कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । बिहीबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो । चितवनले भने लगातार दोस्रो जित हासिल गर्ने मौका गुमाएको छ ।
पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको चितवनको दोस्रो संस्करणमा पहिलो हार हो । पहिलो सिजनमा खराब प्रर्दशन गर्दै मात्र एक खेल जितेको लुम्बिनीले त्यसबेला पनि चितवनलाई नै हराएको थियो । सोही इतिहास यसपटक पनि दोहो¥याउने क्रममा १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४ विकेटको क्षतिमा १८ दशमलव ३ ओभरमै लक्ष्य भेट्टायो ।
लुम्बिनीका लागि अफगानिस्तानका खेलाडी गुल्बादिन नइबले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । नइबसँग कप्तान रोहितकुमार पौडेलेले चौथो विकेटका लागि ६० रनको पार्टनरसीप गरे । रोहितले ४४ बलमा १ चौकासहित ३९ रन बनाए । लुम्बिनीका ओपनर सन्दीप जोराले २८ रन बनाए । उनले १८ बलमा ४ चौका प्रहार गरे । सन्दीप रिजन ढकालको बलमा कप्तान कुशल मल्लबाट क्याच भए । त्यसअघि अर्का ओपनिङ ब्याटर डार्सी सर्ट ११ रनमा आउट भए । ६ बलमा १ छक्का र १ चौका प्रहार गरेका डार्सीलाई चितवनका रिजन ढकालले बोल्ड गरे भने दिलीपनाथ १० रनमा आउट भए । उनी दुई रन लिने क्रममा १५ बल खेल्दै रनआउट हुन पुगे ।
बलिङमा चितवनका रिजनले २ विकेट लिए भने सोहेल तनवीरको नाममा थप १ विकेट रह्यो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो ।
चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । अघिल्लो खेलमा कर्णालीविरुद्ध पनि अर्धशतक नै बनाएका बोपराले बिहीबार लुम्बिनीविरुद्ध ५५ बलमा ४ चौका र ३ छक्कासहित ६६ रनको योगदान दिए ।
इंग्गल्यान्डका ब्याटिङ अलराउन्डर बोपारा १९ दशमलव २ ओभरमा गुल्बादिन नइबको बलमा दिलीपनाथबाट क्याच आउट भए । उनले कर्णाली याक्सविरुद्धको खेलमा ५२ रन बनाएका थिए । पहिलो संस्करणको एनपीएलमा पनि उनले तीन अर्धशतक प्रहार बनाएका थिए । बोपारा सर्वाधिक रन बनाउने ब्याटरको शीर्ष स्थानमा पुगेका छन् । गत सिजन २ सय ८६ रन बनाएका उनले यसपटक २ खेलमै १ सय १८ रन प्रहार गरिसकेका छन् ।
चितवनका लागि कप्तान कुशल मल्लले २१ रन बनाउँदा सैफ जैबले १५ रन तथा देव खनालले १४ रन बनाउनेबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । ओपनिङ ब्याटर डविन मलान इनिङग्सको दोस्रो बलमै शून्य रनमा नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानबाट बोल्ड आउट भए । अर्का ओपनर दीपक बोहराले १२ बलमा १० रन मात्र बनाउनसके । लयमा देखिएका लुम्बिनीका ट्रम्पलम्यानले कुशल र सइफलाई पनि क्याच आउट गराएका थिए । खेलमा ५ बलको सामना गरेका अर्जुन साउद अविजित रहे भने सोहेल तन्विरले ५ रन बनाए । उनी अन्तिम बलमा आउट भएका थिए ।
बलिङमा लुम्बिनीका ट्रम्पलम्यानले सर्वाधिक ३ विकेट लिए । ४ ओभरमा २३ रन खर्चिएर उनले ३ विकेट लिएका थिए । अन्य विकेट अभिषेस गौतम र गुल्बादिन नइबले लिए । उनीहरू दुवैले २–२ विकेट हात पारे ।
पोखरा र सुदूरपश्चिम भिड्दै
एनपीएल लिगमा शुक्रबार (आज) पनि एक मात्र खेल हुँदै छ । अपराह्न ४ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएकाले आज पहिलो जितको खोजीमा हुनेछ । यस्तै, पहिलो खेलमा जित निकालेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । सुदूरपश्चिमले काठमान्डु गुर्खाजलाई २ रनले हराएको थियो ।
सम्बन्धित समाचार
सिद्धार्थ बैंक एनपीएलको दोस्रो संस्करणमा पनि एनसेलको सहकार्य
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा
सिद्धार्थ बैंक एनपिएल : आज जनकपुर र काठमाडौं भिड्दै
उद्घाटन खेलमा काठमान्डु गोर्खाज विजयी
कीर्तिमानी रनसहित विराटनगरको रोमाञ्चक जित
सुदूरपश्चिमको सानदार सुरुवात
नेपालगन्ज म्याराथन विजेतालाई २ लाख रुपैयाँ
सुन्दरहरैंचामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण एनी गछिया गोल्डकप हुने






