धनकुटा । गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार पाँचजना कैदी धनकुटाबाट पक्राउ परेका छन्। गत भदौ २४ गते फरार रहेका कैदीबन्दीमा धनकुटाबाट पक्राउ पर्नेमा अदातलबाट अढाइदेखि २५ वर्षसम्म कैद सजाय तोकिएका कर्तव्य ज्यान, अंगभंग र लागूऔषध मुद्दाका दोषी रहेका छन्। कर्तव्य ज्यान मुद्दामा २५ वर्ष सजाय तोकिएका सुनसरीको धरान उपमहानगरपालिका–२० बस्ने ३२ वर्षीय सागर राईलाई धनकुटाको छथर जोरपाटी गाउँपालिका २ आलेगाउँबाट पक्राउ गरिएको हो।
यस्तै, कर्तव्य ज्यान, जबरजस्ती करणी र चोरी मुद्दामा २० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका धनकुटाको चौबिसे गाउँपालिका–२ धारापानीका रमेश माङमी मगर छन्। उनलाई लुकेर बसेको अवस्थामा घरैबाट पक्राउ गरिएको धनकुटाका प्रहरी उपरीक्षक एसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिए। कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय तोकिएका संखुवासभाको खाँदबारी–९ का युवराज राई साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारबाट पक्राउ परेका छन्।
यस्तै, अंगभंग मुद्दामा २ वर्ष ६ महिना कैद र २५ जरिवाना तोकिएका चौबिसे गाउँपालिका–३ का सिजन तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै, लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका धनकुटा सहिदभूमि गाउँपालिका–२ का २१ वर्षीय गन्धरे भन्ने सुरेश शिवालाई घरबाटै पक्राउ परेका हुन्। पक्राउ परेका पाँचै जनालाई कारागारमा बुझाइएको धनकुटाका एसपी थापा क्षेत्रीको भनाइ छ ।






