प्रतिनिधिसभा विघटनमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको वैधानिकतामा प्रश्न उठाएर दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

विभिन्न १६ वटा निवेदनको संवैधानिक इजलासमा बुधबारबाट एकसाथ सुनुवाइ सुरु गरेको अदालतले निवेदकको मागबमोजिम प्रतिनिधिसभा विघटनको निर्णय र अन्तरिम सरकार गठनको निर्णय कार्यान्वयन नगर्न गरिएको मागमा तत्काल यस्तो आदेश जारी गर्न अस्वीकार गरेको हो ।

न्यायिक परीक्षणको घेरामा सरकार

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्माको संवैधानिक इजलासले विपक्षी बनाइएका निकायलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

प्रतिनिधिसभा विघटन र चुनावी सरकार गठन गर्नुपर्ने कारणसहित बाटोको म्यादबाहेक ७ दिनभित्र जवाफ दिन र तत्काल अन्तरिम आदेश जारी नगरी विवादको अन्तिम सुनुवाइमै सबै विवादको निरुपण गर्ने इजलासको आदेश छ ।

संवैधानिक इजलास नियमावलीअनुसार इजलासले मुद्दा या विवादको गाम्भीर्यताअनुसार निश्चित मिति तोकेर जवाफ मगाउन, विवादसम्बन्धी सक्कल फाइल मगाउन सक्छ । तर, इजलासले यस विवादमा प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन’bout भएका निर्णयका सक्कल फाइलसमेत मगाएको छैन ।

बहसका क्रममा कानुन व्यवसायीहरूले भने यस्तो फाइल पनि मगाउन माग गरेका थिए । फाइल नमगाएका कारण कानुनअनुसार लिखित जवाफ पेस भएपछि इजलासले विवाद सुनुवाइका क्रममा पुनः यस्ता फाइल पठाउन आदेश गर्नसक्ने अवस्था बनेको छ । यस प्रक्रियामा जाँदा विवाद सुनुवाइ लम्बिने देखिन्छ ।

रिट निवेदनको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले प्रतिनिधिसभा विघटन र सरकार निर्माण प्रक्रिया संविधान सम्मत नभएको जिकिर गरेका थिए ।

महानगर प्रहरी प्रमुख निलम्बन सदर
उच्च अदालत पाटनले काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दायर गरेको निलम्बन बदरसम्बन्धी रिट खारेज गरिदिएको छ ।

बुधबार उच्च अदालतका न्यायाधीशहरू डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले आफूलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णय खारेज गर्न माग गर्दै दायर गरेको रिट खारेज गरिदिएको हो ।

रिट खारेज भएसँगै गुरागाईंले निलम्बन गर्नेगरी गरेको निर्णय कार्यान्वयन गर्न महानगरलाई बाटो खुलेको छ । महानगरले पाण्डेलाई गत २० जेठमा ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

काठमाडौं भ्युटावर नक्सा पास विवादमा नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले गुरागाईंमाथि अनियमितताको आरोप लगाएका थिए । पछि कार्यकारी गुरागाईं कार्यकक्षमा प्रवेश गर्न खोज्दा पाण्डेले उनलाई कार्यकक्षमा प्रवेश गर्न दिएका थिएनन् । उपप्रमुख सुनिता डंगोल र वडाध्यक्षहरूले उनलाई कार्यकक्षमा प्रवेश गराएपछि पाण्डेविरुद्ध कारबाही सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै