बूढीगण्डकी र अपर अरुणको लगानी मोडालिटी तयार

काठमाडौं । नेपाल सरकारले बहुप्रतिक्षित राष्ट्रिय गौरवका दुई प्रमुख जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार गरेको छ । १ हजार २ सय मेगावाटको बूढीगण्डकी र १ हजार ६३ मेगावाटको अपर अरुणका लागि प्रस्तावित लगानी मोडालिटी तयार भएको हो ।

दुवै आयोजनामा टुंगो लागेको मोडालिटीले अब निर्माण चरणमा यथाशीघ्र प्रवेश हुनसक्ने विश्वास गरिएको छ । बूढीगण्डकी आयोजना धादिङ र गोरखा जिल्लामा रहेको बूढीगण्डकी नदीलाई कृत्रिम ताल निर्माण गरेर बनाउन लागिएको हो । यसको आधारभूत लागत लगभग २ अर्ब ७७ करोड अमेरिकी डलर अर्थात् करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । निर्माण अवधि लगभग ८ वर्ष रहने योजना बनाइएको छ । निर्माण अवधिमा लाग्ने ब्याजसहित कुल लागत करिब ४ खर्ब ६ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

वित्तीय संरचनामा ७० प्रतिशत कर्जा, ३० प्रतिशत स्वपुँजी (इक्विटी) राख्ने मोडेल तय गरिएको छ । प्रवर्धक कम्पनी बूढीगण्डकी कम्पनी लिमिटेडमा नेपाल सरकारले ८० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणले २० प्रतिशत सेयर राख्ने प्रस्ताव छ ।

सरकारबाट इक्विटीका रूपमा करिब ९७ अर्ब ४७ करोड रुपैयाँ र सहुलियतयुक्त कर्जामार्फत १ खर्ब ५० अर्ब रुपैयाँसम्मको लगानी गर्ने प्रस्ताव गरिएको छ । यसैगरी, अहिलेसम्म सरकारले यस आयोजनामा गरेको करिब ४५ अर्ब रुपैयाँको प्रारम्भिक लगानीलाई कम्पनीमा सेयरमा रूपान्तरण गर्ने योजना पनि प्रस्ताव गरिएको छ । भारलाई लगानी कम गर्न र सहभागिता बढाउन ऊर्जा बन्ड जारी गर्ने प्रस्ताव पनि छ । ३० अर्ब रुपैयाँबराबरको ऊर्जा बन्ड प्रस्ताव गरिएको छ, जुन बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र सार्वजनिक कोषद्वारा खरिद गर्न सकिनेछ ।

बूढीगण्डकीमा इक्विटीबापत ९७ अर्ब ४७ करोड र सहुलितपूर्ण कर्जाबापत १ खर्ब ५० अर्ब गरी कुल २ खर्ब ४८ अर्ब रुपैयाँ लगानी सरकारको रहनेछ । आयोजनाको निर्माणका क्रममा भन्सार तथा मूल्य अभिवृद्धि करबापतको रकमसमेत सरकारले यस आयोजनामा लगानी गर्नुपर्ने प्रस्ताव छ । पेट्रोलियम पदार्थको आयातमा भन्सार विन्दुमा लगाउँदै आएको पूर्वाधार करको ५० प्रतिशत रकम आयोजनामा लगानीका लागि छुट्याउने प्रस्ताव गरिएको छ ।

हालसम्मको लगानी घटाउँदा आयोजनामा सरकारको लगानी हुने २ खर्ब २८ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिनुपर्नेछ । प्राधिकरणले आयोजनामा इक्विटीबापत २४ अर्ब ३७ करोड रुपैयाँ लगानी गर्नेछ । वित्तीय लागत घटाई आयोजनालाई सम्भाव्य बनाउन सरकारको सहजीकरणमा अनिवार्य तरलता अनुपातमा गणना हुनेगरी ३० अर्ब रुपैयाँको ऊर्जा बन्ड जारी गर्न प्रस्ताव गरिएको छ ।

सो बन्ड बैक तथा वित्तीय संस्था, बिमा तथा पुनर्बिमा कम्पनी र सार्वजनिक कोषले खरिद गर्न सक्नेछन् । बैक तथा वित्तीय संस्थाबाट १ खर्ब ४ अर्ब रुपैयाँ ऋण प्रवाह हुनेछ । कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बिमा तथा पुनर्बिमा कम्पनी, एचआईडीसीएल, नेपाल टेलिकम र वाणिज्य बैंकहरूको सहवित्तीयकरण मार्फत उठाउने प्रस्ताव गरिएको छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र टेन्डर कागजात तयारी अवस्थामा रहेका छन् । आयोजनाको सबैभन्दा जटिल मानिएको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत छ । जग्गाको मुआब्जा, संरचना, बोटबिरुवा तथा फलपूmको क्षतिपूर्तिबापत जग्गाधनीलाई ४२ अर्ब ६५ करोड रुपैयाँ वितरण गरिएको छ । आयोजनाबाट भौतिक तथा आर्थिक रूपमा गोरखा र धादिङका ८ हजार १ सय १७ घरपरिवार प्रभावित हुनेछन् । यसमध्ये ३ हजार ५ सय ६० घरपरिवार पूर्ण रूपमा विस्थापित हुनेछन् ।

काठमाडौं, चितवन, पोखराजस्ता विद्युत् भार (लोड) सेन्टरबाट नजिक रहेका कारण पनि बूढीगण्डकी ऊर्जा सुरक्षाका दृष्टिकोणबाट रणनीतिक महत्वको रहेको छ । गोरखा र धादिङ जिल्लाको सीमा भएर बग्ने बूढीगण्डकी नदी थुन्नका लागि २ सय ६३ मिटर अग्लो कर्भेचरयुक्त आर्च बाँध बनाइने छ । जसबाट धादिङका साविकका १४ गाविस (हाल ४ गाउँपालिका तथा १ नगरपालिका) र गोरखाका १३ गाविस (हाल ४ गाउँपालिका) प्रभावित हुनेछन् ।

बाँध बाँधेपछि पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटर फैलनेछ । बुढीगण्डकीमा बन्ने ६३ वर्ग किलोमिटरको कारण रोजगारी, व्यवसाय, पर्यटन हव, माछापालन, तल्लो तटीय लाभ लिन सकिने अवस्था छ ।

विद्युत् उत्पादन अनुमानअनुसार, हिउँदयाममा करिब १ अर्ब ४१ करोड युनिट, वर्षायाममा करिब १ अर्ब ९७ करोड युनिट उत्पादन हुनेछ, जुन कुल ३ अर्ब ३८ करोड युनिट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । बिक्री दर हिउँदयामका लागि प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायामका लागि ७ रुपैयाँ १० प्रस्ताव गरिएको छ ।

आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) अवधिको प्रस्ताव ५० वर्ष छ र यदि निर्माण ८ वर्षभित्र पूरा भयो भने बाँकी ४२ वर्षसम्म उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

अपर अरुण मोडालिटी
संखुवासभाको भोटखोला गाउँपालिकामा बन्न १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण (अपर अरुण) अर्धजलाशययुक्त आयोजनाका लागि पनि लगानी मोडालिटी तयार भएको छ ।

अनुमानित कुल लागत करिब १ अर्ब ७५ करोड अमेरिकी डलर अर्थात् लगभग २ खर्ब १४ अर्ब रुपैयाँ छ, जसमा ब्याज र मूल्यवृद्धि (इन्फ्लेसन) पनि समावेश गरिएको छ । फाइनान्सिङ संरचनामा ७० प्रतिशत ऋण, ३० प्रतिशत इक्विटीको अनुपात तय गरिएको छ । प्रस्तावित इक्विटीको ढाँचाअनुसार ५१ प्रतिशत संस्थापक सेयर र ४९ प्रतिशत साधारण सेयर रहनेछन् ।

५१ प्रतिशत संस्थापक सेयरधनीमा प्रदेश सरकार तथा स्थानीय तह, प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआईडीसीएल, बिमा कम्पनी र प्राधिकरणका सहायक कम्पनीहरू रहने प्रस्ताव गरिएको छ ।

४९ प्रतिशत साधारण सेयरधनीमा वैदेशिक रोजगारमा रहेका तथा गैरआवासीय नेपाली, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, आयोजना प्रभावित र आमसर्वसाधारण रहने व्यवस्था गरिएको छ । आयोजना निर्माणका लागि अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड संस्थापन भइसकेको छ ।

आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरण मार्फत १ खर्ब ६८ अर्ब रुपैयाँ लगानी हुनेछ । विश्व बैंकको लगानी अन्योलमा परेपछि सरकारले देशभित्रका बैंक तथा वित्तीय संस्थाहरू र स्वदेश तथा विदेशमा रहेका नेपालीको लगानीमा अपर अरुणलाई अगाडि बढाउन लागिएको हो । आयोजनामा सहवित्तीयकरण मार्फत करिब ५३ अर्ब लगानीका लागि प्राधिकरण, आयोजनाको प्रवर्धक कम्पनी र बैंक तथा वित्तीय संस्थाबीच समझदारी भइसकेको छ ।

आयोजनाबाट वार्षिक रूपमा ४ अर्ब ५३ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको हाल निर्माणपूर्वका काम भइरहेको छ । भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ ।

भोटखोला गाउँपालिका–४ गोलाबजारनजिक छोङराङमा प्रस्तावित विद्युत्गृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिकाको वडा नं २ चेपुवा गाउँनजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर आयोजनास्थलतर्फ जान आयोजनाले अरुण नदीमा ७० मिटर लम्बाइ भएको स्टील आर्क पुल निर्माण गरिरहेको छ ।

आयोजनाको पहुँच सुधारका लागि पूर्वाधार पनि निर्माणमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

भोजपुरमा उद्योग दर्ता वर्षेनी घट्दो, खारेजी बढ्दो