रोहितले जिते कार, सन्दीप , रोहित र शेरले पाए मोटरसाइकल
काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा साविक उपविजेता रहेको सुदुरपश्चिम रोयल्र्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलोपल्ट उपाधी जितेको हो ।
कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि र ब्याटिङतर्फ ओपनर दिनेश अधिकारीले १३ बलमै ४२ रन बनाएपछि लुम्बिनीले सुदूरपश्चिमलाई सजिलै हरायो ।
हारसँगै सुदूरपश्चिमको उपाधी जित्ने सपना लगातार २ पल्ट फाइनलमा पुगेरपनि पूरा हुन सकेन । गत सिजन पनि लिग चरणमा उत्कृष्ट खेलेको सुदूरपश्चिम फाइनलमा भने जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधि जित्ने क्रममा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ४ विकेटको क्षतिमा ९ ओभरमै भेट्टायो ।
लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे । उनले १३ बलमै ४२ रन जोडे। पहिलो ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ वटा छक्का प्रहार गरेका अधिकारीले कूल १ चौका र ५ छक्का प्रहार गरे । आक्रामक सुरुवात गरेको लुम्बिनीले अधिकारीको ब्याटिङमा पहिलो ओभरमै ऐरीविरूद्ध २७ रन बनाएको थियो। उनी पाँचौ ओभरमा हेमन्त धामीको बलमा स्कट कुगेइलिनबाट क्याच भए।
लुम्बिनीका अर्का ओपरन डार्शी शर्ट १४ रन बनाउँदै आउट भए । उनी धामीबाट बोल्ड भए । उनले १३ बलमा ३ चौका प्रहार गरेका थिए ।
दीपेन्द्रसिंह ऐरीले नवौं ओभरमा दुई विकेट लिएका थिए। उनले लुम्बिनीका कप्तान रोहितकुमार पौडेललाई १६ रन र सन्दीप जोरालाई शून्यमा आउट गरेका थिए। बलिङतर्फ हेमन्त र ऐरीले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ गर्दै १९ दशमलब १ ओभरमा ८५ रनमै अलआउट हुन बाध्य भयो।
लगातार विकेट गुमाएको सुदूरपश्चिमविरूद्ध लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गरे। रोहितले ११औं ओभरको अन्तिम तीन बलमा ह्याट्रिक गरे । रोहितको ह्याट्रिक यो सिजनको दोस्रो ह्याट्रिक हो। यसअघि काठमान्डु गोर्खाजका शाहब आलमले पनि ह्याट्रिक गरेका थिए।
रोहितले ११औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाइ, पाँचौ बलमा दीपक बोहरालाई र छैटौं बलमा पुनित मेहरालाई आउट गरे । २० बलमा मात्र १३ रन बनाउँदा ऐरी रुबेन ट्रम्पलम्यानबाट क्याच भए । डकआउट भएका दीपक बोहरा सन्दीप जोराबाट क्याच भए । छैटौं बलमा पुनित मेहरा रोहितको एलबिडब्लूको धरापमा परे।
रोहितले ह्याट्रिक गरेसँगै सुदूरपश्चिमले ११ ओभरमा ४४ रन जोड्दा ६ विकेट गुमाएको थियो। उसका लागि ५० रन पूरा गर्न १४ ओभर नै कुर्नुप¥यो ।
लगातार विकेट गुमाएको सुदूरपश्चिमले सातौं विकेट १५औं ओभरमा गुमायो। उसका हर्मित सिंह १० रन बनाएर आउट भए। १५औं ओभरको तेस्रो बलमा शेर मल्ललाई छक्का प्रहार गरेका उनी लगत्तै अर्को बलमा डार्शी शर्टबाट क्याच भए।
सुदूरपश्चिमका लागि सर्वाधिक रन इशान पाण्डेले हाने । ओपनिङ ब्याटर पाण्डेले ३३ रन बनाए । ५१ बल खेल्दा एउटा मात्रै चौका हानेका थिए । पाण्डे १६ दशमलब ३ ओभरमा आउट भएका थिए। उनी लुम्बिनीका शेर मल्लको बलमा मोबिन सुभसिंहबाट क्याच भए।
त्यसअघि सुदूरपश्चिमका लागि पहिलो ओभरमै झट्का लागेको थियो । ओपनर विनोद भण्डारी शून्य रनमा ट्रम्पलम्यानको बलमा दिनेश अधिकारीबाट क्याच भए तेस्रो ओभरमा ट्रम्पलम्यानले अर्को विकेट लिन सफल भए । उनले भारतीय ब्याटर सेल्डन ज्याकसनलाई १ रनमै एलबिडब्लूको धरापमा पार्दै सुदुरपश्चिमका लागि सुरुवातमै दबाब सिर्जना गरिदिए ।
पावपरप्लेमा तेस्रो विकेट लिने क्रममा लुम्बिनीले आरिफ शेखलाई पनि सस्तैमा गुमायो । आरिफलाई पाँचौ ओभरमा शेर मल्लले ६ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारेका थिए। स्कट कुगेइलिन पनि १० रनमै आउट भए। उनी १९औं ओभरमा तिलकाराज भण्डारीको बलमा सन्दीप जोराबाट क्याच भए । आउट हुनुअघि उनले १ छक्का प्रहार गरे। हेमन्त धामी ७ रनमा नटआउट रहे। अन्तिम विकेटको रूपममा अभिनास बोहरा १ रनमा आउट भए । उनलाई ट्रम्पलम्यानले अन्तिम ओभरको पहिलो बलमा डार्शी शर्टबाट क्याच गराए । योसँगै सुदूरपश्चिम ८५ रनमै अलआउट हुनु पुग्यो।
बलिङतर्फ लुम्बिनीका तीन बलरले ३–३ विकेट लिए। ट्रम्पलम्यान, रोहित र शेर मल्लको नाममा ३–३ विकेट रह्यो। ४–४ ओभरमा बलिङ गर्दा रोहितले १२ रन र शेरले १८ रन खर्चिए। ट्रम्पलम्यानले २ दशमलब १ ओभरमा ३ रन मात्र दिए। तिलकराज भण्डारीले थप १ विकेट लिए । ४ ओभर बल फँयाकेका उनले यसक्रममा २६ रन खर्चिए ।
लुम्बिनीको समूहचरणदेखि उपाधि यात्रासम्म
लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेपछि लगातार तीन खेलमा हारेको थियो। लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेट, तेस्रो खेलमा काठमान्डुसँग २२ रन र चौथो खेलमा सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको थियो।
त्यसपछि भएको पोखरासँगको खेलमा एक हारले उसको यात्रा सकिने अवस्था थियो। तर उसले पोखरालाई ३ विकेटले हराउँदै आशा जगायो । त्यसपछि छैटौं खेलमा विराटनगरलाई ५ विकेट र सातौँ खेलमा जनकपुरलाई ४ विकेटले पराजित ग¥यो । ६ अंक बटुल्दै तालिकामा चौथो बनेर लुम्बिनीले प्लेअफमा स्थान बनायो। तलिकामा तेस्रो स्थानमा आएको काठमान्डुले एलिमिनेटमा लुम्बिनीसँग खेल्यो ।
सो खेलमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा स्थान बनायो। पहिलो क्वालीफायरमा सुदुरपश्चिमसँग हारेर आएको विराटनगरसँग लुम्बिनीले दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा ग¥यो । सो खेलमा विराटनगरलाई ४० रनले हराएर लुम्बिनीले फाइनलमा स्थान बनाएको थियो। फाइनलमा पनि सुदूरपश्चिममाथि ६ विकेटको जित दर्ता गर्दै उपाधी जित्न सक्यो ।
लुम्बिनीको एलिमिनेटरमा काठमान्डु विरुद्ध , दोस्रो क्वालिफायरमा विराटनगर र फाइनलमा सुदुरपश्चिमविरुद्ध उत्कृष्ट बलिङ गर्दै ३ वटै टोलीललाई १ सय भन्दा कम रन स्कोरमा रोक्दै उत्कृष्ट खेल पस्कियो । सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो।
रोहितले जिते कार
दोस्रो संस्करणको एनपीएलमा प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी विजेता लुम्बिनी लायन्सकै कप्तान रोहित पौडेल घोषित भएका छन् । पुरस्कार स्वरुप रोहितले ओमोडा कार प्राप्त गरेका छन् । शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई सजिलै पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बन्ने क्रममा कप्तान पौडेलको भूमिका अत्यन्त महत्वपूर्ण रह्यो । यो सिजन रोहितले २ सय ७६ रन बनाएका छन् भने १० विकेट लिएका छन् । फाइन खेलमा उनले ह्याट्रिक विकेट लिएपछि सुदुरपश्चिम खेलमा हच्कीएको थियो । अघिल्लो वर्ष उपविजेता रहेको टोली सुदुपश्चिमका दीपेन्द्र सिंह ऐरीले कार जितेका थिए । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।
शेर मल्ल लगातार एनपिएलको उपाधि विजेता खेलाडी
लुम्बिनी लायन्सका स्पिनर शेर मल्ल लगातार एनपिएलको उपाधी जित्ने खेलाडी भएका छन् । यसअघि उनले अघिल्लो सिजनमा जनकपुर बोल्ट्समा रहेर उपाधी जितेका थिए । मल्लसँगै अघिल्लो सिजनमा जनकपुरमा रहेका तीव्र गतिका बलर हेमन्त धामी यो सिजन सुदूरपश्चिममा छन् । फाइनलमा जसले जितेपनि एउटै खेलाडीले लगातार २ सिजनमा उपाधी जित्ने पक्का थियो । दोस्रो संस्करणको एनपिएलमा जनकपुरले रिलज गरेसँगै मिनिअक्सनबाट हेमन्तलाई सुदूरपश्चिम र मल्ललाई लुम्बिनीले भित्र्याएका थिए।
लुम्बिनीलाई यो सिजनमा च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका मल्लले १० खेलमा १७ विकेट लिए। उनले फाइनल खेलमा सुदुरपश्चिमविरुद्ध मात्रै ३ विकेट लिन सफल भए । फाइनलमा लिएको ३ विकेटसँगै मल्ल पनि दोस्रो एनपिएलमा सर्बाधिक विकेट लिने खेलाडीको रुपमा चित्रित भए । उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप लामिछानेसँगै शीर्ष स्थानमा रहन सफल भएका हुन् । लामीछानेको नाममा पनि १७ विकेट रहेको छ ।
कसले के अरु पुरस्कार पाए
दोस्रो संस्करणको एनपीएलमा रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन् । उनले १७ विकेट लिएका थिए । उनी संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । विराटनगरका सन्दीप लामीछाने र लुम्बिनीका शेर मल्लले पनि समान १७–१७ विकेट लिएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन् । १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे । उनी फाइनल खेलको पनि उत्कृष्ट खेलाडी भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने बने । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् । उनले खेलमा १७ विकेट लिए । समान १७ विकेट लिएका अविनाश र शेर मल्लको भन्दा लामिछानको बल इकोनोमी कम थियो ।
प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् । लुम्बिनीका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनी लायन्सका शेर मल्ल घोषित भएका छन् । उनले पल्सर बाइक प्राप्त गरे । फाइनलको प्लेयर अफ द म्याच रुबेन ट्रम्पलमन घोषित भएका छन् ।






