भानुभक्त–घाँसीको सालिक तोडफोड गर्नेलाई कैद र नगद जरिमाना

लमजुङ । लमजुङ जिल्लामा रहेको भानु–घाँसी संवाद पार्कमा निर्माण गरिएका आदिकवि भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई जिल्ला अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमाना तोकेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–४ को दुईपिप्लेस्थित रिस्ती नदी दोभानमा बनाइएको ‘भानु–घाँसी संवाद पार्क’ र त्यसमा निर्माण गरिएका आदिकवि भानुभक्त र उनका प्रेरणा स्रोत मानिएका घाँसीको सालिक तोडफोड कार्य गर्ने व्यक्तिलाई लमजुङ जिल्ला अदालतले त्यस्तो सजाय सुनाएको हो ।

रिस्ती नदी दोभानको बुद्धि दह (पौडी पोखरी)सँगै भानु–घाँसीको मूर्तिसहित सो पार्कको निर्माण कार्य २०८० साल वैशाखमा पूरा गरिएको थियो । सो पार्कमा निर्माण गरिराखिएका घाँसी अर्थात् खड्कबहादुर ठाडामगरको सालिकको घाँटी छिनालिएको थियो । त्यस्तै आदिकवि भानुभक्तको सालिकको हात भाँचिएको थियो । ती सालिक तोडफोड कार्य रातको समयमा नसाको सुरमा गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको थियो ।

सो कार्य गर्ने प्रमुखकर्ताका रूपमा सोही नगरपालिका–४ दुईपिप्ले गाउँ बस्ने २८ वर्षीय पृथ्वी उपरकोटीलाई तत्कालै पक्राउ गरिएको थियो । प्रहरीले उनीविरुद्ध ‘आपराधिक उपद्रव’ मुद्दा चलाएको थियो । घटनाको अनुसन्धानका क्रममा उपरकोटीले सो अपराध स्वीकार गरेको प्रहरीले त्यसै समयमा जनाएको थियो ।

सरकारवादी रहेको सो मुद्दामा कसुर ठहरेमा ५ वर्ष कैद, ५० हजार रुपैयाँ जरिमाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेकामा दुवै सजायसहित हदैसम्म कारबाहीको माग गरी जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रतिवादी उपरकोटीलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिमाना हुने आदेश दिएको सो अदालतका स्रेस्तेदार रामबाबु गौतमले बताए ।

उनका अनुसार उपरकोटीले जरिमाना रकम तिरेर र कैदमा बसेर पुनरावेदन गर्न सक्छन् । उनले भने, ‘मुद्दाको प्रारम्भिक सुनुवाइ हुँदा उपरकोटी १ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका थिए ।’

उनले पुनरावेदन गर्न चाहेमा जरिमानाको १० प्रतिशत रकम तिरेर ७० दिनभित्र उच्च अदालत पोखरामा पुनरावेदन गर्न सक्ने स्रेस्तेदार गौतमले जानकारी दिए ।

त्यस चौताराको निर्माण कार्य स्थानीय पं. शिवदत्त वाग्लेले गरेको उनका पलाती एवं स्थानीय समाजसेवी महेन्द्रराज वाग्लेले बताए । उनका अनुसार सोही स्थानमा रहेको चौतारामा पहिलोपटक भानुभक्त र घाँसी भेट भई चिनजान गरी बातचित भएको ऐतिहासिक घटनाको स्मरण र नयाँ पिँढीमा सचेतना जागृत गर्न र साहित्यकारहरूमा उत्प्रेरणा जागृतका लागि सो संवाद पार्कको पुनः निर्माण गरिएको हो । उनले भने, ‘त्यो चौतारा पुनर्निर्माण तथा सालिक निर्माण कार्य नेपाल महिला उत्थान संघ सामुदायिक सिकाइ केन्द्र दुईपिप्लेको अध्यक्षसमेत रहेका केशवराज वाग्ले (हाल अमेरिका)ले गरेका हुन् ।’

२०८० साल वैशाखमा पुनर्निर्माण कार्य सम्पन्न गरिएको चौतारा र त्यस क्षेत्रको संरक्षणका लागि पार्कसमेत निर्माण गरिएको हो । करिब १५ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको पार्कसहितको चौतारामा ती दुई सालिक (भानु र घाँसी) निर्माण गर्दा ६ लाख रुपैयाँ खर्च भएको वाग्लेको भनाइ छ ।

करिब १० रोपनी क्षेत्रफलमा रहेको सो पार्कमा पुनर्निर्माण गरिएको चौतारोको संरक्षणका लागि तार जाली लगाउने, ५० जना बस्न मिल्नेगरी ढलान गर्ने, ’round फलफूलका बिरुवा रोप्ने जस्ता कार्य गरिएको महेन्द्र वाग्लेले जानकारी दिए । उनका अनुसार सो कार्यका लागि गण्डकी प्रदेश सरकारबाट १० लाख रुपैयाँ र नगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

सो संवाद पार्कमा निर्माण गरिएका सालिक तोडफोड गरेपछि त्यस घटनाई राजनीतिक रंग दिइएको थियो । फलस्वरूप मध्यनेपाल नगरपालिका–४ मा रहेका ती सालिकको पुनर्निर्माण कार्य १ लाख रुपैयाँ खर्च बेहोरेर वडा नं. १ बाट गरिएको थियो । त्यसरी एउटा वडाको अर्को वडामा बजेट लगेर गरिएको सो खर्च के कसरी अनुमोदन गरिएको हो ? नगरपालिकाले जवाफ दिन सकेको छैन । मध्यनेपाल नगरपालिकाका हालका प्रमुख कार्यकारी अधिकृत त्यो कार्य आफ्नो पालामा नभएको भन्दै उम्कँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको डोजर आतंकबाट त्रसित सुकुम्बासीलाई प्रभु साहको साथ