निर्माता संघको अध्यक्षमा उदय र सुनिलको उम्मेदवारी

काठमाडौ‌ । नेपाली चलचित्र निर्माताहरूको छाता संस्था ‘नेपाल चलचित्र निर्माता संघ’मा चुनावी सरगर्मी बढेको छ । संघको यही सोमबार १ मंसिरमा आयोजना हुने चुनावी अधिवेशन नजिक आएसँगै निर्माताहरू चुनावी अभियानमा सक्रिय भएका हुन् ।

अहिले संघको अब बन्ने नयाँ कार्यसमितिको लागि दुई वटा प्यानलको उम्मेदवारी गरेको छ । संघको हालका वरिष्ठ उपाध्यक्ष उदय कुमार सुब्बा इङनाम र महासचिव सुनिल कुमार थापाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । यी दुवैको आ आफ्नै प्यानलबाट कार्यसमिति पदाधिकारीको उम्मेदवारी परेको छ । शनिवार परेको उम्मेदवारीमा कोषाध्यक्ष र कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् ।

सोमबार हुने संघको १९ औँ अधिवेशनले तीन वर्षको लागि संघको नयाँ नेतृत्व चयन गर्ने भएको छ । जसका लागि संघमा अध्यक्षका उम्मेदवार सुनिल कुमार थापाको प्यानलबाट किरण नेपालीले महासचिवमा उम्मेदवारी दिएका छन् भने यो प्यानलबाट उपाध्यक्षमा ज्योति राज राई र सचिवमा युवराज गिरीको उम्मेदवारी परेको छ ।

यसै गरी अध्यक्षका अर्का उम्मेदवार उदय कुमार सुब्बाको प्यानलबाट महासचिवमा खगेन्द्र प्रसाद लामिछानेले, उपाध्यक्षमा दीपेन्द्र के खनाल र रौनक विक्रम कँडेलले, सचिवमा किसान पोखरेलले उम्मेदवारी दिएका छन् । संघको दुई उपाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको हो ।

शनिबार दिइएको उम्मेदवारीमा संघको कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध चयन भएका छन् । यस्तै संघको कार्यसमिति सदस्यहरू पनि निर्विरोध चयन भएका छन् । चयन भएका कार्यसमिति सदस्यहरू श्रीधर पौडेल, राज कुमार पण्डित, चम्बन जंग शाही, टंक बुढाथोकी, मनोज कुमार अधिकारी, धर्मेन्द्र थपलिया र प्रविण कार्की रहेका छन् ।

तीन सय जना भन्दा बढी मतदाता रहेको नेपाल चलचित्र निर्माता संघका सदस्यहरूको भनाइमा उनीहरू विदेशी चलचित्रको अतिक्रमणबाट बढी प्रभावित छन् । निर्माता संघ हुँदा हुँदै पनि चलचित्र प्रदर्शनको क्रममा चलचित्र घर सञ्चालकहरूले नेपाली चलचित्रलाई उपयुक्त अर्थात् ‘प्राइम टाइम’को सोजहरू नदिएर विदेशी चलचित्र प्रदर्शनलाई बढी महत्त्व दिने गरेको, चलचित्र रिलिज पछि वितरकबाट तोकिएको समयमा आफ्नो शेयरको रकम प्राप्त नहुने गरेको, राज्यबाट निर्माताहरूलाई दिनु पर्ने सुविधा एवम् सहुलियनहरू प्राप्त नभएको जस्ता धेरै गुनासाहरू छन् ।

अध्यक्षका उम्मेदवार तथा हालका वरिष्ठ उपाध्यक्ष उदय कुमार सुब्बाले अहिले पनि आफूहरूले निर्माताहरूको समस्याका ’boutमा चलचित्र घर सञ्चालकहरूसँग नियमित रूपमा वार्ता गरेर धेरै समस्याहरू समाधान गर्दै आएको जिकिर गरे । नयाँ चलचित्र ऐन बनेपछि निर्माताहरूका धेरै समस्याहरू समाधान हुने भएकाले सो ऐनको लागि आफ्नो कार्यकालमा विशेष पहल हुने पनि उनले बताए । अन्य समस्यालाई पनि एकपछि अर्को गर्दै समाधान गर्ने पनि उनले बताए ।

अध्यक्षका अर्का उम्मेदवार तथा हालमा महासचिव सुनिल कुमार थापाले आफ्नो पहिलो प्राथमिकता नेपाली चलचित्रको प्रदर्शनीमा देखिएका समस्याको समाधान तर्फ नै हुने बताएका छन् । यो सहित निर्माताहरूमा देखिएका अन्य समस्याहरूलाई पनि क्रमशः समाधान गर्ने पनि उनको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ : प्रधानमन्त्री कार्की