अब नयाँ पुस्तासँग हातेमालो गर्ने कि !

लोकतान्त्रिक संरचनामा विद्यार्थी राजनीति सदैव परिवर्तनको मेरुदण्डको रूपमा रहँदै आएको छ । ऐतिहासिक दृष्टिकोणबाट विद्यार्थी आन्दोलनले पार्टीको आत्मा जोगाएको छ, लोकतन्त्र स्थापना गरेको छ र देशलाई अधिनायकवादको अँध्यारोबाट प्रगतिशील प्रकाशतिर डोहो¥याएको छ । आजको युगमा यो भूमिका अझ बढी निर्णायक भएको छ ।

विशेषतः ‘जेनरेसन जेड’, जसले डिजिटल युगमा हुर्केर स्वतन्त्र सोच, विश्लेषणात्मक क्षमता र रणनीतिक दृष्टिकोण पाएका छन् । उनीहरू नेपाली नयाँ दृष्टिकोण, विश्लेषणात्मक सोच र रणनीतिक चेतनासँग पुनर्जागरणको संगीत गुञ्जाइरहेका छन् । ‘जेनरेसन जेड’ शब्दले सामान्यतया ती युवालाई जनाउँछ, जो प्रविधि, डिजिटल माध्यम र विश्वव्यापी सूचना पहुँचको वातावरणबीच हुर्केका छन् । यो पुस्ताले परम्परागत सोचको सीमाबाहिरको दृष्टिकोण राख्छ । स्वतन्त्र विचार, तर्क र प्रमाणमा आधारित निर्णय क्षमता विकास गरेको हुन्छ । उनीहरू केवल भविष्यको मतदाता होइन, वर्तमान राजनीतिक, सामाजिक र आर्थिक प्रक्रियामा सक्रिय सहभागी र विचारक पनि हुन् ।

विभिन्न दलको इतिहासले देखाउँछ कि विद्यार्थी आन्दोलन सदैव नेतृत्व र परिवर्तनको अग्रभागमा रह्यो । तर आज त्यही विद्यार्थी आन्दोलन, जसले कहिल्यै सत्तालाई चुनौती दिन हिच्किचाएन, आफ्नै संगठनभित्र निराश र अवमूल्यन गरिएको आवाज बनेको छ । यही कारण विद्यार्थी संगठन जेनजी पुस्तालाई केवल ‘सहयोगी पंक्ति’का रूपमा होइन, ‘नीति निर्माण र विश्लेषणको प्रबल शक्ति’को रूपमा आत्मसात् गर्नुपर्ने आवश्यकता छ । आजका विश्वविद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी पुस्तकका पाना पल्टाइरहेका मात्र छैनन्, उनीहरू सामाजिक, राजनीतिक र ऐतिहासिक संरचना विश्लेषण पनि गर्दै छन् । भविष्यको नीति निर्माणका लागि रणनीतिक दृष्टिकोण तयार गर्दै छन् तर, दुर्भाग्यवश पार्टी नेतृत्वले उनीहरूलाई पर्याप्त मान्यता र अवसर प्रदान गरेका छैनन् ।

कार्यकर्ता बिहानदेखि बेलुकीसम्म पार्टी विचार प्रचारमा लागिरहन्छन, तर नेतृत्वको प्राथमिक सूचीमा छैनन् । उनीहरूलाई केवल ‘संगठनका कार्यकर्ता’ भनेर सीमित गरिएको छ, जबकि वास्तविकता यथार्थमा उनीहरू ‘भविष्यका निर्णायक निर्माता’ हुन् ।

विद्यार्थीले प्रत्येक आन्दोलनमा अग्रपंक्तिमा योगदान पु¥याएका छन्, पार्टीको झण्डा बोक्छन् र गलत नीतिविरुद्ध आवाज उठाउँछन् । तर, विडम्बना के छ भने उनीहरूका आवाज पुराना नेताको गुटगत चर्को आवाजमा हराइरहेको छ । जेनजी पुस्ता, जसले डिजिटल युगमा हुर्किएको, स्वतन्त्र विचार र विवेकसाथ विश्लेषण गर्ने क्षमता पाएको छ । अब परम्परागत ‘नेताले भन्यो, हामीले मानें’ शैलीको राजनीतिमा विश्वास गर्दैन । उनीहरू प्रश्न गर्छन, बहस गर्छन् जवाफ माग्छन् र सुधार माग गर्छन् । यही प्रश्न गर्ने संस्कृतिलाई पार्टीले ‘अवज्ञा’का रूपमा लिएको छ र यही कारण विद्यार्थी राजनीति संक्रमणको जटिल मोडमा छ ।

लोकतान्त्रिक संरचनामा हरेक राजनीतिक परिवर्तनको प्रथम नेतृत्व विद्यार्थीले गरेका हुन्छन्, तर आज ती विद्यार्थी, जसले देश बदल्ने साहस राख्छन्, संगठनभित्र असन्तुष्ट र निराश बनेका छन् । धेरै क्याम्पसमा पार्टी निष्क्रिय छन्, संगठन अस्थिर छ र विद्यार्थी दिशाहीन छन् । जब पार्टीले विद्यार्थीलाई राजनीतिक विचार र संगठनात्मक नेतृत्व सिकाउनुभन्दा गुटगत स्वार्थमा आधारित नेतृत्व बाँडफाँट गर्छ, तब पार्टीको दीर्घकालीन भविष्य संकटमा पर्छ ।

आजको विद्यार्थी आन्दोलनमा देखिने परिवर्तन नीतिगत जागरण र नैतिक क्रान्तिको संयोजन हो । विद्यार्थीले सडकमा नारा लगाउनेमात्र होइन, तर्क गर्छन्, तोडफोड नगरी प्रश्न गर्छन्, विद्रोह गर्छन्, तर विचारको विद्रोह । यही नै जेनजी शक्ति हो । केवल नारा होइन, तर्क र सुधारको आन्दोलन पनि हो

युवा कार्यकर्ता राष्ट्रका रक्षक र पार्टीका सिपाही दुवै हुन् । तर, नेताका उपेक्षाका कारण उनीहरू निराश छन् । ती युवाका मनमा उर्लिरहेको असन्तोष मौन क्रान्तिको बीउ हो, जसले समय आइपुग्दा पार्टीलाई नयाँ स्वरूपमा पुनर्जन्म गराउनेछ । जेनजी पुस्ता केवल क्रान्तिकारी नाराको पुस्ता होइन, उनीहरू विचारको क्रान्ति ल्याउने पुस्ता हुन् । उनीहरू प्राविधिक रूपमा सशक्त छन्, तर्क र प्रमाणका आधारमा सोच्ने बानी पालेका छन् र राजनीतिलाई केवल ‘सत्ता खेल’ होइन, ‘सार्वजनिक सेवा’का रूपमा हेर्छन् ।

आजको विद्यार्थी आन्दोलनमा देखिने परिवर्तन नीतिगत जागरण र नैतिक क्रान्तिको संयोजन हो । विद्यार्थीले सडकमा नारा लगाउनेमात्र होइन, तर्क गर्छन्, तोडफोड नगरी प्रश्न गर्छन्, विद्रोह गर्छन्, तर विचारको विद्रोह । यही नै जेनजी शक्ति हो । केवल नारा होइन, तर्क र सुधारको आन्दोलन पनि हो ।

देशका राजनीतिक क्षितिजमा ‘लोकप्रियतावादी’ प्रवृत्ति स्पष्ट देखिएको छ । यसले जनताका भावना सक्रियता (अभियानता)मार्फत आकर्षित गर्छ, जसले चुनावी रणनीति र भोटिङ प्रवृत्तिमा ठूलो प्रभाव पार्दछ । राजनीतिक दृष्टिकोणले आहिले ‘लोकप्रियतावाद’ले शक्तिशाली भाषण, सोसल मिडिया अभियान र आकर्षक नारा प्रयोग गरेर जनता वा विद्यार्थीको ध्यान तानिरहेका छन् । यस्ता नेता सकारात्मक नीति निर्माणको सट्टा लोकप्रियता र चुनाव जित्नकेन्द्रित हुन्छन् ।

आगामी चुनावको सन्दर्भमा ‘लोकप्रियतावादी’ नेताले व्यापक जनसमर्थन तान्न सक्छन् । तर उनीहरू वास्तविक राजनीतिज्ञ होइनन्, उनीहरूको लक्ष्य छवि निर्माण, भोटिङ विजय र सत्तामा टिक्नुमात्रै हो । यसरी जित्ने हो भने पार्टीले तत्काल विजय पाउनसक्छ, तर दीर्घकालीन हित र राष्ट्र निर्माणको जिम्मेवारी जोखिममा पर्छ । विद्यार्थी र युवापुस्ताले यसप्रकारको ‘लोकप्रियतावाद’को सतर्कतापूर्वक विश्लेषण गर्नुपर्छ, ताकि नीति र दीर्घकालीन विकास कमजोर नहोस् ।

वर्तमान नेताहरूले बुझ्नुपर्ने कुरा के हो भने पार्टीका विद्यार्थी र जेनजी पुस्ता ‘भविष्यका मतदाता’मात्र होइनन्, उनीहरू अहिलेका नीति र निर्णयका नैतिक निर्देशक पनि हुन् । उनीहरू पार्टी नीति निर्माण, सामाजिक परीक्षण र सुधार प्रस्ताव ल्याउने क्षमता राख्छन्, तर पार्टी नेतृत्वले उनीहरूलाई ‘हामी पछि समाल्छौं’ भनेर टार्दा समस्या गहिरिँदै गएको छ । यसरी टार्दै गएर पार्टीले न आफ्नो भविष्य सुरक्षित गर्न सक्छ, न त लोकतान्त्रिक मूल्यमान्यता जोगाउन सक्छ ।

विद्यार्थी राजनीति केवल नाराबाजी होइन– त्यो विचार निर्माणको विद्यालय हो । तर जब यही विद्यालयमा शिक्षा होइन, गुटबन्दी पढाइन्छ, विद्यार्थी राजनीति दिशाहीन बन्छ । नेविसंघका सैयौं सक्रिय कार्यकर्ता गाउँदेखि सहरसम्म पार्टी विचार प्रचार गर्दैछन्, तर मार्गदर्शन छैन । पुराना नेता उनीहरूलाई ‘सभा र रैलीका भीड’का रूपमा हेर्छन्, तर उनीहरू नै देश र पार्टी दुवैको भविष्य हुन् ।

आजका युवा देश छोड्दै छन् । प्रतिभाशाली, ऊर्जाशील र देश निर्माण गर्ने क्षमता भएका युवा विदेश पलायन भइरहेका छन् । उनीहरू बाहिर अवसर खोज्दै हिँडेका होइनन्, उनीहरू यहाँ अवसर नपाएर जाँदै छन् । राजनीतिक नेतृत्वले युवालाई रोजगारी, सम्मान र भविष्यको विश्वास दिन सकेनन् । जब युवा आफ्नै मातृभूमिमा भविष्य देख्दैनन्, देश जनशून्यमात्र होइन, भावनाशून्य पनि हुन्छ । लाखौं युवा अध्ययन, रोजगार वा स्थायिŒव खोजीमा विदेश गइरहेका छन् र पार्टीहरू चुनावी नारामै व्यस्त छन् ।

जेनजी पुस्ता आफ्नो मातृभूमिमा योगदान दिन चाहन्छ, तर राजनीतिक अस्थिरता, भ्रष्टाचार र अवसरहीनताबीच भविष्य देख्न सकिरहेका छैनन् । जब नेतृत्व गुटगत हितमा फँस्छ, युवाले ‘हामीलाई हाम्रो ठाउँ छैन’ महसुस गर्छ । यही कारण उनीहरू विदेश जान्छन् । उनीहरू स्वप्न बेच्दै होइन, विश्वास हराउँदै छन् ।

विद्यार्थी संघ–संगठनहरू कहिल्यै डरले होइन, विचारले अघि बढ्ने शक्ति हुन् । अहिले इतिहासको संगमबिन्दुमा छ । यसका सदस्य देशका हरेक विश्वविद्यालय, क्याम्पस र विद्यालयमा छन् । उनीहरू नेपालको भविष्यका नीति निर्माता हुन् । सीमित स्रोत, प्रशासनिक दबाब र गुटगत राजनीतिबीच पनि उनीहरू पार्टीका सिद्धान्त जोगाइरहेका छन् । उनीहरू पार्टीका सिपाहीमात्र होइनन्, पार्टीका विचारका संरक्षक पनि हुन् । उनीहरूसँग देश निर्माणको स्पष्ट दृष्टि छ । त्यसैले अब दलहरूले निर्णय लिनुपर्छ– पुरानै शैलीमा अडिने कि नयाँ पुस्तासँग हातेमालो गर्ने ?

यदि जेनजीका आवाज बेवास्ता गरियो भने इतिहासले त्यसको मूल्य महँगो चुकाउनेछ । अबको नेतृत्व उमेरको होइन, दृष्टिकोणको प्रश्न हो । राजनीति विचारको प्रतिस्पर्धा हो, जहाँ युवाले जित्ने छन् । विद्यार्थी आन्दोलन आत्मा हो र जेनजी पुस्ता त्यस आत्माको नयाँ धड्कन । उनीहरूलाई सुन्नु, सिक्नु र सशक्त बनाउनु संगठनका सुधारमात्र होइन, लोकतन्त्रको संरक्षण पनि हो । दलहरूले युवालाई अवसर दिएन भने भविष्यको पुस्ताले नयाँ बाटो रोज्ने छ, जहाँ पार्टी इतिहासमै सीमित रहने छ । लोकतान्त्रिक पुनर्जागरणको साँचो सुरुवात युवाबाटै सम्भव छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बिस्तार