काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालका काकालाई बढुवा गर्न मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरी बलको दरबन्दी नै संशोधन गरिएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको दरबन्दी संरचना तथा तेरिज स्वीकृत गरेको हो ।
सशस्त्र प्रहरीमा कानुनतर्फका एसएसपी रहेका युवराज अर्याललाई डीआईजी बनाउन गृहमन्त्री अर्यालको प्रस्तावमा मन्त्रिपरिषद्ले नयाँ दरबन्दी सिर्जना गरेको पाइएको छ । गृहमन्त्री अर्याल र एसएसपी अर्यालका हजुरबुबा एउटै हुन् ।
गुल्मी जिल्ला ईश्मा गाउँपालिका–६ का गृहमन्त्री अर्याल र एसएसपी अर्याल नातामा काका–भतिज हुन् । एसएसपी युवराज कानुन समूहतर्फका एक मात्र बढुवा दाबेदार हुन् । यसअघि कानुनतर्फ एसएसपीसम्मको मात्रै दरबन्दी रहेकामा काकालाई डीआईजी बनाउन गृहमन्त्रीले कानुनसहित तीन नयाँ दरबन्दी सिर्जना गरेका हुन् । एसएसपी अर्यालको पदावधि अब साढे २ वर्ष बाँकी छ ।
कानुनतर्फ एक मात्र दाबेदार भएकामा अन्य दुई डीआईजीका लागि भने विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्युरोबाट बढुवा गरिने दरबन्दी संरचना तथा तेरिजमा उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरीमा हाल २६ जना एसएसपी छन् । २६ मध्ये कानुनतर्फका भने अर्याल एक मात्र दाबेदार हुन् । मन्त्रिपरिषद्ले एसएसपीको नेतृत्वमा रहने इन्टेलिजेन्स ब्युरोमा पनि डीआईजीको दरबन्दी राख्ने निर्णय गरेको छ । त्यसैगरी, एसएसपीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन महाशाखालाई अब डीआईजीको नेतृत्वमा विपद् व्यवस्थापन निर्देशनालय बनाउने प्रस्ताव छ । डीआईजीले नेतृत्व गर्ने ब्युरो र निर्देशनालयमा भने बाँकी २५ एसएसपीबीच प्रतिस्पर्धा हुनेछ ।
सशस्त्रमा चिकित्सक र इन्जिनियर पूर्ण प्राविधिक समूह हुन् भने कानुन सेमीप्राविधिक हो । सशस्त्रमा प्राविधिकतर्फको उपल्लो पद एसएसपीसम्म मात्र छ । एसएसपी अर्याल प्राविधिकतर्फका भएका कारण उनलाई डीआईजी बनाउनकै लागि कानुनतर्र्फ डीआईजी पद सिर्जना गरिएको हो । नेपाल प्रहरीमा यही समूहको उपल्लो नेतृत्वमा एसपीको दरबन्दी छ ।
बढुवाका लागि अर्यालसँग छैन १५ महिने तालिम
सशस्त्र प्रहरीमा डीआईजी बढुवा हुनका लागि स्टाफ कलेज कोर्स गर्नुपर्ने व्यवस्था छ । साविक एसएसपी पदमा रहेका अर्यालको स्टाफ कलेज कोर्स नहुँदा डीआईजी हुने योग्यतामा प्रश्नचिह्न उठ्ने देखिएको छ ।
एसएसपीबाट डीआईजीमा बढुवा हुनुअघि १५ महिने स्टाफ कलेज कोर्स अनिवार्य पास गरेको हुनुपर्ने कानुनी व्यवस्था छ । तर, अर्यालले हालसम्म यो कोर्स भने नगरेको सशस्त्र प्रहरी बल स्रोतको दाबी छ ।
२०५५ सालमा नेपाल प्रहरीको असईबाट सेवा प्रवेश गरेका अर्याल २०५९ सालमा सशस्त्रतर्फ इन्स्पेक्टर भए । उनी २०७२ सालमा कानुन र लेखा उपसमूह बन्दा कानुनतर्फ पुगेका थिए । यस विभागमा २०७२ सालपछि अर्यालले नै कमान्ड सम्हाल्दै आएका छन् ।
सम्बन्धित समाचार
फेरि मुठभेड र घृणाको राजनीतितर्फ देश
यी हुन् मन्त्रीपरिषद् बैठकका ७ निर्णय
‘मौखिक आदेश’मा कार्यवाहक हाँक्दै छन् पूर्णबहादुर
कोशीमा भयावह भन्दै लागू औषध कारोबार
भ्रष्टाचारका अखडा बन्दै सामुदायिक विद्यालय
लागू औषधसहित फार्मेसी संचालक दम्पती पक्राउ
मधेशका मुख्यमन्त्रीको समर्थनमा एमालेको धर्ना
इटहरीमा ९ दिनदेखि हराएकी मञ्जुको शव सर्दुको खोल्सामा






