साइकल लेनमै पार्किङः खाली गर्न खोज्दा उद्योग वाणिज्य संघको अवरोध

धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीको धनगढीका सडकमा बनाइएका साइकल लनमै पार्किङ गर्ने गरिएको छ । यसले सवारी आवतजावतमा समस्या हुनेगरेको छ ।

धनगढी उपमहानरपालिकाले ६ लेन सडक र ट्राफिक चौराहादेखि कालाली पुलसम्मको सडक र सहीदगेट–क्याम्पस चोक सडकमा साइकल लेन निर्माण गरेको छ । तर ६ लेन सडकबाहेक अन्यत्र साइकल लेनमै सवारी साधन पार्किङ गरेको देख्न सकिन्छ ।

शनिवार धनगढी उपमहानगरपालिकाले साइकल र्याली आयोजना गरेको थियो । उक्त र्यालीका केही सहभागीले साइकल लेनमा पार्किङ हुने गरेकाले साइकल चलाउनेलाई समस्या हुने गरेको गुनासो गरेका छन् । धनगढीमा साइकल चलाउन पूर्वाधार बने पनि प्रयोग गर्न समस्या भएको साइकल यात्रीहरुको गुनासो छ ।

धनगढीको मुख्य सडकको साइकल लेनमा दुई पांग्र्रे र चार पांग्रे सवारी साधन पार्किङ गरेको देखिन्छ । केही ठाउँमा भने पैदलयात्रीका लागि निर्माण भएको पैदलमार्गमा समेत सवारी साधन राख्ने, पसलको सामान र निर्माण सामग्री राख्ने गरिएको छ ।

सर्वसाधारणले साइकल लेन र फुटपाथ प्रयोग गर्न समस्या हुने गरेको गुनासो गरे पनि साइकल लेन र फुटपाथमा सवारी सधान रोक्ने क्रम रोकिएको छैन । कैलाली जिल्ला ट्राफिक प्रहरीले साइकल लेन खाली गर्ने अभियान चलाउन खोज्दा स्थानीय व्यवसायी र कैलाली उद्योग वाणिज्य संघले काम गर्न अवरोध गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

स्थानीय व्यापारीहरूको आग्रहमा कैलाली उद्योग वाणिज्य संघले साइकल लेन खाली गराउने ट्राफिक प्रहरीको अभियानलाई बन्द गरेको पाइएको छ । कैलाली जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चक्रबहादुर देउवाले साइकल लेन खाली गर्ने अभियान चलाउँदा उद्योग वाणिज्य संघले विरोध गरेको बताए ।

उनले आफू सरुवा भएर आउनासाथ साइकल लेन खाली गराउने अभियान चलाएको र विरोध आएपछि पछि हटेको बताए । ‘हामीले साइकल लेन खाली गर्ने प्रयास गरेका हौँ । एक दुई दिन लेन खाली पनि गराएको हो । साइकल लेन खाली गराउँदा बिरोध भएपछि हामीले खाली गराउन छोडेको हो,’ ट्राफिक प्रहरी निरीक्षक देउवाले भने । ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ र नगरपालिकाको प्रतिनिधि बसेर छलफल हुँदा अहिलेलाई साइकल लेनका सवारी साधन हटाउन बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख देउवाले बताए ।

यता धनगढी उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले छलफलमा सहभागी भएको कुरा आफ्नो जानकारीमा नभएको बताए । उनले साइकल लेन ’bout भएको छलफलमा आफू नगएको बताएका छन् । कुनै प्रतिनिधि गएको भए बुझ्ने उनले बताएका छन् ।

ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी यातायात व्यवस्थापन भए पनि धनगढीको मुख्य सडकमा गरिने अनधिकृत पार्किङ हटाउन ट्राफिक प्रहरीले ध्यान नदिएको सर्वासाधारणले बताएका छन् । धनगढीमा नियमित साइकल चलाउनेहरूले सबै ठाउको साइकल लेनमा निर्धक्क भएर साइकल चलाउन पाउनुपर्ने बताएका छन् ।

ट्राफिक प्रहरीले स्थानीय व्यापारी र उद्योग वाणिज्य संघको दबाब थेग्न नसकेर नगरपालिकालाई देखार जिम्मेवारीबाट उम्किने प्रयास गरेकोले साइकल लेन पार्किङ स्थल बनेको एक जना साइकल यात्रीले टिप्पणी गरे । उनले ट्राफिक प्रहरीले व्यापारीलाई देखार पन्छिन नमिल्ने तर्क गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघको अगुवाईमै साइकल लेन खाली गर्ने अभियान स्थगित भएको ट्राफिक प्रहरीको भनाइ छ । कैलाली उद्योग वाणिज्य संघले भने ट्राफिक प्रहरीलाई थोरै व्यवहारिक हुन आग्रह गरिएको जनाएको छ ।

संघका अध्यक्ष पुस्करराज ओझाले स्थानीय व्यवासायीको समस्या ध्यानमा राखेर साइकल लेनको सन्दर्भमा थोरै व्यवहारिक हुन आग्रह गरिएको बताए । ‘स्थानीय व्यवसायीको गुनासो आएपछि हामीले ट्राफिक प्रहरीलाई व्यवहारिक भइदिन आग्रह गरेका हौँ । थोरे समयका लागि सवारी पार्किङ गर्न दिनुपर्यो भनेका हौँ,’ उनले भने, ‘पसलमा आउने ग्राहकको सवारी साधन रोक्न दिनु पर्यो भनेको हौँ । ट्राफिक प्रहरी, नगरपालिकाका प्रतिनिधि र व्यावसायीबिच उद्योग वाणिज्य संघमै छलफल भएको हो ।’

पैदलयात्री र साइकल यात्रीलाई समस्या हुने गरी साइकल लेन र फुटपाथमा हुने पार्किङ हटाउन ट्राफिक प्रहरीले काम गर्नुपर्ने बताइएको छ । ट्राफिक व्यवस्थापनको प्रमुख जिम्मेवारीबाट ट्राफिक प्रहरीले पन्छिन नमिल्ने साइकल यात्रीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

epaper

ताजा समाचार

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा