‘बटम टु टप’ अनुसन्धान रणनीतिमा जाँचबुझ आयोग

काठमाडौं । जेनजी आन्दोलन दबाउन मुख्य भूमिका निर्वाह गरेको अभियोग लाग्दै आएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहितका उच्चपदस्थ अधिकारीमाथि आयोगले तत्काल ‘एक्सन’ नलिने भएको छ ।

ओली र लेखकलाई तत्काल नबोलाउने, बोलाउँदा नआए पक्राउ गर्ने

जेनजी अभियन्ताले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न दबाब बढाइरहेका बेला जेनजी आन्दोलनमा भएको हत्या, दमन र मानवअधिकार उल्लंघनका विषयमा जाँचबुझ गर्न बनेको आयोगले यो रणनीति लिएको हो ।

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगको जाँचबुझ रणनीति ‘टप टु बटम’ नभई ‘बटम टु टप’ भएकाले तत्काल उच्चपदस्थ व्यक्ति र पदाधिकारीमाथि जाँचबुझ र अनुसन्धान केन्द्रित नगरिएको बताए ।

तीन महिनाको समयसीमा तोकेर गठन भएको आयोगको आधाभन्दा बढी समय सकिइसकेको छ । तर आयोगले १४ जना प्रहरी अधिकारी, जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेसहित शनिबारसम्म जम्मा १७ जनाको मात्र बयान लिएको छ ।

आयोगको गति सुस्त भएको र उच्चपदस्थमाथि औँला उठाउन नसकेको भन्दै आलोचना भइरहेका बेला आयोगका अध्यक्ष कार्की भने २३ भदौमा गोली चलाउन आदेश दिनेको खोजी गर्न फिल्डमा खटिएका सुरक्षा अधिकारीसँग पहिला बयान लिन जरुरी रहेको बताउँछन् ।

आयोगले एकैपटक उच्चपदस्थलाई बोलाउने भन्दा पनि आन्दोलनका बेला फिल्डमा खटिएकासँग सोधपुछ गर्ने र त्यसपछि गोली हान्न निर्देशन दिने, दमन गर्न निर्देशन दिने, दमन गर्ने र आन्दोलन भड्काउनेसम्मको पहिचान गर्नेगरी काम अघि बढाइएको अध्यक्ष कार्कीको भनाइ छ ।

‘हामी बटम टु टप अवधारणाअनुसार अहिले फिल्डका प्रहरीसँग बुझ्दैछौँ । यो प्रक्रिया प्रमुख जिल्ला अधिकारी, गृहससचिव हुँदै राजनीतिक नेतृत्व र तत्कालीन सरकारको नेतृत्व गर्नेहरूसम्म पुग्ने हो । यसका लागि समय त लागिहाल्छ,’ अध्यक्ष कार्कीले राजधानीसँग भने ।

उनका अनुसार अहिले आयोगले सुरक्षाविज्ञ, समाजशास्त्रीलगायतसँग पनि राय परामर्शलाई समानान्तर रूपमा अघि बढाइरहेको छ । आयोग फिल्डका सिपाहीलाई तर्साउने काममा नभई दमन गर्न र गोली हान्न आदेश कताबाट आयो भनेर पत्ता लगाउन लागिपरेको उनको भनाइ छ ।

‘प्रहरीसँग बुझ्ने प्रक्रियालाई अनावश्यक रूपमा पक्राउ गर्न खोजिएको भन्दै हल्ला चलाइएको छ, यो गलत हो, हामी जाँचबुझकै क्रममा छौँ, उपल्लो तहसम्म पुगेर वास्तविकता पत्ता लगाउन हामी लागिरहेका छौँ,’ कार्की भन्छन् ।

अध्यक्ष कार्कीले तल्लो तहबाट माथिल्लो तहतिर जाँचबुझलाई केन्द्रित गरिएको बताए पनि आयोगले भने अवकाश पाएको भोलिपल्टै आईजीपी चन्द्रकुवेर खापुङलाई स्थानहद गरेको छ ।

आयोगका सदस्य विज्ञानराज शर्माका अनुसार अवकाशमा गएपछि कतै जानसक्ने भएकाले स्थानहद गरिएको उनको भनाइ छ । ‘पदमै हुँदा पनि हामीले स्पष्टीकरण सोधेका हौँ । अवकाश भएपछि कहीँ जान सक्नुहुन्छ, बाहिर जानुभयो भने बयान अवरुद्ध हुन्छ भनेर उहाँलाई काठमाडौं नछाड्न भनिएको हो,’ शर्माले भने ।

उनका अनुसार प्रहरी अधिकारी, प्रमुख जिल्ला अधिकारी, गृहसचिवलगायतसँग जाँचबुझ सकेपछि तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलगायतमा जाँचबुझ केन्द्रित हुनेछ ।

आयोग स्रोतका अनुसार ओली र लेखकलाई बयानका लागि पत्राचार गर्ने र बोलाइएको समयमा उपस्थित नभए पक्राउ गरेर भए पनि बयान लिने तयारी आयोगले गरिरहेको छ ।

जेनजी आन्दोलनका बेलाका प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले भने आयोगसमक्ष बयान दिन नजाने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

मनराम–एसकाज पत्रकारिता पुरस्कार पोखरेललाई