प्रचण्डको नेतृत्वमा १० बाम एक ठाउँ

काठमाडौं । विभिन्न १० वामपन्थी दल र समूह मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ को घोषणा भएको छ । पार्टी एकीकरण घोषणा गर्दै एकीकृत पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाललाई चयन गरिएको छ ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा एकता राष्ट्रिय भेला एवं पार्टी एकता घोषणासभामा अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवको प्रस्तावमा नवगठित पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाललाई सर्वसम्मतले चयन गरिएको हो ।

माधव सहसंयोजक, उच्च वरियतामा अटाएनन् युवा नेता

यादवको प्रस्तावलाई सम्मेलनले सर्वसम्मतरूपमा अनुमोदन गरेको हो । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपाल, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी), चिरन पुन नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी), प्रेमबहादुर सिंह नेतृत्वको नेकपा (समाजवादी) सहित १० पार्टी–समूहका बीचमा पार्टी एकीकरणको घोषणा भएको हो । एकीकृत पार्टीको चुनाव चिन्ह पाँच कुना भएको तारा छ ।

९ बुँदे प्रस्ताव अनुमोदन
नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले एकतासम्बन्धी ९ बुँदे प्रस्ताव पारित गरेको छ । ९ बुँदे प्रस्ताव नेता वर्षमान पुनले पढेर सुनाए । संयुक्त राष्ट्रिय सम्मेलनबाट घोषणापत्र र अन्तरिम विधान २०८२ अनुमोदन गरिएको छ ।

‘एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ, निर्वाचन चिन्ह पाँचकुने तारा राखिने निर्णय गरिएको छ, एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य भएको निर्णय गरेको छ,’ ९बुँदे प्रस्तावमा उल्लेख गरिएको छ ।

एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनका काम गर्ने, यसअगाडि सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजकलाई दिइएको छ । विगतमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछन् ।

पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैंक सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुनेछ । नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान र घोषणापत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ । पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ ।

यसअघि नै यी दलले एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद र नेपाली क्रान्तिको कार्यक्रममा नेपाली विशेषताको वैज्ञानिक समाजवादी रहने सहमति गरिसकेका छन् । यस्तै पार्टीको तत्कालीन कार्यनीति ‘पुँजीवाद–जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिनेछ,’ नेताहरूका बीचमा भएको सहमतिपत्रमा उल्लेख छ ।

केन्द्रीय समितिभित्रको संरचनामा केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ । यस्तै प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुने छ । पार्टीको एकता राष्ट्रिय सम्मेलनले २३ बुँदे घोषणापत्रसमेत पारित गरेको छ ।

जेनजी आन्दोलनले एकता, सादा आचरणको घोषणा
पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नवगठित दल नेकपालाई एक नम्बरको पार्टी बन्नबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । उनले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमार्फत यो पार्टी एक नम्बरको हुने दाबी गरे ।

‘नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर पार्टी बनाउन कसैले रोक्न सक्दैन । प्रतिक्रियावादीलाई निन्द्रा नलागेको होला । नलागे नलागोस् । तर यसो भनेर अहंकारमा जानु हुँदैन । सबैलाई मिलाएर जानुपर्छ,’ सम्बोधनको क्रममा प्रचण्डले भने । यसअघि बोलेका वामदेव गौतमले पनि नेकपाको पार्टी सदस्य ६ महिनाभित्रै २० लाख पुग्ने दाबी गरेका थिए ।

प्रचण्डले जेनजी आन्दोलनकै कारण १० दलबीच एकता सम्भव भएको बताउँदै उनीहरूको भावनाअनुसार काम गर्ने र सादा जीवनलाई अंगीर गर्ने बाचा गरेका छन् ।

प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका प्रमुख नेताहरूसँग भेट्ने इच्छा नभएको भनेर दिएको अभिव्यक्तिप्रति दुःखेसो पोखेका छन् ।

उनले आफूले जेनजीको भावनाअनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको पनि दाबी गरे । सुशीलालाई प्रधानमन्त्री बनाउन र अहिलेको संविधान जोगाउनका लागि आफूले सक्रिय भूमिका खेलेको स्मरण गराउँदै उनले अहिले शीर्ष नेतालाई भेट्न नचाहेको कुराले मनमा चसक्क भएको बताए ।

उत्पादनको जिम्मा बामदेवलाई
प्रचण्डले नयाँ पार्टीमा वामदेव गौतमलाई उत्पादनसम्बन्धी जिम्मा दिने घोषणा गरेका छन् । वामदेवले समाजवादी यात्राको ’boutमा प्रश्न उठाएपछि प्रचण्डले उत्पादनको जिम्मा दिने घोषणा गरेका हुन ।

भरोसाको केन्द्र बनाउँछौँः नेपाल
पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशा र भरोसाको केन्द्र बनेको दाबी गरेका छन् । उनले जनताको मन र विश्वास जित्ने तथा देशको समस्या समाधान गर्न यो पार्टी अघि बढ्ने बताए ।

देश अहिले असाधारण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले मुलुकका समस्या समाधान गर्न अन्य वामपन्थी शक्तिलाई एकतामा आउन आह्वानसमेत गरे ।

खनाल पनि सामेल
पार्टी एकताको गृहकार्य चल्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टी एकताको विपक्षमा उभिएका थिए ।

एमालेमा प्रवेश गर्न उनले मंगलबार राति अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेट गरेका थिए । तर ओलीसँग पार्टी प्रवेश गर्नुअघि राखेको सर्तमा सहमति नजुटेपछि उनले प्रचण्डसँग छलफल गरे । पार्टी एकीकरणको घोषणा हुँदैगर्दा खनाल ढिला गरी कार्यक्रमस्थल भृकुटीमण्डपमा पुगेका थिए ।

पार्टी एकता कार्यक्रममा खनालले कम्युनिस्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता भएको धारणा राखे । आफू कम्युनिस्ट पार्टीको विभाजनको पक्षमा नरहेको स्पष्टीकरण दिँदै उनले नेपालका कम्युनिस्ट पार्टीहरूका बीचमा एकीकरण गरेर समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

खनाल एकीकृत पार्टीको तेस्रो वरीयता क्रममा रहनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

‘मुगलान’को टिजरमा वैदेशिक रोजगारी पीडा