राजविराज । आफ्ना स्वाजातीयहरुबाट मात्र चन्दा सहयोग वापत १२ लाख भन्दा बढी रकम संकलन गरि यहाँ भब्य रुपमा प्रथम अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न भएको छ ।
देव जातिको उत्थान र पहिचानका लागि मुलुकमा क्रियाशिल पाँच वटा जातिय संस्थाले संयुक्त रुपमा यसरी देव समुदायका व्यक्तिहरुबाट मात्र सहयोग जुटाई सदरमुकाम राजविराजमा प्रथम अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न गरेको हो ।
स्थानिय वागेश्वरी मन्दिरमा अमेरिका, अष्ट्रेलिया, इङल्याण्ड र भारतमा बसोवास गर्दै आएका देव समुदायका अगुवाहरुको समेत सहभागितामा गत असोज १७ देखी २० असोजसम्म प्रथम अन्तराष्ट्रिय देव महासम्मेलनको आयोजना गरिएको थियो ।
शनिबार महासम्मेलन आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरि महासम्मेलन भब्य र शब्य रुपमा सम्पन्न गर्न सघाउने सबैमा धन्यवाद र आभार व्यक्त गर्दै महासम्मेलनको आयव्यय समेत सार्वजनिक गरेको छ ।
महासम्मेलन आयोजक समितिका संयोजक इन्जिनियर इन्द्र नारायण देवद्वारा सार्वजनिक आयव्यय विवरण अनुसार महासम्मेलन आयोजना गर्न एक सय पाँच जना स्वजातियहरुबाट १२ लाख ५७ हजार ४ सय ५ रुँपैया संकलन भएको थियो । त्यसमध्ये ११ लाख ५० हजार ४ सय ७६ रुँपैया खर्च घटाएर कुल १ लाख ६ हजार ९ सय २९ रुँपैया बचत भएको छ । उक्त रकम देव जातिको उत्थान, पहिचान र सामाजिक कार्यमा खर्चिने उनले बताए । उनी बागेश्वरी सेवा समिति सप्तरीका अध्यक्ष समेत हुन् ।
पत्रकार सम्मेलनमा सहसंयोजक इन्द्र कुमार देव, सदस्य मिरा देव, ध्रुब कुमार देव, योगेन्द्र प्रसाद देव, किर्तीनारायण देव, सल्लाहकार प्रतापनारायण चौधरी लगायतले पनि जानकारी दिँदै महासम्मेलनले विश्वभर छरिएर रहेका देव समुदायलाई संगठित गरि उनीहरुको आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतीक पक्ष सवल बनाउन र आपसी एकता अझ सुदृढ बनाउन ठूलो मद्दत पु¥याएको बताएका थिए ।
पछिल्लो जनगणना अनुसार नेपालमा देव जातिको कुल ७ हजार ४ सय ७८ जनसंख्या रहेको छ । हाल देव जाति अल्पसंख्यक जातिमा सुचिकृत छन् । उनीहरुले आफूहरुलाई अतिअल्पसंख्यक जातिमा राख्नु पर्ने माग गर्दै आएका छन् ।
देव समुदायको जातिय संगठन बागेश्वरी सेवा समिति राजविराज, भवानी सेवा समिति राजविराज, बिराट देव सेवा समिति बिराटनगर, देव समाज विर्तामोड तथा देव समाज काठमाडौंको संयुक्त आयोजनामा उक्त महासम्मेलनको आयोजना गरिएको थियो ।






