डोकेनीको तालमा याक्खा संस्कृतिः चासुवा तङ्नाम पर्व

धनकुटा । मंसिरको मधुरो घाम, खेतबारीबाट भित्र्याइएका सुनौलो धानका थुप्रा र च्याब्रुङको गहिरो तालसँगै साफु गाउँ एकाएक सांस्कृतिक रंगमा डुबेको देखिन्थ्यो। धनकुटाको महालक्ष्मी नगरपालिका–७, साफुमा याक्खा समुदायले मनाएको चासुवा तङ्नामले केवल पर्वको उत्सव मात्र होइन, पुस्तौँदेखिको जीवनदर्शन र सांस्कृतिक पहिचानलाई पुनः जीवन्त बनाएको छ।

चासुवा तङ्नाम याक्खा समुदायको मौलिक न्वागी पर्व हो। गाउँघरमा यसलाई ‘न्वागी पूजा’ भनेर चिनिन्छ। अन्न पाकेपछि पहिलोपटक इष्टदेव र प्रकृतिलाई अर्पण नगरी अन्न ग्रहण नगर्ने याक्खा संस्कार यही पर्वमार्फत् सार्वजनिक रूपमा प्रकट हुन्छ। “आफ्नै पसिनाले फलाएको अन्न प्रकृतिलाई चढाएर मात्र खानु नै हाम्रो संस्कार हो।,” किरात याक्खा छुम्मा जिल्ला कार्यसमिति, धनकुटाका सल्लाहकार रुद्रबहादुर तुम्बा भन्छन्।

याक्खा भाषामा ‘चो’ अर्थात् ‘खा’ र ‘ऊवा’ अर्थात् ‘झोल’ बाट बनेको ‘चासुवा’ शब्द कालान्तरमा पर्वको नाम बनेको मानिन्छ। नाम जस्तै सरल तर अर्थमा गहिरो यो पर्वले कृषि, धर्म र सामाजिक सम्बन्धलाई एउटै सूत्रमा बाँध्छ। यस वर्षको चासुवा पर्व अझ विशेष बनेको छ। महालक्ष्मी नगरपालिका र वडा नं. ७ को सहयोगमा आयोजना गरिएको कार्यक्रममा च्याब्रुङ नाच, धान नाच, डोकेनी नाचलगायत परम्परागत प्रस्तुतिहरूले गाउँको आँगनलाई रंगमञ्चमा रूपान्तरण गरिदिएको थियो। युवादेखि वृद्धसम्मको सहभागिताले कार्यक्रमलाई जीवन्त बनाएको थियो। “यी नाच–गीत केवल मनोरञ्जन होइनन्, हाम्रो इतिहास र पहिचान हुन्,” किरात याक्खा छुम्मा जिल्ला कार्यसमिति, धनकुटाका अध्यक्ष नरेन तुम्बा बताउँछन्।

याख्खा समुदायको मौलिक डोकेनी नाचको तालमा महिलाहरूको समन्वित चाल, च्याब्रुङको धुनमा युवाहरूको जोशिलो प्रस्तुति र धान नाचमा झल्किएको कृषिप्रतिको सम्मान लगायतले याक्खा संस्कृतिको समृद्ध कथा प्रस्तुत गरेका थिए। पछिल्लो समय यस्ता प्रस्तुतीहरूले हराउँदै जान थालेका सांस्कृतिक अभ्यासलाई नयाँ पुस्तासम्म पु¥याउने पुलको काम गरेको छ।

लोपोन्मुख संस्कृतिको संरक्षणमा युवाको भूमिका निर्णायक रहेको बताउँदै किरात याक्खा छुम्मा वडा नं. ७ कार्यसमितिका अध्यक्ष दनिराज लुम्बाले संस्कृतिप्रतिको प्रतिबद्धता निरन्तर हुनुपर्नेमा जोड दिए। “संस्कार संस्कृति बाँचेन भने पहिचान बाँच्दैन।,” उनको भनाइ छ।

चासुवा पर्वको धार्मिक विधि माङबा–छाम्बाको अगुवाइमा सम्पन्न हुन्छ। माङबा–छाम्बा भनेको पुजारी जस्तै हुन भन्दा फरक नपर्ला। परम्परागत विधिअनुसार पूजा सम्पन्न भएपछि मात्र समुदायका सदस्यहरूले नयाँ अन्न ग्रहण गनृ्पर्ने म्ँनइत्ँ छ। त्यस अवसरमा शुभकामना आदानप्रदान, आपसी भेटघाट र सामूहिक भोजले सामाजिक एकतालाई अझ मजबुत बनाएको देखिन्थ्यो। यता स्थानीय सरकारले पनि यस्ता पर्वहरूको संरक्षण र प्रवद्र्धनमा सहकार्य गरिरहेको जनाएको छ। विभिन्न समुदायका भाषा, लिपि, कला र संस्कृतिको जगेर्ना स्थानीय तहको दायित्व भएको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जुमाया कार्की अधिकारी बताउँछिन्। संस्कृति जोगिए मात्रै समाजको पहिचान सुरक्षित हुने उनको दाबी छ।

याक्खा समुदायको पूर्वी नेपालका धनकुटा सहित तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलामदेखि झापा, मोरङ र सुनसरीसम्म बसोबास रहेको छ। नेपाल बाहिर भारतको सिक्किम र दार्जिलिङमा पनि यो समुदायको बसोबास रहेको हुँदा सांस्कृतिक फैलावट रहेको जानकारहरु बताउँछन्। भौगोलिक फैलावट जति फराकिलो भए पनि, चासुवा जस्ता पर्वहरूले याक्खा समुदायलाई एउटै सांस्कृतिक डोरीले बाँधेर राखेको अनुभूति हुने गरेको यो समुदायको अनुभव छ। डोकेनीदेखि च्याब्रुङको तालसम्म हुने चासुवा तङ्नाम केवल पर्व मात्रै नभएर याक्खा समुदायको पहिचान, स्मृति, सम्मान र भविष्य सहितको संस्कृति पनि हो।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन