सिन्धुली । जिल्लामा नेगेटिभ ग्रुपको रगतको अभाव भएको छ । पछिल्लो समय रगतको आवश्यकता र माग समेत बढ्दै जाँदा नेगेटिभ ग्रुपको रगत अभाव हुन थालेको हो । अन्य गु्रपको रगतको माग पनि जसोतसो धान्ने अवस्थामा मात्र रहेको छ ।
रगत दिनेको संख्या नबढ्ने र रगतको माग बढ्ने गर्दा जिल्लामा आवश्यक रगतको अभाव हुने संकेतहरु देखिन थालेको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले जनाएको छ । जिल्लामा विशेषतः नेगेटिभ ग्रुपको रगत पाउन अत्यधिक समस्या भएको छ ।
विगत आर्थिक वर्षमा प्रति महिना ४०, ५० पाउण्ड रगतको माग रहेकोमा पछिल्लो समय त्यसको माग अत्यधिक बढेको हो । विशेष गरि सिन्धुली अस्पतालमा विभिन्न शल्यक्रिया सेवा, प्रसुती शल्यक्रिया सेवा र डाईलासिस सेवा प्रभावकारी बनेसँगै रगतको माग पनि बढेको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले सञ्चालन गरेको आकस्मिक रक्त सञ्चार केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार चालु आर्थिक वर्षको साउनमा १३० पाउन्ड, भदौमा १४० पाउण्ड र असोजमा ९० पाउण्ड रगत सिन्धुली अस्पतालमा प्रयोगमा आएको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताएका छन् । उनका अनुसार पछिल्लो समय फ्रेस ब्लडको माग बढीरहेको छ ।
सिन्धुली अस्पतालमा रगतको अभाव हुन नदिन रेडक्रसले रक्तदाताहरुको संख्या बढाउनुपर्ने र रगत संकलन कार्यलाई समेत प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन थालेको जनाएको छ । जसका कारण रेडक्रसले रक्तदानलाई समेत प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको जानकारी दिएको छ ।
महिनामा दुई चोटी रक्तदान कार्यक्रममा सहजीकरण गर्ने गरेको रक्तसञ्चार केन्द्रले अब हप्तामा एक दिन रक्तदान कार्यक्रमको आयोजना गर्नुपर्ने अवस्था आएको जनाएको छ । आवश्यकता र मागका आधारमा रगत दिने व्यक्तिहरुको भने जिल्लामा कमी रहेको उनले बताए ।
रगतको अभाव हुन थालेपछि बागमति प्रदेशका अन्य अस्पताल, बर्दिवास र जनकपुरका अस्पतालमा समेत रगत आपूर्ति गर्दै आएको केन्द्रले जिल्लामा नै केन्द्रीत हुनु परेको श्रेष्ठले बताएका छन् ।
सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार दैनिक ३ देखि ५ पाउण्ड रगत सिन्धुली अस्पतालका विरामीलाई मात्र आवश्यक परिरहेको छ । सिन्धुली अस्पतालमा विशेष गरि शल्यक्रियाका विरामी र रगत कमी भएका विरामीहरु बढेसँगै माग पनि बढेको श्रेष्ठले जानकारी दिए ।
कहिलेकाहिँ रगत नपाउँदा अस्पतालले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट आकस्मिक ब्लड समेत लिने गरेको छ । केहि संस्थाहरुले पनि रगतको तत्कालिन आवश्यकता पुरा गर्न काम गरिरहेका छन् । तर पनि रगतको अभाव भईरहेको उनले बताए । जिल्लामा विशेष गरि नेगेटिभ ब्लडको अभाव हुने गरेको पनि उनले बताएका छन् ।






