखद् हुन पुग्यो, यस आन्दोलनको प्रभाव नयाँ नेतृत्व चयनमा पनि पर्ने निश्चितजस्तै छ । अर्थात् भावी नेतृत्वका लागि अघि सारिएका पात्रहरू किनारा लाग्ने सम्भावना पनि देखिँदै छ । बदलिएको राजनीतिक परिदृश्य र फेरिएको शक्तिका कारण कसले बाजी मार्ला ? यसै भन्न सकिने अवस्था छैन ।
यतिचाहिँ भन्न सकिन्छ– दाबेदार चार जनामध्ये सेवा प्रवेशका हिसाबले सिनियर र एआईजी वरीयतामा चौथो नम्बरमा रहेका शाह आईजीपी भए उनको अवकाशपछि पनि अन्य तीन जनामध्ये एक जना आईजीपी बन्ने सम्भावना कायम नै रहनेछ ।
तर, कार्की वा उनको ब्याचबाट आईजीपी नियुक्त गरिए शाहको टोली भने एआईजीबाटै अवकाशमा जानेछन् । शाह आईजीपी भएमा ४ पुस २०८३ सम्म र कार्की वा उनको ब्याचबाट आईजीपी भए १७ चैत २०८४ सम्म नेतृत्वमा रहनेछन् ।
खापुङले १९ भदौदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका मात्रै के थिए, त्यसको चार दिनपछि अर्थात् २३ भदौमा भएको जेनजी प्रदर्शनमा प्रहरी संगठनले अत्यधिक बल ग¥यो । त्यसै दिन काठमाडौंमा १९ जना र इटहरीमा दुई जनाले ज्यान गुमाए । यसविरुद्ध २४ गते भएको प्रदर्शन त विध्वंशमै परिणत भयो । यसले तत्कालीन प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससमेत सहभागी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नै ढल्न पुग्यो र अहिले दलबेगरको अन्तरिम सरकार मुलुकमा छ ।
जेनजी आन्दोलनका क्रममा समग्रमा तीन प्रहरीसहित ७५ जनाको मृत्यु र सिंहदरबारसहित सरकारी र निजी सम्पत्तिमा भएको भौतिक क्षतिले वर्तमान प्रहरी नेतृत्वमाथि ‘असफल’ आईजीपीको ट्याग लागिरहेका बेला नयाँ आईजीपी चयनलाई अहिले विशेष चासोका साथ हेरिएको छ । नेपाल प्रहरीमा अहिले ७९ हजार ५ सय ४१ जनशक्ति कार्यरत छन् ।
अब जाउँ, सम्भावित प्रहरी महानिरीक्षकका दाबेदारको पृष्ठभूमितर्फ । अहिले एआईजीको पहिलो वरीयतामा कार्की छन् । तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले पहिलो वरीयतामा बढुवा गरेका कार्की अहिले चर्को विवादमा मुछिएका छन् ।
कार्की जेनजी आन्दोलन सर्वाधिक अराजक भएको २४ भदौमा काठमाडौं उपत्यका प्रहरी प्रमुखका रूपमा हाजिर भएका थिए । उनी हाजिर भएको केही घण्टामै प्रहरीले जिम्मेवारी छाड्दा काठमाडौं उपत्यका नै धुवाँको मुस्लोमय भएको थियो ।
उपत्यकामा अत्यधिक आगजनी र तोडफोड हुँदा उनको मातहतका तीन प्रहरीले पनि ज्यान गुमाएका थिए । भन्नेहरू भन्ने गर्छन्– कार्कीले त्यस दिन सञ्चारसेटबाटै थुनुवाहरू छाड्न र प्रहरीलाई रक्षात्मक हुन निर्देशन नदिएको भए काठमाडौं उपत्यकामा यति विध्न मानवीय र भौतिक क्षति हुने थिएन, प्रहरी कर्मचारीको मनोबल गिर्ने थिएन । त्यस दिन उनले एउटा कमान्डरका हिसाबले नदिनुपर्ने निर्देशन दिएका थिए ।
यति मात्रै नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकाल्ने काममा पनि उनको प्रत्यक्ष सहभागिता रहेको दाबी गरिएको छ । उच्चस्तरीय छानबिन आयोगका प्रवक्तासमेत रहेका पूर्वएआईजी विज्ञानराज शर्माले एउटा अन्तर्वार्तामा ‘एआईजी कार्कीको निर्देशनले प्रहरीले आफ्नो जिम्मेवारी छाड्दा उपत्यकामा ठूलो मात्रामा मानवीय र भौतिक क्षति हुन गएको’ टिप्पणी नै गरेका छन् । यो भनेको एआईजी कार्की आफ्नो दायित्वबाट त्यस दिन पुरै विमुख भएको रूपमा बुझ्न सकिन्छ ।
छानबिन आयोगका प्रवक्ता शर्माको यस्तो टिप्पणीले प्रहरी नेतृत्वमा पुग्ने कार्कीको सपना सपनामै सीमित हुने सम्भावना बढ्दो छ । यति मात्रै नभई प्रवक्ता शर्माले एआईजी कार्कीलाई छानबिनको दायरामा ल्याइने स्पष्टसँग बोलेका छन् ।
अर्कोतर्फ, जेनजी आन्दोलनका बेला जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका एसएसपी विश्व अधिकारीलाई डीआईजी बढुवा सिफारिसमा छुटाइएकाले पनि कार्की प्रहरी नेतृत्वमा पुग्ने सम्भावना अहिले नै कमजोर भइसकेको टिप्पणी पनि गर्न थालिएको छ ।
एसएसपी अधिकारी डीआईजीको पहिलो दाबेदार थिए । एसएसपीको पहिलो वरीयतामा रहेका अधिकारीलाई छाडेर उनीपछिका पाँच जनालाई चार दिनअघि मात्रै डीआईजी बढुवाका लागि सिफारिस गरिएको छ ।
तर, संगठनमा एआईजी कार्कीले इमानदार प्रहरी अधिकृतको परिचय बनाएका छन् । कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । काठमाडौं परिसर प्रमुख हुँदा भुटानी शरणार्थी प्रकरणको मुद्दा उनैले चलाएका थिए ।
कार्कीपछिको वरीयतामा रहेका अधिकारी अहिले प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागको नेतृत्वमा छन् । पूर्वप्रधानमन्त्री ओलीनिकट अधिकृतका रूपमा चिनिएका अधिकारी आईजीपी बन्ने कुनै सम्भावना नरहेको बताइन्छ ।
उनी लो–प्रोफाइलमा बसेर काम गर्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । अक्सर बाहिर चर्चामा आउन नचाहने उनी प्रहरी संगठनभित्र प्राज्ञिक छवि बनाएका प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि लामो समय काम गरेका अधिकारी जागिरे अवधिदेखि अहिलेसम्म विवादरहित तरिकाले काम गर्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन् ।
वरीयतामा उनीहरूपछिका डा. केसीलाई अहिले भावी नेतृत्वका लागि मुख्य दाबेदार मानिएको छ । २०८० सालमा डा. केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा चर्चित भुटानी शरणार्थी प्रकरण बाहिरिएको थियो । २७ वैशाख २०८० मा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई उनकै कार्यालयले पक्राउ गरेको थियो । उच्च राजनीतिक नेतृत्वको दबाबमा लुकाएर राखिएको शरणार्थीको फाइल अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. केसीले खोलेका थिए ।
चर्चित शरणार्थी प्रकरणमा संलग्न आरोपमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’पुत्र प्रतीक थापा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र बिचौलिया बेचन झा अहिले पनि पुर्पक्षका लागि थुनामा छन् । शरणार्थी प्रकरणमा संलग्न केशवप्रसाद दुलाल र सानु भण्डारीसमेत अहिले कारागारमा छन् ।
२०८१ जेठमा डीआईजीमा बढुवा भएपछि प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोमा सरुवा भएका डा. केसी नेतृत्वमा रहेको टिमले पूर्वगृहमन्त्री रामबहादुर थापापुत्र प्रतीक थापालाई पक्राउ गरेको थियो । शरणार्थी प्रकरणमा संलग्न बेचन झालाई पनि विशेष ब्युरोले पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि सरकार नै परिवर्तन भयो । त्यसपछि छायामा परेका डा. केसी बदलिँदो राजनीतिक घटनाक्रमपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखमा कार्यरत छन् ।
उता, डीआईजी र एआईजी बढुवामा पछाडि परेका शाह अहिले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख छन् । जेनजी प्रदर्शनका क्रममा प्रधान कार्यालयस्थित कार्य विभाग प्रमुख रहेका शाहकै कारण प्रधान कार्यालय आगजनी हुनबाट जोगिएको थियो । प्रधान कार्यालय जलाउन आएका प्रदर्शनकारीलाई सम्झाइबुझाइ फर्काएको जस शाहलाई नै जान्छ । प्रहरी महानिरीक्षक खापुङले एउटा कार्यक्रममा यसको जस शाहलाई नै जाने भनेका थिए ।
गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि भारत भागेका दुर्गा प्रसाईंलाई समात्न शाहले मुख्य भूमिका खेलेका थिए । प्रहरी संगठनमा उनलाई मिजासिला र समन्वयकारी प्रहरी अधिकृतका रूपमा चिन्ने गरिन्छ ।
सम्बन्धित समाचार
बालुवाटारमा उच्चस्तरीय सुरक्षा बैठक
केन्द्रीय समितिको म्याद थप्न नहुने काँग्रेस विशेष महाधिवेशन पक्षधरको माग
विदेशीलाई अभद्र व्यवहार गर्ने पक्राउ
कुटपिटबाट बृद्धा महिलाको ज्यान गयो
सकियो यस वर्षको तिहार, सुरु भयो छठ पर्वको रौनक
सीसी टिभी क्यामरामा कैद भएका चोर खोज्दै प्रहरी
बाँकेको नेपालगञ्ज लागू औष्ध कारोबारीका लागि ट्राञ्जिट बन्दै
कात्तिकमै हिमपात, सावधानी अपनाउन अनुरोध






