उदयपुर । बालबिवाहलाई कानुनले दण्डनीय अपराध घोषणा गरेपछि यहाँका अधिकाश छापाखानाहरुमा दुलाहा दुहलीको जन्म मिति अनिवार्य उल्लेख गरि कार्ड छाप्नु पर्ने प्राबधान ल्याएको छ । बालबिवाह न्यूनिकरण गर्न उदयपुरमा बिवाहको निम्तो कार्डमा बेहुला बेहुरलीको उमेर लेख्न अनिवार्य गरेको हो ।
उमेर नपुगी विवाह गर्ने चलन रोक्न यस्तो गरिएको हो । सबैलाई उमेर ’bout थाहा होस् भनेर विवाह कार्डमा जन्ममिति लेख्न अनिवार्य गरिएका हुन । मुलुकी संहिता २०७४ मा बालविवाहलाई दण्डनीय अपराध हुने भएकाले ‘बिहेवारी २० वर्ष पारि’ भन्ने अभियान चलाइएको छ ।
यसो गर्दा पनि बालविवाहका घटना हुने गरेको पाइएपछि जन्ममिति अनिवार्य राख्नु पर्ने नियम बनाइएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरको सक्रियतामा यस्तो नियम लगाइएको हो । सदरमुकाम गाईघाटमा केही दिन यता छापिएका विवाहका कार्डमा बेहुला बेहुलीको जन्ममिति उल्लेख गरिएको पाइन्छ । विवाहको कार्ड छाप्दा छापाखानाले विवाह हुने युवा र युवतीको जन्मदर्ता वा नागरिकता हेरेर जन्ममिति खुलाउन थालेका छन । प्रहरीको सक्रियतामा छापाखानाहरूलाई कार्डमा उमेर खुलाउन अनिवार्य गर्दै पत्राचार गरेका हुन ।
निम्तो कार्डमै जन्नमिति वा उमेर खुलाइँदा बालविवाह कम हुने विश्वास लिइएको छ, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) बीरबाहदुर बुढा मागरले भने, ‘कानुनले बालविवाहमा सहभागी हुने बेहुलाबेहुली, अभिभावक र आफन्त जन्ती सबै कारबाहीको भागीदार हुन्छन । तर निम्तो दिएर आउने आफन्त, जन्तीलाई नै बेहुलाबेहुलीको उमेर थाहा नभएर अनावश्यक दुःख पाउने भएकाले सार्वजनिक रूपमा निम्तो कार्डमै जन्ममिति वा उमेर खुलाउन आह्वान गरेको उनले बताए ।
गत मंसिर २५ गते जिल्ला प्रहरी कार्यालय उदयपुरले बालविवाह भइरहेको अवस्थामा बेहुलाबेहली, आफन्त र जन्तीलाई पक्राउ गरी ल्याएको थियो । त्यस क्रममा जन्तीले विवाहको निम्तो मान्न जाँदा उमेर सोधेर आउने कुरा भएन भन्ने तर्क गरेका थिए । सो घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरले कार्डमै उमेर खुलाउने काममा सक्रियता देखाएको हो ।
सरकार र अभियन्ताले बालविवाह रोक्न लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका थिए । कार्डमा उमेर राख्ने व्यवस्थाले बालविवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न सहयोग गर्ने अभियन्ताले विश्वास लिएका छन । ‘निम्तो कार्ड छाप्दै जन्ममिति उल्लेख गर्दा बालविवाह हो र होइन छुट्याउन सजिलो हुन्छ,’ बालविवाह न्यूनीकरणका अभियान्ता समेत रहेका गैरसरकारी संस्था महासंघ केन्द्रिय सदस्य महेश्वरी राईले भनिन, ‘यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्नेछ ।
मुलुकी संहिता २०७४ मा बालविवाह गरे वा सो कार्यमा संलग्न भएको पाइए तीन वर्ष कैद र ३० हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था छ । उमेर नपुगी विवाह गर्दा शिक्षा र स्वास्थ्यमा असर पर्ने मात्र नभई पछिल्लो समय सम्बन्ध विच्छेदका घटना पनि बढेको प्रहरीको ठहर छ ।
कर्मचारी मिलन केन्द्र, कार्यालय प्रमुखहरूको बैठक र भेलामा विवाहको निम्तो कार्डमा बेहुला र बेहुलीको उमेर खुलेको प्रमाण भए मात्रै विवाहमा सहभागी हुने भन्ने कुरा उठेको हो, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने, ‘बालविवाह न्यूनीकरणका लागि उप्रेरित गर्नका लागि कर्मचारीले विवाहमा सहभागी हुँदा उमेर खुलेको आधारमा मात्रै सहभागी हुने कुरा भएको थियो । तर कार्डमै मिति उल्लेख गर्नु पर्ने अनिवार्य व्यवस्था भने नगरिएको उनले बताए । केही दिन अघि प्रहरीले बालबिवाह भई रहेको सुचनाका आधारमा त्रियुगा नगरपालिकाका २४ वर्षीय भूपध्वज कार्की र वर्ष १९ की लेखाकुमारी थापा सहित अभिभावक पक्राउ परेका थिए । बालविवाह भइ रहेको उजुरी आएपछि प्रहरीले विवाह मण्डपबाटै बेहुलाबेहुली र उनीहरूका अभिभावकलाई पक्राउ गरेको थियो । प्रहरीले बेहुला २४ वर्षीय कार्की, उनका बाबु पदमबहादुर कार्की, बेहुली लेखाकुमारी र उनकी आमालाई नियन्त्रणमा लिएको हो ।
दुलाहा दुलही र अभिभावकलाई नियन्त्रणमा लिए लगत्तै स्थानीय बाल क्लब, स्थानीय जनप्रतिनिधि र प्रहरी समेतको रोहबरमा दुलहीको उमेर २० वर्ष पुगेपछि बिहे गरिदिने सहमति गरेर बेहुलाबेहुलीलाई अभिभावकको जिम्मा लगाइएको हो । मुलुकी संहिताले विवाह गर्न युवतीको उमेर २० वर्ष पुग्नु पर्ने व्यवस्था गरे पनि उमेर नपुग्दै विवाह गर्ने चलन धेरै भएकाले कतिपय दुलाहा दुलही विवाह गरिरहेका बेला कोही मण्डपबाटै र कोही जन्ती जाने क्रममा पक्राउ पर्ने घटना बढ्दै गएपछि प्रहरीले बिवाह कार्डमा नै जन्ममिति राख्ने अभियान चलाएको हो ।