काठमाडौं । घर परिवारको सपना साकार पार्न अवैधानिक बाटो हुँदै कुवेत पुगेकी सिन्धुपाल्चोककी दासाङ्मु तामाङमा कफिनमा फर्कीएकी छिन्। करिव दुई बर्ष अघि घरेलु कामदारको लागि अवैधानिक रुपमा कुवेतमा पुगेर आफ्नो ड्युटी गर्दैगर्दा पछिल्लो केहि समय आफ्नो भाग्य भनौं या विडम्बना स्वास्थ्या खरावीका कारण कुवेतकै फर्वानिया हस्पिटलमा ३ महिना आईसीयुमा उपचारको क्रममा तामाङको मृत्यु भयो।
उनको शव आइतबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण भएको भयो। उनको शव पठाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले समन्वयात्मक भुमिका निर्वाह गर्यो। त्यहाँस्थित नेपाली दूतावासले पनि चाँडो भन्दा चाँडो शव नेपाल पठाउन आवस्यक पहल गरेको र मृत्यु भएको ५ दिनमै नेपाल फर्काउन सफल भएको एनआरएनए कुवेतले जनाएको छ।
पछिल्लो समय कुवेतमा नेपाली श्रमिकहरुको मृत्युदर ह्वात्तै बढेको छ। एक महिनाको अवधिमा ४ जना नेपाली कामदारले ज्यान गुमाएको एनआरएनएले जनाएको छ। यस अघि मोरङकी गंगामाया राई र सिन्धुपाल्चोककै मिना नेपालीको शव नेपाल पठाईसकेको जनाएको छ ।
अझै गोरखाकी बुध माया परियारको शव नेपाल पठाउने प्रक्रियामा रहेको छ। कुवेतमा मृत्यु हुनेहरु मध्य ९० प्रतिशतको मृत्युको कारण आत्माहत्या रहेको बताईएको छ । देशमा चरम बेरोजगार तथा दलालको प्रलोभनमा परी गैरकानुनी रुपमा नेपाल सरकारले प्रतिवन्ध लगाएको खाडी मुलुक कुवेतमा ६० हजार भन्दा बढी नेपाली महिला घरेलु कामदार पुगेका छन्।
दलालले पछिल्लो समय भारतको बाटो हुदैँ कुवेत, इराक,जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत ओमान लगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू मालामाल बनिरहेका छन् ।
यसरी अवैधानिक बाटो हुदैँ खाडीका विभिन्न देशहरुमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन् र त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासहरुले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शवहरु अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुदा विदेशमै अन्तिम संस्कार समेत गर्ने गरेका छन् ।










