भोजपुर । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । एक सय ३९ मिटर उचाई रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो ।
भोजपुर जिल्लाको सवै भन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोशी प्रदेश सरकारको बजेटमा पदमार्ग निर्माणसँगै आवश्यक संरचना निर्माण गरिएको छ । झरनाको संरक्षणसँगै यसको प्रचार प्रसारमा जोड दिइएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले बताए । यो स्थानलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने उद्धेश्यका साथ विकासमा जोड दिएको उनको भनाइ छ ।
‘छाँगे झरनाको विकास तथा संरक्षणमा जुटेका छौँ’ प्रमुख उदासले भने‘झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर बाटोसँगै आवश्यक संरचना निर्माण गरेका छौँ । यो झरना हाम्रो नगरको एक महत्वपूर्ण पर्यटकीय स्थल हो ।’
यहाँका धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटेर एकिकृत विकासमा जोड दिएको प्रमुख उदासले जानकारी दिए। सतीघाटमा रहेको सती ढुङ्गाको संरक्षणबाट कुन्सालिङ डाँडा, हाँस पोखरी साउने डाँडा हुँदै, छाँगे झरना र त्यहाँबाट नेपाले डाँडाको ओम्मकार शक्ति पिँठ, योगमायाको समाधी स्थल मजुवाबेँसीलाई समेटेर एकिकृत पर्यटकिय क्षेत्रको रुपमा बृहत्तर विकास गर्ने योजना रहेको प्रमुख उदासले बताए ।
यो झरना हेर्न आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । देश तथा अन्तराष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको श्रोत बन्ने स्थानीयबासी सुरज बस्नेतले बताए । झरना भएको स्थलमा खानेपानीको व्यवस्थासँगै बस्नका लागि फलैचाहरुसमेत निर्माण गरिएपछि पर्यटकहरुलाई सहजता भएको उनको भनाइ छ।
‘छाँगे झरनाको संरक्षण भएपछि पर्यटकको सङ्ख्या बढेको छ’बस्नेतले भने‘यसको उचित विकाससँगै देश विदेशमा चिनाउन सकिएको छैन । यो झरना हाम्रो क्षेत्रको प्रकृतिको उपहार नै हो ।’
माथीबाट झरेको पानीको फोहोराले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । स्थानीयहरुले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् ।यो स्थान पर्यटकीयसँगै धार्मिक क्षेत्र रहेकोले यसको विकासमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।
ओझेलमा परेका यस्ता पर्यटकिय स्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय गणेश अधिकारीले बताए । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनु पर्ने स्थानीयबासीहरुको भनाइ छ ।
सम्बन्धित समाचार
भोजपुर खोक्सिकका ९५ प्रतिशत नागरिक केन्द्रीय विद्युतको पहुँचमा
विद्यार्थीलाई अभ्यासमूलक व्यवहारिक शिक्षा दिँदै ‘यशोधरा’
धार्मिक पर्यटकीय स्थल गङ्गा खोला संरक्षणमा जुट्दै स्थानीयबासी
खोटाङको बुँवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा
डोका बिक्रीबाट मनग्य आम्दानी
खोटाङ र उदयपुर जोड्ने बंङसीलाघाटको पुल अलपत्र
स्थानीय तहले हटाए करारका कर्मचारी






