धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी र सेवा करारका कर्मचारी हटाएपछि स्वास्थ्य र शिक्षाको क्षेत्र प्रभावित बनेको छ । कर्मचारी र शिक्षक हटाउँदा स्वास्थ्य संस्था र बालविकास केन्द्र बन्द हुने अवस्थामा पुगेका छन् । गाउँपालिकाले अर्थ मन्त्रालयको पत्र अनुसार नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरवन्दी बाहेकका अस्थायी तथा करारका कर्मचारी राख्न नपाउने पत्र पाएपछि गत असोज २१ गते एक सुचना जारी गरेर अस्थायी र करार कर्मचारीको सम्झौता रद्ध गरेको थियो ।
गाउँपालिकाले सम्झौता रद्ध गरेपछि स्थास्थ्य क्षेत्रमा १५ र शिक्षा क्षेत्रमा २९ कर्मचारी विदा भएका छन् । उक्त निर्णयले स्वास्थ्य क्षेत्र र शिक्षाको क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारी विदा हुँदा वडा नं. २ र ५ का ४ वटा स्वास्थ्य संस्था कार्यालय सहयोगीको भरमा सञ्चालित भएका छन् ।
गाउँपालिकाको वडा २ मा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामूदायिक स्वास्थ्य इकाइ केन्द्र कार्यालय सहयोगीको भरमा रहेका छन् । यस्तै वडा ५ मा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामूदायिक स्वास्थ्य इकाइ केन्द्र पनि कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेका छन् । देशमा आएको पुर्नसंरचनापछि बनेको गाउँपालिकाले स्थास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामूदायिक स्वास्थ्य इकाइ केन्द्र सञ्चालनमा ल्याएको थियो । तर, अहिले गाउँपालिकाकै निर्णय ती कार्यालय सहयोगीको भरमा पुगेका छन् ।
गाउँपालिकाले अस्थायी र करारका कर्मचारीको सम्झौता रद्ध गर्दा १८ जना कार्यालय सहयोगीको पनि सम्झौता रद्ध गरेको थियो । तर कार्यालय सहयोगीको सम्झौता रद्ध गर्दा स्वास्थ्य यी ४ वटा संस्था सहित दुइ वटा वडा कार्यालय बन्द हुने र गाउँपालिका कार्यालय सहयोगी बिहीन हुने अवस्था आएपछि कार्यालय सहयोगीको सम्झौता रद्ध नगर्ने निर्णय गरेको थियो ।
बन्द भएका स्वास्थ्य संस्थामा स्थायी कर्मचारी पठाएर काम सुचारु गर्ने तयारी गरेपनि स्थायी कर्मचारीले नमानेपछि समस्या भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले बताए । डंगोलका अनुसार कार्यपालिका बैठकमा पनि मत नमिलेपछि जनताले पाउने आधारभुत स्वास्थ्य सेवा दिन समस्या भएको छ । स्वास्थ्यको क्षेत्रमा ल्याबको कर्मचारी माथिल्लो सरकारको दरबन्दी नहुने र आवश्यक परेमा गाउँपालिकाले नै राख्ने निती भएअनुसार परेवादिन, ताङ्खुवा र हात्तिखर्क स्वास्थ्य चौकीमा ल्याब असिस्टेन्ट राखेर सेवा दिएकोमा करारका कर्मचारी हटाउँदा सो सेवा बन्द भएको डंगोलले बताए । कार्यपालिकामा सहमति गरेर चाँडो समाधान हुने आशामा रहेको उनको भनाइ छ ।
गाउँपालिकाबाट कर्मचारी हटाएपछि स्वास्थ्य चौकीहरूमा आवश्यक औषधि, प्रयोगशाला सेवा र बर्थिङ सेन्टर (सुत्केरी गराउने २४ घण्टे अनमी सेवा) समेत ठप्प भएपछि स्थानीयले सिटामोलजस्ता सामान्य औषधि पनि समस्या भएको छ । सामान्य औषधी लिने देखि सुत्केरी गराउन धनकुटा सदरमुकाम जानुपर्ने बाध्यता आएको वडा नं. ५ का दलबहादुर लिम्बूले बताए । गाउँपालिकाले अस्थायी र करारका कर्मचारी हटाउँदा स्वास्थ्य सेवा मात्रै होइन, केही बालविकास केन्द्र शिक्षकविहीन बनेका छन भने विद्यायलयमा जनशक्तिको अभाव भएको छ । यस्तै फोहोरमैला व्यवस्थापन लगायतका सेवामा पूर्ण ठप्प भएपछि जोरपाटी र सिधुवा बजारमा फोहोर थुप्रिन थालेको छ । बजारमा फोहोर भएको गुनासो आएकाले समाधानको लागि कार्यपालिकामा छलफल चलाउने वडा नं. ६ का वडाअध्यक्ष दिपक गुरुङले बताए ।
गाउँपालिकाले स्वास्थ्य संस्थामा स्थायी कर्मचारी खटाएर सेवा सुचारु गर्ने तयारी गरेको प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर घिमिरेले बताए । उनले करार र अस्थायी कर्मचारी हटाएको तथ्यांक गाउँपालिका अध्यक्ष बाहेक कसैले दिन नमिल्ने बताउँदै कति कर्मचारी कार्यरत भएको ’boutमा पनि अध्यक्षबाटै जानकारी लिनु आफूलाई जानकारी छैन भन्दै प्रश्नबाट भागे । गाउँपालिका अध्यक्षले आफ्नो कुरा मात्रै आधिकारिकता हुने बताएकाले बोल्न नचाहेको घिमिरेले बताए । यस विषयमा बुझ्न गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बालाई पटकपटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनको निजी मोबाइल नम्बरमा मंगलबार र बुधबार १० पटक फोन गर्दा उनको फोन रिसिभ भएन ।
गाउँपालिकाले वैकल्पिक व्यवस्था नगरि कर्मचारी हटाउँदा सेवा प्रवाहमा समस्या बढ्दै गएको बताइएको छ । संघीय सरकारले विनाकाममा राखिएका प्रदेशका मन्त्री र संसदका सल्लाहकार तथा स्थानीय तहका प्रमुख र उपप्रमुखका सल्लाहकार तथा राजनैतिक नियुक्ति हटाउन परिपत्र जारी गरेपनि छथर जोरपाटी गाउँपालिकाले शिक्षा तथा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुने गरि कर्मचारी हटाएको कतिपयको बुझाई छ ।
सम्बन्धित समाचार
दिक्तेल नगरपालिकाले दरबन्दीबाहेकका कर्मचारी हटाउने
हतुवागढीमा ‘दिमालुङ स्मारकसँगै पार्क निर्माण
बजारीकरणका लागि खोक्सिकमा ‘कृषि बजार’ निर्माण गरिदै
सुन्दरहरैंचामा साथी कम्प्युटर सेन्टरद्वारा क्विज प्रतियोगिता सम्पन्न
विद्यालय घेराबाराँगै संरक्षण गरिएपछि पठनपाठनमा सहज
सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प
लुक्लामा आफ्नै हाइड्रोसहित २५ शैय्याको अस्पताल
मकालु आधार शिविर क्षेत्रमा बर्षा र हिमपात, पर्यटकलाई सचेत रहन प्रशासनको आग्रह






