कीर्तिपुर । साविक उपविजेता सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनको भारी अन्तरले हराउँदै सुदूरपश्चिमले लगातार दुई सिजन एनपीएलको फाइनलमा स्थान बनाएको हो ।
पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँग ५ विकेटको हार बेहोरेको थियो । अब दोस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिमले आगामी शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
बुधबार (आज) काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच इलिमिनेटरको खेल हुनेछ । जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । इलिमिनेटरमा विजयी हुने काठमान्डु या लुम्बिनीले पहिलो क्वालिफायरमा पराजित भएको विराटनगरसँग बिहीबार दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
लिग चरणमा ४९ बल बाँकी छदै सजिलै ६ विकेटले जितेको विराटनगरलाई सुदूरपश्चिमले पहिलो क्वालिफायरमा सजिलै ७७ रनले हराउन सफल भयो ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसामु विराटनगरका ब्याटर निरीह देखिए । सुरुदेखि नै विराटनगरका ब्याटरविरुद्ध धारिलो बलिङ प्रहार गरेको सुदूरपश्चिमका बलरले ब्याटिङ लाइनअप कमजोर पारेका थिए । १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ दशमलव १ ओभरमा ७८ रनमा अलआउट भयो ।
विराटनगरको सुरुवात अन्त्यन्त खराब रह्यो । विराटनगरले पहिलो ७ बलको अन्तरमा लगातार ३ विकेट गुमायो । पहिलो ओभरमा साम हिजलेट र मार्टिन गप्टिल आउट भए भने दोस्रो ओभरको पहिलो बलमा नरेन भट्ट पेभिलियन फर्किए ।
इनिङको पहिलो बलमा सुदूरपश्चिमका स्कट कुगेइलिनले हिजलेटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए । अन्तिम बलमा गप्टिल रनआउट हुनुपुगे । क्रिजमा रहेका फाप डु प्लेसिसले कलबिनै रनका लागि कुदेका गप्टिललाई इशान पाण्डे र कुगेइलिन मिलेर रनआउट गर्दा विराटनरले पहिलो ओभरमा ३ रन जोड्दा २ विकेट गुमायो ।
दोस्रो ओभरको पहिलो बलमा नरेन भट्ट हर्मित सिंहको बलमा कुगेइलिनबाट क्याच आउट भए । लगातार विकेट जाँदा पहिलो ७ बलमै विराटनगरले ३ विकेट गुमाउँदा मात्रै ३ रन जोडेको थियो ।
त्यसपछि बसिर अहमद चौथो विकेटका रूपमा १२ रन जोडेर आउट भए । उनलाई दीपेन्द्रसिंह ऐरीले सातौं ओभरमा बोल्ड आउट गरे ।
त्यसपछि आएका लोकेश बम पनि ५ रनमा आउट भएका थिए । नारायण जोशी १ रनमा हर्मित सिंहको बलमा सिकार हुँदा प्रतिश जिशी र कप्तान सन्दीप लामिछाने ३–३ रनमा आउट भए । लामिछाने अविनाश बोहोराको बलमा सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । जिशी रनआउट भएका थिए । यसबाहेक मस्याङ डी लाङले १५ रनको योगदान दिएका थिए । उनी कुग्गलीजीनको बलमा हर्मित सिंहबाट क्याच आउट भए ।
बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा, कुगेइलिन र हर्मित सिंहले २–२ विकेट लिए । अर्को १ विकेट दीपेन्द्रले लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन बनायो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे । भण्डारीले ५२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए । उनी १९औं ओभरको अन्तिम बलमा विराटनगरका प्रतिश जिसीको बलमा साम हिजलेटबाट क्याच आउट भएका थिए ।
अर्का ओपनर मख्तर अहमदले १० रन बनाए । १० बलमा २ चौका प्रहार गरेका उनी विराटनगरका मस्याङ डी लाङको बलमा बोल्ड आउट भए ।
त्यसपछि विनोद भण्डारीसँग ४० रनको साझेदारी गरेका भारतीय ब्याटर शेल्डन ज्याकस २० रन बनाएर आउट भए । उनले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे । उनलाई आठौं ओभरमा सूर्य तामाङले लोकेश बमबाट स्टमपिन गराए ।
इशान पाण्डे १३ रन बनाएर आउट हुनपुगे । पाण्डे साम हिजलेटको बलमा नरेन भट्टबाट बाउन्ड्री लाइनमा क्याच आउट भए । भट्टले बाउन्ड्रीमा बल हावामा फ्याँकेर फेरि बाउन्ड्रीभित्र पसेर उत्कृष्ट क्याच लिएका थिए । कप्तान दीपेन्द्रसिंह ऐरी भने ३ रनमा रनआउट हुनपुगे । उनी १४औं ओभरमा २ रन लिने क्रममा रनआउट भएका थिए ।
हर्मित सिंहले १४ रन बनाउँदा प्रतिश जिसीको बलमा हिजलेटबाट क्याच आउट भए । सिंहले आउट हुनुपूर्व ११ बलमा २ चौकाको मद्दतमा १४ रन बनाएका थिए । आरिफ शेखले १३ बलमा २० रन बनाए । २ चौका र १ छक्का प्रहार गरेका आरिफ लाङको बलमा साम हिजलेटबाट क्याच आउट भए । यस्तै, सुदूरपश्चिमका लागि मिलन बोहोरा ५ रनमा तथा स्कट कुगेइलिन १ रनमा नटआउट रहे ।
बलिङमा विराटनगरका मस्याङ डी लाङ र प्रतिश जिसीले २–२ विकेट लिए । साम हिजलेट र सूर्य तामाङले भने १–१ विकेट लिए । डी लाङले ४ ओभरमा २३ रन खर्चिंदा ३ ओभर बलिङ गरेका प्रतिशले ३१ रन दिए ।






