विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको फाइनल खेल यसपटक फुटबलका कारणमात्र होइन, ऐतिहासिक सांगीतिक कार्यक्रमबाट विशेष बनाइँदै छ । फिफाले पहिलोपटक विश्वकप फाइनलमा आधिकारिक ‘हाफटाइम शो’ आयोजना गर्ने घोषणा गरेको हो ।
जस्टिन बिबरदेखि म्याडोना, शकिरा, बीटीएससम्मका प्रस्तुति तयारी
जसमा विश्वप्रसिद्ध क्यानडेली पपगायक जस्टिन बिबरसहित ‘अमेरिकी पप आइकन’ म्याडोना, कोलम्बियाली सुपरस्टार शकिरा तथा दक्षिण कोरियाली के–पप समूह बीटीएसले संयुक्तरूपमा प्रस्तुति दिने भएका छन् । फुटबल–संगीत एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको यो कार्यक्रम विश्वकप इतिहासकै पहिलो औपचारिक ‘हाफटाइम शो’ हुनेछ । यसअघि, विश्वकप फाइनलमा मध्यविश्रामक्रममा खेलाडी विश्राम गर्ने र टोलीले रणनीति बनाउने समयमात्र हुने गर्थे । २०२६ को संस्करणमा भने पहिलोपटक विश्वभरका दर्शकलक्षित भव्य सांगीतिक प्रस्तुति समावेश गरिने भएको हो ।
विश्वकप फाइनल विश्वकै सबैभन्दा धेरै हेरिने खेलकुद कार्यक्रममध्ये एक हो । प्रत्येक संस्करणमा अर्बौं दर्शकले टेलिभिजन, डिजिटल प्लेटफर्म तथा विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण हेर्ने गरेका छन् । त्यसैले यसपटकको ‘हाफटाइम शो’ले पनि अभूतपूर्व दर्शक संख्या प्राप्त गर्ने अनुमान गरिएको छ । खेलकुद र मनोरञ्जन संयोजनले विश्वभरका फुटबल समर्थकसँगै संगीतप्र ेमीलाई समेत एकैस्थान जोड्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुने कलाकार विश्व संगीत उद्योगका सबैभन्दा प्रभावशाली नाममध्ये पर्छन् ।
जस्टिन बिबरले किशोर उमेरदेखि नै अन्तर्राष्ट्रिय संगीत बजारमा छुट्टै पहिचान बनाएका छन् । उनका दर्जनौं गीत विश्वका विभिन्न मुलुकका संगीत चार्टमा शीर्षस्थानमा रहँदै आएका छन् । म्याडोना चार दशकभन्दा लामो सांगीतिक यात्राकी सफल कलाकार हुन् भने शकिराले आफ्नो विशिष्ट शैली र ऊर्जावान प्रस्तुतिमार्फत विश्वव्यापी लोकप्रियता हासिल गरेकी छन् । शकिरा र विश्वकपबीचको सम्बन्ध निकै पुरानो छ । उनले अघिल्ला विश्वकपका लागि प्रस्तुत गरेका गीत विश्वभर अत्यन्त लोकप्रिय भएका थिए र आज पनि ती गीत फुटबलसँग जोडेर सम्झिने गरिन्छन् ।
त्यस्तै, बीटीएसले विश्वभर ‘के–पप’ संगीतलाई नयाँ उचाइमा पु¥याएको समूहका रूपमा परिचय बनाएको छ । उनीहरूको सहभागिताले युवापुस्तामा यस कार्यक्रमप्रति थप आकर्षण बढाउने विश्वास गरिएको छ । आयोजकका अनुसार ‘हाफटाइम शो’ मनोरञ्जनमै सीमित रहने छैन । कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै ‘ग्लोबल सिटीजन’सँगको सहकार्यमा सञ्चालित ‘फिफा ग्लोबल सिटिजन एजुकेसन फन्ड’लाई सहयोग गरिनेछ । यो कोष विश्वभरका बालबालिका तथा युवालाई गुणस्तरीय शिक्षामा पहु ँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
कोषमार्फत आर्थिकरूपमा विपन्न समुदायका बालबालिकालाई विद्यालय शिक्षामा पहुँच बढाउने, सिकाइका लागि आवश्यक सामग्री उपलब्ध गराउने, शिक्षकको क्षमता अभिवृद्धि गर्ने तथा शिक्षा क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । आयोजकका अनुसार यस अभियानले हालसम्म ५ करोड अमेरिकी डलरभन्दा बढी रकम संकलन गरिसकेको छ । फिफाले विश्व फुटबललाई सामाजिक परिवर्तनसँग जोड्ने आफ्नो दीर्घकालीन योजनाअन्तर्गत यस्तो कार्यक्रमलाई अघि बढाएको जनाएको छ ।
विश्वकप फाइनलमा ‘हाफटाइम शो’ समावेश गर्ने निर्णय अमेरिकी फुटबलको ‘सुपर बाउल’बाट प्रेरित देखिन्छ । ‘सुपर बाउल हाफटाइम शो’ विश्वकै सबैभन्दा चर्चित सांगीतिक कार्यक्रममध्ये मानिन्छ, जहाँ प्रत्येक वर्ष विश्वप्रसिद्ध कलाकारले प्रस्तुति दिँदै आएका छन् । अब फिफाले पनि विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा त्यहीस्तरको मनोरञ्जन प्रस्तुत गर्न खोजेका रूपमा यसलाई हेरिएको छ ।
यद्यपि, विश्वकपको हाफटाइम समय सीमित हुने भएकाले ‘प्रस्तुति कसरी व्यवस्थापन गरिने, कार्यक्रम अवधि कति हुने तथा कुन–कुन गीत समावेश हुने ?’ भन्ने’bout विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन । आयोजकले आगामी दिन कार्यक्रमसम्बन्धी थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ‘हाफटाइम शो’ले खेलकुद, संगीत र सामाजिक अभियान एउटै मञ्चमा ल्याउने नयाँ अभ्यास सुरुवात गर्ने विश्वास गरिएको छ । विश्वप्रसिद्ध कलाकारको संयुक्त प्रस्तुति, शिक्षाका लागि कोष संकलन गर्ने उद्देश्य र विश्वव्यापी दर्शकको उपस्थितिले सन् २०२६ को विश्वकप फाइनललाई फुटबल इतिहासकै स्मरणीय संस्करणमध्ये बनाउने योजना छ ।
सम्बन्धित समाचार
ललितपुरविरुद्ध पोखरा महानगरपालिका ७ विकेटले विजयी
विश्वकप फुटबल मैदानमा देखिएका फरक दृश्य
गोलविहीन कोलम्बिया-पोर्चुगलको खेल
कुन विश्वकपमा मेस्सीकाे कति गोल ?
बागलुङमा कुकुरलाई ‘होस्टेल’
मानवअधिकार सुधार गर्न नेपालको नयाँ प्रतिबद्धता
क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल अन्तिम १६ मा
देशभर भारी वर्षाको चेतावनीः धानदेखि तरकारीसम्म जोखिममा






