भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। सम्भावित सुरक्षा जोखिम, भौगोलिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्यांकन गर्न जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन अघि बढाएको हो।
भोजपुरका ८७ वटा मतदान स्थल सिफारिस गरिएकोमा ती मतदान स्थलको क्रमिक रूपमा निरीक्षण भइरहेको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार हालसम्म एक दर्जनभन्दा बढी स्थानमा अनुगमन पूरा भएको छ।
निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष बनाउन जिल्ला सुरक्षा समितिले गतिविधि तीव्र पारेको जनाएको छ। जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा चारै सुरक्षा निकाय—नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान—बीच समन्वय गरेर मतदान स्थलमा निगरानी बढाइएको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले यहाँका ८७ मतदान स्थलमध्ये ३३ वटालाई अतिसंवेदनशील, २० वटालाई संवेदनशील र ३४ वटालाई सामान्य वर्गीकरण गरिएको जानकारी दिए । उनका अनुसार सोही वर्गीकरणका आधारमा विशेष सुरक्षा रणनीति तयार गरी तैनाथी, गस्ती र सूचना संकलन कार्य अघि बढाइने छ।
निर्वाचन अवधिभर कुनै अप्रत्याशित घटना नहोस् भन्ने उद्देश्यले राजनीतिक दल, नागरिक समाज, स्थानीय तह र सरोकारवालासँगसमेत निरन्तर छलफल–परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।‘आसन्न निर्वाचनलाई ध्यानमा राखेर आवश्यक गतिविधि अगाडि बढाएका छौँ,’प्रजिअ तिवारीले भने,‘सिफारिस भएका मतदान केन्द्रको स्थलगत अनुगमन गर्दै जोखिमका आधारमा थप आवश्यक सुरक्षा निर्णय पनि गरिरहेका छौँ।’
सुरक्षासँगै जिल्लाभरका मतदान केन्द्रमा भौतिक पहुँच, संचार सुविधा, सुरक्षित सामग्री भण्डारण, मतदान अधिकृतको बसोबास व्यवस्था र सम्भावित प्राकृतिक जोखिम सम्बन्धी अध्ययन–अनुगमनसमेत भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।






