ड्युटीमै रहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाईलाई कारवाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारवाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

मन्त्रालयले कात्तिक १५ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार सोही दिन राति १२:०५ बजे पर्वत अस्पतालको अन्तरंग (इन्डोर) विभागमा कार्यरत नर्सिङ कर्मचारीमाथि बिरामीका आफन्तबाट हातपात, गम्भीर कुटपिट तथा गालीगलौज भएको थियो।

मन्त्रालयका अनुसार कुश्मा नगरपालिका-२, पर्वत ठेगाना भएका एक बिरामीका आफन्तले मादक पदार्थ सेवन गरी अस्पतालमा आएर ड्युटीमा रहेका नर्सिङ कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए।

घटनापछि अस्पतालको आन्तरिक सुरक्षा टोली र प्रहरी प्रशासनको सहयोगमा आरोपित व्यक्तिलाई नियन्त्रणमा लिइएको मन्त्रालयले जनाएको छ। घटनामा संलग्न व्यक्तिको नाम खुलाइएको छैन।

स्वास्थ्य मन्त्रालयले उपचारका क्रममा खटिने स्वास्थ्यकर्मीमाथि हुने हिंसा तथा दुर्व्यवहारले उनीहरूको मनोबलमा नकारात्मक असर पार्नुका साथै समग्र स्वास्थ्य सेवा प्रवाहसमेत प्रभावित हुने उल्लेख गरेको छ।

स्वास्थ्य संस्थामा सेवा लिन आउने व्यक्तिले संस्थाका नियम पालना गर्नुपर्ने तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको मर्यादा एवं सम्मान गर्नुपर्ने दायित्व रहेको मन्त्रालयले स्मरण गराएको छ।

मन्त्रालयले स्वास्थ्यकर्मीमाथि शारीरिक, मानसिक वा लैंगिक हिंसा गर्ने गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्दै यस्ता घटनामा संलग्न व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) को दफा ५ को खण्ड (घ) र (ङ) बमोजिम कारवाही गर्न आग्रह गरेको छ।

मन्त्रालयका निमित्त प्रदेश सचिव सुरज गुरौद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई अविलम्ब कानुनी कारवाहीको दायरामा ल्याउन अनुरोध गरिएको छ।

साथै, अस्पतालमा उपचाररत बिरामी, उनीहरूका आफन्त तथा सरोकारवालालाई संयमता अपनाउन र स्वास्थ्य संस्थालाई सुरक्षित कार्यस्थलका रूपमा कायम राख्न सहयोग गर्न मन्त्रालयले अपिल गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि