‘धुरन्धर’ले खायो पछिल्ला नेपाली चलचित्रको व्यापार

काठमाडौं । नेपालमा बढ्दो चिसोसँगै नेपाली चलचित्रको व्यापार पनि त्यत्तिकै चिसिएको छ । तर यसै साता रिलिज भएको भारतीय चलचित्र ‘धुरन्धर’ले भने नेपालमा पनि त्यत्तिकै राम्रो व्यापार गरेको छ । नेपालमा यो चलचित्र रिलिज भएको १० दिन भयो । चलचित्रले शनिवारसम्म प्रदर्शनको आठौँ दिनमा पाँच करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।

चलचित्र ‘धुरन्धर’कै कारण अर्को चलचित्र ‘परान’को व्यापारमा ह्रास आएको छ । तर ‘परान’ अहिले पनि गत साता र यो साता रिलिज भएका नेपाली चलचित्रको तुलनामा व्यावसायिक रूपमा राम्रै छ । चलचित्र विकास बोर्डको सिनेपा बक्स अफिस प्रणालीले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार नेपालमा यो वर्षको व्यापारमा अझै पनि चलचित्र ‘परान’ नै अग्र पंक्तिमा रहेको छ ।

गएको शुक्रवारबाट सातौँ हप्तामा प्रदर्शन भई रहेका ‘परान’ ले आगामी शनिवार मुलुकका दुई दर्जन चलचित्र घरमा सफल प्रदर्शनीको ५१ दिन मनाउने तयारी गर्दै छ । यो चलचित्रले २७ मंसिर राति ११ः५९ बजेसम्मको नेपालमा १७ करोड ३९ लाख ४९ हजार ५०१ रुपैयाँको व्यापार गरिसकेको छ । यो चलचित्रको व्यापार ५१ दिन पुग्दासम्म १८ करोडको हाराहारीमा पुग्ने विश्वास यसका निर्देशक दीपक प्रसाद आचार्यले राजधानीलाई बताएका छन् ।

गएको शुक्रवार तीन वटा नेपाली चलचित्र ‘पीआर’, ‘चिराग’ र ‘लोकन्ती’ रिलिज भए । शोभित बस्नेतको चलचित्र ‘पीआर’ बाहेक बाँकी दुई नेपाली चलचित्र ‘चिराग’ र ‘लोकन्ती’ले त क्युएफएक्स चेनको मल्टिप्लेक्स चलचित्र घर नै पाएनन् । पिआरको व्यापार शनिवार राम्रो भए पनि आइतबारबाट केही तल झरेको चलचित्र घर सञ्चालकहरूको कथन छ ।

गत साता रिलिज भएको नेपाली चलचित्र ‘अभिमन्यु–च्याप्टर १’ले चलचित्र घरमा कुनै जादु देखाउन सकेन । यस अघि सर्वाधिक सफल चलचित्र ‘पूर्णबहादुरको सारंगी’ निर्माण गरिसकेको ब्यानर सेभेनसिज सिनेमाले चलचित्र ‘अभिमन्यु–च्याप्टर १’ निर्माण गरेको हो । यो चलचित्रले प्रिमियरमा राम्रै प्रतिक्रिया पाएको थियो । तर चलचित्र रिलिज भएपछि सँगै आएको रणवीर सिंहको भारतीय चलचित्र ‘धुरन्धर’ले ‘अभिमन्यु–च्याप्टर १’को व्यापारलाई पूर्ण प्रभाव पा-यो । ८ दिनमा चलचित्र ‘धुरन्धर’ले नेपालबाट मात्रै पाँच करोड माथिको व्यापार गर्दा चलचित्र ‘अभिमन्यु–च्याप्टर १’ले जम्मा २१ लाख १० हजार रुपैयाँको मात्र व्यापार गरेको छ । यो चलचित्र दोस्रो हप्तामा धेरै वटा चलचित्र घरबाट उत्रिसकेको छ । सामाजिक एवम् पारिवारिक चलचित्र ‘पूर्णबहादुरको सारंगी’ निर्माण गरेर नेपालबाटै करिब ४८ करोडको व्यापार गर्न सफल निर्माता विनोदले त्यसपछिको चलचित्र ‘अभिमन्यु–च्याप्टर १’बाट लगानीको एक तिहाई रकम समेत नेपालबाट उठाउन नसक्ने अवस्था आएको छ ।

यस्तै दुई साता अघि रिलिज भएको नेपाली चलचित्र ‘हर्ष’को व्यापार पनि अहिलेको मौसम जस्तै चिसो देखिएको छ । यो चलचित्रले रिलिज भएको १५ दिन शनिवार रातीसम्म नेपालबाट जम्मा २८ लाख ७६ हजार २८६ रुपैयाँको मात्र व्यापार गरेको छ । दोस्रो हप्ता सकिएसँगै धेरै वटा चलचित्र घरबाट उत्रिएको चलचित्र ‘हर्ष’ले दर्शकको मनलाई भने हर्षित बनाउन नसकिएको देखियो ।

यसरी विगत दुई साता यताबाट शनिवार रातीसम्मको नेपाली चलचित्रको व्यापार त्यति उत्साहजनक छैन । नेपालमा चिसो बढ्दै गए पनि भारतीय चलचित्र ‘धुरन्धर’को व्यापार १० औँ नाघ्दा पनि राम्रो गर्नुले सो चलचित्र नै राम्रो भएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२